बागमतीमा १८ लाखले पाए पूर्ण खोप

हेल्थपोस्ट नेपाल

बागमती प्रदेशमा हालसम्म १८ लाख ४८ हजार ५८८ जनाले कोरोना भाइरस विरुद्धको पूर्ण खोप लगाएका छन्। बागमतीमा १८ वर्ष उमेर माथिका ३२ प्रतिशत नागरिकले पूर्ण खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेशमा खोपको पहिलो मात्रा लगाएका नागरिकको संख्या छ लाख १५ हजार ६६६ अर्थात १४ प्रतिशत छ ।

प्रदेशमा १८ वर्षभन्दा माथिका उमेर समूहमध्ये हालसम्म कुनै पनि खोप नलगाउने नागरिकको संख्या ३३ लाख ६४ हजार १०६ अर्थात ५८ प्रतिशत छ । देशभर कोरोना विरुद्धको पूर्ण खोप लगाउनेको संख्या हालसम्म ४८ लाख ९५ हजार १५२ पुगेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ। खोपको पहिलो मात्रा लगाउनेको संख्या हालसम्म ५५ लाख ३३ हजार ७९४ छ।

प्रहरीद्वारा ११ लाखलाई निःशुल्क मास्क वितरण

कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत हालसम्म ११ लाख दुई हजार ३२२ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार उक्त कार्यक्रमअन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म सो परिमाणमा निःशुल्क मास्क वितरण गरिएको हो । नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण बढ्दै गएपछि त्यसलाई रोक्न प्रहरीले ‘सङ्क्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ नारासहित ‘तपाईंको मास्क खै ?’ अभियानअन्तर्गत निःशुल्क मास्क वितरण गर्दैआएको छ ।

स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञाको क्रममा स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने एक हजार २६६ जनालाई सम्झाई बुझाइ छाडिएको छ। माइकिङ, प्लेकार्ड, पर्चापम्प्लेटसहितको सचेतना मूलक कार्यक्रमअन्तर्गत आठ हजार २३२ जनालाई सचेत गराइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *