कस्ता महिलाले ब्रत बस्न हुँदैन? यस्ता छन् डा. उमा कोइरालाको सुझाव
तीज कसरी मनाउने?
तीज मनाउने शैली पहिले र अहिले निकै फरक भइसकेको छ। महिलाहरू एकआपसमा भेटघाट, रमाइलो गर्ने चलन बढेसँगै दरको परिकारमा पनि परिवर्तन आएको छ।
पहिले हाम्रा आमाहरुले तीजको अघिल्लो दिन दर खाने भनेर काडा खाने गरिन्थ्यो। अहिलेको जस्तो धेरै किसिमका परिकार बनाउने चलन थिएन।
घरघरमा छोरीबेटीहरु जम्मा भएर खाने गरिन्थ्यो। राती ९ देखि १० बजेतिर मिसिरी पानीमा हालेर पकाएर काढा खाने गरिन्थ्यो। त्यो खाएपछि भोलीपल्ट भोक लाग्दैनथ्यो।
अहिले यसो विचार गर्दा काडा भनेको ग्लुकोज हो। त्योे ग्लुकोज हाम्रो शरीरमा जम्मा भएर बसिरहन्छ। जसले धेरै समयसम्म तागत दिइरहन्छ।
काडा बनाउँदा ल्वाङ, सुकुमेल, र मिसिरी पानीमा हालिन्थ्यो। र त्यही दर खाएर सुथ्यौं। भोलीपल्ट तीजमा निराहार भएर बसिन्थ्यो भने पुजा सकेर मात्र खाने गरिन्थ्यो। खानामा पनि कर्कलो र खाना मात्र खाने गरिन्थो।
अहिले खानेकुराको परिकार धेरै भएको छ। पहिला सिमित थियोे भने हाल बजारिकरण तथा पकाउन जान्ने भएका कारण पनि धेरै परिकार हुन थालेको छ।
त्यस्तै, पहिले आफ्नो घरपरिवार तथा सिमित छोरीबेटी भन्दा बाहेकलाई दर खान बोलाउने तथा अन्त गएर खाने चलन थिएन। तर अहिले व्यापक भएको छ भने समाजमा विस्तारित हुँदै गएको छ। त्यस्तै सामाजिकिकरण पनि हुँदै गएको छ।
एकदिन फुर्सद भएको बेलामा रमाइलो गरौं, सबै चेलीबेटी भेट हुन्छ र वर्षभरिको कुरा अभिव्यक्त गर्ने गरेका छन्। अन्य ठाउँ र समयमा अभिव्यक्ति दिन नसकेकाहरुका लागि पनि तीज चाड भएको छ।
यसले व्यापारीकरण पनि बढेको छ भने नारीहरुमा वर्त बस्ने चलन पनि बढेको छ।
पहिलेको तुलनामा आमा भाउजुहरुले जस्तै अहिले निराहार भएर वर्त बस्ने चलन कम भएको छ। यो स्वास्थ्यको दृष्टिकोणले राम्रो हो। दिनभर भोकै भएर ब्रत बस्नुु स्वास्थ्यमा पनि असर गर्न सक्छ। शरीरको आवश्यकतालाई अप्ठ्यारो हुन सक्छ।
निराहार भन्दा पनि झोल, फलफुलका रस, काढा खाँदा हुन्छ। कतिपय महिलाहरु पानी पनि नखाई वर्त बस्ने गरेका छन्।
ब्रत बस्नु स्वास्थ्यको दृष्टिकोणमा कतिको राम्रो हो?
अहिले विभिन्न खालका सिद्धान्तहरु आएको छ। यी कुराहरुलाई पनि नकार्न सकिदैँन। अहिले इन्टरमिडेट फास्टिङ– जसले लामो समयसम्म नखाएपनि ठिक हुन्छ। शरीरमा भएको बोसोले काम गर्छ भन्ने कुरा आएको छ।
त्यस्तै, इन्टरमिडेट फास्टिङको सिद्धान्तले दुई दिन ब्रत बस्ने र पाँच दिन खाने पनि भन्छ। ब्रत भन्ने वित्तिकै पानी पनि नखाई बस्नुपर्छ।
अहिले हाम्रो समाजमा रहेका मानिसहरुको स्वास्थ्य र शरीरको प्रकृति अनुसार खाने बानी गर्नुपर्छ। ब्रत बस्दा शरीरको अवस्था हरेर केही नखाई बस्ने की, खाएर बस्ने निधारण गर्नुपर्छ।
स्वास्थ्य व्यक्ति एकदिन भोकै बस्न सक्छ भने नखादा पनि हुन्छ। एकदिन भोकै बस्दा शरीरलाई पनि फाइदा नै हुन्छ। तर जसलाई ग्यास्ट्रिक छ, उनीहरुलाई एकदम गाहे हुन्छ भने वा नखाँदा मुटु दुख्छ र अस्पतालमा जानुपर्ने वाध्यता भए नखाई बस्नु हुँदैन। चलन मनमा राखेर खानुपर्छ।
कतिलाई सुगर, प्रेसरको समस्या हुन सक्छ। उनीहरुले खाएनन् भने सुगर लेवल कम हुने र तुरुन्त बेहोस हुन पनि सक्छ। त्यस्तो अवस्थामा नखाई बस्न हुन्न। पानी पनि नखाई बस्न हुँदैन। अहिले गर्मीको समयमा पसिना आउँछ। यसले डिहाइड्रेसन हुन सक्छ।
यस्तो बेलामा शरीरभित्र पानी पनि पठाउनुपर्छ। शरीरमा सोडियम, पोटासियमको कमी हुन्छ। त्यसैले पनि शरीरबाट बाहिर निस्किने पानी र भित्र हुने पानीको मात्रालाई सन्तुलन गर्नुपर्छ। अनिमात्र शरीर फुर्तिलो हुन्छ। यसका लागि पानी र जुस पिउनै पर्छ।

कस्ता महिला वर्त बस्नु हुन्छ र कस्ताले बस्नु हुँदैन?
ब्रत बस्ने भनेको नितान्त स्वनिर्णय हो। वर्त बस्दा कसैको लामो आयु हुन्छ, घर बन्छ भन्ने सही होइन। यो भनेको नियममा बाध्नका लागि एककिसिमको त्रास पैदा गरिदिएको हो। धर्मग्रन्थमा कहीँ कतै देखिएको छैन। आफूलाई बस्न मन ब्रत बस्न सकिन्छ भने शरीरले नदिए नबस्दा पनि फरक पर्दैन।
तर सुत्केरी महिला, गर्भपति, विरामी तथा बृद्ध महिलाहरुले वर्त नबस्दा पनि हुन्छ। उनीहरु जोखिमयुक्त समुहमा पर्छन्। उनीहरु पटक्कै ब्रत बस्नु हुन्न। आस्था हो तर खानेकुरा खानुपर्छ। जेपायो त्यही नखाई साकाहारी खानेकुरा खाँदा पनि हुन्छ।
गर्भवति तथा सुत्केरी महिलाहरुलाई बच्चालाई पनि खानुपर्छ भने दुध पनि खुवाउनुपर्छ। शरीर कम्जोर भएको अवस्थामा खान छोड्नु हुन्न। माछामासु नखाएपनि सादा खाना, काढाहरु खाँदा दुध पनि बढि आउँदछ।
दरको महत्व के छ, किन खाइन्छ?
तीजको दिन लामो समयसम्म खान पाइदैन। उक्त समयमा गाहे नहोस् भनेर अघिल्लो रात खाने गरिन्छ। अनिवार्य हुँदैन। कतिलाई राती नपच्ने पनि हुन्छ। आफूलाई कतिबेला सहज हुन्छ, त्यतिबेला नै खाँदा हुन्छ। राती खाँदा शरीरमा खानेकुरा छिटो पच्दैन र पछिसम्म बाँकी रहन्छ। त्यसैले पनि भोलीपल्ट छिटै भोक लाग्दैन।
सामान्यतया दाल र भात खाँदा तीन देखि चार घण्टासम्म पच्छ भने माछामासु भए पच्नलाई ८ देखि ९ घण्टा लाग्छ।
अहिले खानाको परिकारहरुमा परिवर्तन भएको छ। चार्डवाडमा प्रोटिन भएको खानेकुरा धेरै खान्छौं। माछामासु, दही, दुध, पनिर, मिठाई खाने गरिन्छ। खान नसक्नेले पनि यसबेला धेरै खाने गर्दछन्।
प्रोटिन तथा भिटामिन धेरै हुने खाने गरिन्छ। यी सबै पौष्टिक तत्व हुन्छ तर यी सबै खाएपनि चिल्लो तथा बोसो जम्ने खानेकुरा कमै खानुपर्छ। विशेषगरी कोठाको तापक्रममा जम्ने खानेकुरा, जस्तै घिउ धेरै खानुहुन्न, किनकी यो सबै रगतमा गएर जम्छ। कहिलेकाहीँ रगतको कोसिकाहरुमा गएर कोलेस्टोरल बढाउँछ जसको कारण हृदयघात पनि हुन सक्छ। चिल्लो खानेकुराहरु धेरै खानुहुन्न। यी सबै खानेकुराहरुमा पौष्टिक तत्व भएका कारण स्वास्थ्यलाई फाइदा नै पुग्छ। तर सधैं पौष्टिक तत्व खानुपर्छ। चार्डमा खाएको प्रोटिनहरु दुई तीन दिन सम्म रहन्छ। तर अरु पौष्टिक तत्वा भिटामिन मिनिरलहरु शरीरलाई कति चाहिन्छ, त्यति मात्र लिन्छ र बाँकी फाल्दिन्छ।
यो मौसममा कसरी स्वास्थ्य खाने र बच्ने?
अहिले पानी पर्ने मौसममा बासी खानुहुँदैन। अहिले बजारबाट किनेर ल्याएको तरकारी मासुहरुमा (फंगस) ढुसी पर्न थालेको छ। सडेगलेको खानेकुराहरु खानुहुँदैन। खानेकुरा सुरक्षित नराखे ढुसी पर्न थाल्दछ। त्यस्ता खानेकुरा पटक्कै खानुहुँदैन। यस्तो खानेकरा खाए शरीरमा टक्सिक भएर पोइजन हुन जान्छ।
(पोषणविद् प्रा.डा. उमा कोइरालासँग हेल्थपोस्टकर्मी अनिता श्रेष्ठले गरेको कुराकानीका आधारमा)