स्वास्थ्य संस्थाबाहेक अन्यले एम्बुलेन्स चलाउन नपाउने

हेल्थपोस्ट नेपाल

अबदेखि एम्बुलेन्स सेवा अस्पताल र स्वास्थ्यसँग सम्बन्धित संस्थाबाट मात्रै दिइने भएको छ। राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ बमोजिम स्वास्थ्य संस्थाहरुले मात्रै एम्बुलेन्स सेवा दिन सक्छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.समीरकुमार अधिकारीले एम्बुलेन्स संचालन तथा व्यवस्थापन गर्न निर्देशिका जारी गरेको बताए। निर्देशिकामा एम्बुलेन्स सेवाको गुणस्तर,भाडादर निर्धारण र नियमनका लागि अनुगमन समितिको व्यवस्था समेत व्यवस्था गरिएको छ।

‘एम्बुलेन्स सेवा अस्पताल र स्वास्थ्यसँग सम्बन्धित संस्थाद्वारा मात्र दिइनेछ । अस्पताल बाहेकका स्वास्थ्य संस्थाहरुले सम्झौता गरेको एम्बुलेन्स संचालन अस्पतालको नियमित अनुगमनमा रहने गरि अनुसूची १३ बमोजिमको ढाँचामा संझौता गर्नुपर्नेछ,’ निर्देशिकामा भनिएको छ।

विगतमा सहकारी संस्था, सुधार समिति, टोल संस्था, क्लबहरु, निजी क्षेत्रहरुले एम्बुलेन्स सेवा दिँदै आएका थिए। एम्बुलेन्स बिरामीमैत्री नहुँदा कतिपयको ज्यान एम्बुलेन्समै जाने गरेको थियो ।

भर्खरै लागू भएको निर्देशिकामा पहिलोको निर्देशिकामा केही फरक गरिएको छ।

पहिलो एम्बुलेन्सका लागि राजस्व छुट दिइएको थियो भने अब ‘क’ र ‘ख’ वर्गमा पर्ने एम्बुलेन्सहरुका लागि मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छुटका लागि सिफारिस गरिने भएको हो।

निर्देशिका अनुुसार एम्बुलेन्स संचलान गर्दा ‘क’ र ‘ख’ वर्गको खरिद वा प्राप्ति गर्ने हो भन्ने स्पष्ट हुने गरी निवेदन दिनुपर्दछ।

एम्बुलेन्स खरिद गर्दा अनिवार्य रुपमा फोर व्हील ड्राइभ, पावर स्टेरिङ, सस्पेन्सन चेन सिस्टमको हुनुपर्ने उल्लेख गरिएको छ।

एम्बुलेन्स सेवा संचालन गर्न जनस्वास्थ्य सेवा ऐन र नियमावलीको प्रावधान अनुसार स्वास्थ्य संस्थाले संचालन गर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट निर्धारित एम्बुलेन्स चालकले तालिम लिएको एम्बुलेन्स चालक हुनपर्ने छ।

‘क’ र ‘ख’ वर्गको एम्बुलेन्सका लागि मेडिकल अफिसर, एचए, नर्स अनिवार्य हुनुपर्ने तथा त्यसमा रहने स्वास्थ्यकर्मीहरुले अनिवार्य रुपमा तोकेको तालिम लिएको हुनुपर्नेछ।

सबै एम्बुलेन्सहरु अनिवार्य रुपमा एउटै नम्बरबाट तथा एप्लिकेसनबाट सर्वसाधारणहरुले सेवा पाउन सक्ने गरी प्रेषण केन्द्रहरुसँग आवद्ध भएको हुनुपर्ने छ।

एम्बुलेन्सलाई ओसार पसार गर्नेबाहेक अन्य काममा प्रयोग गर्न पाइने छैन। दुरुपयोग गरेको पाइएमा कारवाही हुनेछ। एम्बुलेन्स चालक र एम्बुलेन्समा रहने इ।एम। टीको पोशाक हुनुपर्ने छ।

हरेक एम्बुलेन्समा जीपिएस अनिवार्य जडान गरिएको हुुनुपर्नेछ भने एम्बुलेन्स सेवाको गुणस्तर, भाडादर निर्धारण, नियमन आदिका लागि जिल्लास्तर, प्रदेशस्तर र संघीयतहमा अनुगमन समितिहरुको व्यवस्था गरिएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *