वीपीका स्वास्थ्यकर्मीले गरे सेवा बहिस्कार, भन्छन् – समस्या समधान नहुँदासम्म बिरामी नआउनु

हेल्थपोस्ट नेपाल

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरुले आजदेखि सेवा बहिष्कार गरेका छन्।

उच्चस्तरीय छानबिन कार्यदलको प्रतिवेदन र मन्त्रालयले गरेको ६ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै संयुक्त संघर्ष समितिले आन्दोलन कडा बनाउदै आजदेखि इर्मजेन्सी र कोभिड अस्पतालको सेवाबाहेक अन्य सबै सेवा बहिष्कार गरेका हुन्।

अहिले ओपिडी सेवा ठप्प भएको संयुक्त संघर्ष समितिका सह–संयोजक डा. विष्णु पोखरेलले बताए।
‘जबसम्म प्रतिष्ठानमा छानबिन नभई दोषीमाथि कारबाहीँ हुँदैन। हाम्रो आन्दोलन जारी रहन्छ,’ डा. पोखरेलले भने, ‘कोभिड भर्ना तथा आकस्मिक बाहेकका सेवाहरू बहिस्कार गरेका छौं।’

डा. पोखरेलले अस्पताल आएका बिरामीलाई प्रागंणमा चेकजाँच गरिएको जानकारी दिए।  प्रतिष्ठानमा असार १ गतेदेखि संयुक्त संघर्ष समितिले शुद्धिकरण आन्दोलन जारी राखेको छ।

आन्दोलनकर्मीसँग स्वास्थ्य मन्त्रालयले सम्झौता गरेको पनि आज १ महिना पुरा भएको छ। तर, सरकारले कार्यदलको प्रतिवेदनले दोषी औल्याएका पदाधिकारीहरुलाई कारबाही गर्न चासो देखाएको छैन ।

सरकारले छानबिन मात्र गर्ने र प्रतिवेदन कार्यान्वयन नगर्ने प्रवृत्ति दोहोर्याएको कारण आन्दोलनलाई थप कडा बनाउनुपरेको संघर्ष समितिले जनाएको छ।

‘हामीले सकेसम्म बिरामीलाई नआउनु भनेका छौं। अहिले अस्पताल खुलेपनि बन्द जस्तै छ। बिरामीको उपचार पुरा हुँदैन। बिरामीलाई रिफर गर्नुपर्ने बाध्यता छ। प्रतिष्ठानका बेथेतिलाई सुधार नगरि काम नजाने प्रतिबद्दता जनाएका छौं,’ डा. पोखरेलले भने।

सरकारले प्रतिवेदन र सहमति कार्यान्वयन गनृ उदासिनता देखाएको कारण काम छोडेर आन्दोलन गर्न बाध्य भएको उनले बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *