स्वास्थ्य मन्त्रालयले बीपीका स्वास्थ्यकर्मीलाई भन्यो – माग पुरा भएका छन्, काममा फर्किनुहोस्

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीलाई आन्दोलन फिर्ता लिन अपिल गरेको छ।

आइतबार मन्त्रालयले एक विज्ञप्ति द्दारा प्रतिष्ठानमा देखिएका विवाद समाधानका लागि आन्दोलनरत चिकित्सकका अधिकांश माग सम्बोधन भइसकेको जनाएको छ।

यसअघि स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र प्रतिष्ठान शुद्धिकरण अभियान–२०७८ संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको थियो । तर, माग कार्यान्वयन नभएको भन्दै आजदेखी स्वास्थ्यकर्मीले सेवा बहिस्कार गरेका छन्।

‘आन्दोलनरत पक्षहरुले उठान गर्नुभएका अधिंकास मागहरू सम्बोधन भइसकेको र थप मागहरु सम्बोधन क्रममा रहेका हुँदा कोभिड महामारीको अवस्थामा स्वास्थ्य जस्तो आवश्यक र संवेदनशील क्षेत्र खुला राखि स्वास्थ्य सेवा सञ्चालन गर्न अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बैकुण्ठ अर्यालको नेतृत्वको उच्चस्तरीय समितिको प्रतिवेदन पेश भई सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ ।

यस्तै, समस्या पहिचान तथा छानविन कार्यदल गठन भई प्रतिवेदन पेश भइसकेको छ । मन्त्रालयले चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलबाट प्रतिष्ठानले गरेका काम कारवाही सम्बन्धी निरीक्षण एवं अनुगमन सम्पन्न भएको समेत जनाएको छ ।

प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशकलाई गतिरोध अन्त्य गर्न सहज निकासको लागि मार्ग प्रशस्त गर्न निर्देशन दिएको समेत विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति अनुसार विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूसँग सम्बन्धित मौजुदा कानूनमा आवश्यक संशोधन गर्न प्रा। डा। परासर प्रसाद कोइरालाको संयोजकत्वमा गठित मस्यौदा समितिको प्रतिवेदन, २०७५ सार्वजनिक गरिएको छ ।

यस्तै, शिक्षा मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्सालको संयोजकत्वमा गठित समितिको विश्वविद्यालय र उच्च शिक्षा प्रदायक स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण कार्यदलको प्रतिवेदन, २०७६ सार्वजनिक भइसकेको जनाएको छ।

स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ लाई परिमार्जन गरी नयाँ नियुक्तिका सम्बन्धमा कार्यविधि मापदण्ड निर्माणका लागि ३ जना प्राध्यापक सहित प्रमुख विशेषज्ञ डा. दिपेन्द्र रमण सिंहको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको जनाइएको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *