दरमा के खाने, के नखाने ?

हेल्थपोस्ट नेपाल

हिन्दू महिलाहरूको महान पर्व तीजको पहिलो दिनलाई आजलाई दर खाने दिन भनिन्छ ।तीजको अघिल्लो दिन दर खाएर भोलिपल्ट व्रत बसी पूजा र नाचगान गर्ने चलन छ। तर, हिजोआज तीज आउनुभन्दा हप्तौँ अघिदेखि दर खाने र खुवाउने कार्यक्रम भइरहेका हुन्छन्।
दरमा खिर, ढकने र सेलरोटी खाने गरिन्छ । स्थान अनुसार दरखाने परिकारहरू फरक फरक छन् त्यस्तै आधुनिकता सँगै यसमा खाने परिकारहरूमा पनि फरक आउन थालेको छ ।
सहरबजारमा हुने यस्ता दर कार्यक्रममा सात्विक तथा तामसिक भोजन समावेश हुन्छन्।

दरका नाममा मादक पदार्थको प्रयोग तथा खानाको अति प्रयोगले व्यक्तिको शारीरिक स्वास्थ्यमा त असर र्पुयाउँछ नै, सामाजिक स्वास्थ्य समेत खलबलिन्छ। दरका नाममा धेरै खानु वा भारी खानु अनावश्यक मात्र होइन, घातक पनि हुन सक्छ। त्यसैले दर खाँदा ध्यान र्पुयाउनुपर्छ।
के खाने– के नखाने ?
अहिले घर र घरबाहिर पनि दर खाने प्रचलन छ। घरबाहिर दर खाएकै कारण कतिपय ठाउँमा मानिसहरू बिरामीसमेत भएको पाइएको छ। तिजमा खाइने दरमा खिर, तरकारी, मिठाइलगायत सधैँ खाइने परिकारभन्दा चिल्ला खानेकुरा बढी समावेश गरिएको हुन्छ, जसले अपच तथा ग्यास्ट्रिकको समस्या आउन सक्छ।

दरमा मानव शरीरलाई चाहिने पौष्टिक तत्वहरू कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, खनिज, चिल्लोपदार्थ तथा पानीको मात्रा हुनुपर्छ। तर, खानेकुरा मिठो पाएमा एकैपटक धेरै खाने प्रचलन हटाउनुपर्छ। छोटो–छोटो समयको अन्तरालमा थोरै–थोरै मात्रामा खानेकुरा खाइराख्नु राम्रो मानिन्छ।

कतिपय पार्टीप्यालेसहरूमा खुवाइएको खाना ताजा नभएको समेत पाइएको छ। त्यसका लागि तिजमा खाइने खानाको ताजापनमा ध्यान दिनु आवश्यक छ। यदि आफैँले खाना बनाउनुहुन्छ भने खाना पकाउनेक्रममा त्यसको सफाइ तथा गुणस्तरमा विशेष ध्यान दिनु आवश्यक छ। आफैँले पकाएको खानेकुरामा पनि घिउ, तेल, चिनी तथा मसालेदार परिकारको प्रयोग कम गर्नु राम्रो मानिन्छ। व्रत बस्नुअघि खाइने दर सफा, शुद्ध र स्वच्छ तथा पौष्टिक तत्व समावेश भएको हुनुपर्छ, जसले व्रतको दिनमा पनि ऊर्जा प्रदान गर्न मद्दत गर्छ। दरमा मानव शरीरलाई चाहिने पौष्टिक तत्वहरू कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, खनिज, चिल्लोपदार्थ तथा पानीको मात्रा हुनुपर्छ। तर, खानेकुरा मिठो पाएमा एकैपटक धेरै खाने प्रचलन हटाउनुपर्छ। छोटो–छोटो समयको अन्तरालमा थोरै–थोरै मात्रामा खानेकुरा खाइराख्नु राम्रो मानिन्छ।

जिब्रोको स्वादका लागि मिठो परिकार धेरै खान मन लागिहाले पनि आत्मनियन्त्रणमा ध्यान दिनु आवश्यक हुन्छ। खानेकुरा कम तथा पानी प्रशस्त मात्रामा पिएमा खाएको खानेकुरा विष बन्न पाउँदैन ।

आवश्यकताभन्दा बढी खाएमा त्यसले पाचन प्रक्रियामा असर पुर्याउँछ। धेरै खाएमा शरीरले पचाउन नसक्ने हुन्छ। यसबाट बान्ता हुन सक्ने सम्भावना पनि हुन्छ। यसका साथै आवश्यकताभन्दा बढी खानाले मोटोपन निम्त्याउन सक्छ। बढी मात्रामा मोटाउनु वा दुब्लाउनु दुवै अवस्थालाई कुपोषणको अवस्था भनिन्छ। करिब ३ प्रतिशत कुपोषणको कारण बढी मात्रामा पोषणको आपूर्ति शरीरमा हुनु रहेको छ।

सबैभन्दा पनि महत्वपूर्ण कुरा त फुड पोइजनिङ नहोस् भन्ने हो। आवश्यकताभन्दा बढी खानाले शरीरले पचाउन सक्ने क्षमतामा समस्या आउँछ, जसका कारण फुड पोइजनिङ हुने गर्छ। त्यसैले छोटो समयको अन्तरालमा थोरै–थोरै खानु राम्रो मानिएको हो। पेटसम्बन्धी रोग लागेका व्रतालुले तिजमा व्रत बस्ने परम्परालाई जीवितै राखेर पनि विभिन्न खानेकुरा खान सक्छन्। जस्तै, दूध, फलफूललगायत अन्नबाहेकका खानेकुराको प्रयोगबाट खानाजति नै इनर्जी शरीरले पाउन सक्छ। व्रत बस्दा शुद्ध खानेकुरामा ध्यान दिन व्रतालुहरूमा मेरो आग्रह छ। बिरामीले रोगको प्रकृतिअनुसार व्रत बस्नु राम्रो मानिन्छ। विशेषगरी मधुमेहका बिरामीले व्रत नबस्नु नै राम्रो हुन्छ।

व्रतका दिन निराहार हुने भएकाले शरीरमा पानीको मात्रा कम हुन गई विभिन्न प्रकारका समस्या सिर्जना हुने गर्छन्। शरीरमा पानीको मात्रालाई सन्तुलनमा राख्न पर्याप्त पानी पिउनुपर्छ। मधुमेहका बिरामी व्रतका दिन खालीपेट बस्दा शरीरमा चिनीको मात्रा कम हुन्छ। यो स्वास्थ्यका लागि खतरनाक मानिन्छ। त्यसैले यस्ता बिरामीले निराहार व्रत बस्नुहुँदैन । उनीहरूले दही, रोटी, खिरलगायत खानेकुरा खानुपर्ने हुन्छ । दिनभर निराहार बस्नेहरूले साँझमा धेरै चिल्लो खानेकुरा नखाई दूध, दही, फलफूललगायतको सेवन गर्नु राम्रो मानिन्छ।

त्यसैगरी, व्रतको भोलिपल्ट सबैभन्दा पहिले कालो चिया खानुपर्छ। त्यसपछि तेल, मसलालगायतको प्रयोग कम भएका खानेकुरालाई बिहानीको खानाका रूपमा प्रयोग गरेपछि मात्र बिस्तारै अन्य समयजसरी नै सामान्य खानेकुराको प्रयोग गर्नु राम्रो हुन्छ। फलफूल, गेडागुडी तथा फाइबरयुक्त खानेकुरा बढी खानु राम्रो मानिन्छ । खानाको मात्रा कमै गरेको राम्रो हुन्छ ।

त्यसैले जिब्रोको स्वादका लागि बाहिरको खानेकुरा खानु राम्रो मानिँदैन । स्वादका लागि मिठो भए पनि त्यसले शरीरलाई लामो समयसम्म असर गर्छ। खानैपर्ने अवस्थामा सागपात, फलफूल तथा फाइबरयुक्त खानेकुराको प्रयोग गर्नुपर्ने हुन्छ । मिठाइ तथा माछामासु बढी खानु राम्रो मानिँदैन ।

– कतिपयले दरमा मासु खाने गर्दछन्, यस्तोमा मासुमा धेरै नुन, मसला राख्नु हुदैँन ।
– दरमा धेरै गुलियो, चिल्लो, पिरो र मसलेदार खानेकुरा खानु हुदैँन ।
– दरमा खादाँ खाली पेट भए शुरुमा नुनिलो रसयुक्त परिकार खानु पर्दछ ।
– दर खादाँ आफ्नो शरीरमा चाहिने मात्र खानु पर्दछ । बढि खाएमा बान्ता हुनसक्छ ।
– दरमा विभिन्न परिकारसँगै सलादको मात्रा अनिवार्य खानु पर्दछ ।
– सामुहिक रुपमा दर खादा फुड पोइजन हुनसक्ने भएकाले सचेत हुनुपर्छ ।
– दरसँग भुलेर पनि अल्कोहल पिउनु हुँदैन।



Leave a Reply

Your email address will not be published. Required fields are marked *