कोरोनाकालमा उदाएका हस्ती स्वास्थ्यकर्मी

कोरोना संक्रमणको उत्पत्ती हुन्छ र आगोसरी फैलिएर संसारभर आतंक मच्चाउँछ भनेर सायदै कसैले कल्पना गरेका थिए।

यदि कल्पना गरेको भए, सबै राष्ट्र, अस्पताल, स्वास्थ्यकर्मीदेखि राजनीतिज्ञहरु तयारी अवस्थामा रहन्थे।

हुन त कोरोना महामारी नै विश्वको पहिलो महामारी होइन। कैयौं शताब्दीदेखि मानिसले यस्ता महामारी झेल्दै आएका थिए।

कति रोग देशभित्रै ‘इपिडेमिक’ का रुपमा फैलिए त कति विश्वभरि नै ‘पेन्डामिक’ का रुपमा।

जस्तोसुकै महामारी आउँदा पनि स्वास्थ्यकर्मीहरु अग्रपंत्तिमै छन्।

कोरोना महामारीको संघर्षमा पनि उनीहरुले उपचार गरिरहेकै छन्।

विगतको महामारीबाट अनुभव केलाउँदै नयाँ पिढीका चिकित्सकहरुले चुनौतीका अलावा कोरोना महामारीलाई अवसरका रुपमा लिएका छन्। आफूलाई जोखिममा राखेर दिनरात खटिइरहेका छन्, स्वास्थ्यकर्मी।

यसै महामारीलाई अवसरका रुपमा लिएका तथा कामकै कारण केही चिकित्सक तथा स्वास्थ्य कर्मचारीहरु जनतामाझ चर्चित भएका छन्।

डा. समीर अधिकारी

जनस्वास्थ्य तथा मनोचिकित्सक हुन्, समीर अधिकारी। सर्लाही जिल्लाको लालबन्दीमा २०३८ भदौ १८ मा जन्मेका उनी, वीरगञ्जबाट आइएससी पास गरी काठमाडाैं आए।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्सा शिक्षा अध्ययन संस्थानबाट जनस्वास्थ्य र मेडिकल साइकोलोजी विषयमा स्नातक र स्नातकोत्तर अध्ययन गरेका छन् उनले।

सरकारी सेवामा काम सुरु गरेपछि उनले केही समय सोलुखुम्बु र रसुवामा बिताए। केही समयपछि उनको सरुवा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा भयो।

त्यहीँबाट सुरु भयो उनको महामारीसँगको संघर्ष। सानातिना रोग होस् या देशभित्र भएको आउटबे्रक, उनले आफ्नो क्षमता र दिमागले भ्याएसम्म त्यसको नियन्त्रणमा काम गरे।

२०७५ सालमा काभ्रेको पाँचखालमा तीजको भोज खान गएका अधिकांश मानिस बिरामी भएका थिए। ५०० जनाभन्दा बढी मानिस बिरामी भएर टेकु अस्पतलमा भर्ना गरिएको थियो। उक्त महामारीमा उनले यसको अनुसन्धान तथा बिरामी हुनुको कारण पत्ता लगाएका थिए। खानेकुरामा विषाक्त पदार्थ भएका कारण सबैभन्दा धेरै मानिसहरु बिरामी भएको यो पहिलो घटना हो। महामारीको समयमा कसरी काम गर्ने, मानिसहरुलाई उपचारको व्यवस्था कसरी गर्ने त्यहीँबाट सिकेको उनी बताउँछन्।

त्यस्तै, नेपालमा पहिलो पटक बर्डफ्लु फैलिँदा मानिसहरुलाई सरेको छ–छैन सबै अनुसन्धान गरिएको थियो। त्यस्तो समयमा अहोरात्र खटिएर काम गरेको अनुभव छ, उनको।

उनको साहस र महामारीमा काम गर्ने क्षमता तथा लगाव देखेर स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रको प्रमुख र स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका सहप्रवक्ताका रुपमा नियुक्ति गरिएको थियो।

अधिकारीले कोरोना महामारीलाई आफूले अवसरका रुपमा लिएको बताउँछन्।

अधिकारी ती व्यक्ति हुन् जसले स्वास्थ्य मन्त्रालयको तर्फबाट हरेक दिन कोरोना संक्रमणको तथ्याङ्क सार्वजनिक गर्छन्।

देशभर भएको पिसिआर परीक्षण, बिरामीको अवस्था, मृत्यु भएका संक्रमितको संख्या संकलन गरेर पठाउने काम गर्दछन्।

‘महामारीको समयमा मैले नगरे कसले गर्छ भन्ने सोचेर काम गरेँ,’ उनले भने।
‘देशैभरको तथ्याङ्क संकलन गरेर मिलाउन कहाँ सजिलो छ र’, उनी भन्छन्, ‘कहिलेकाहीँ हिसाब नमिलेर निक्कै तनाव हुन्छ। तर पनि हामी टिम मिलेर काम गर्दा सबै सहज बन्दै जान्छ।’

‘म नेतृत्व तहको देखिने ठाउँमा छु भने मेरो टिमलाई पनि अगाडि ल्याएर कााम गराउने तथा त्यसको वातावरण मिलाएर व्यस्थापन गरिरहेको छु। हालसम्म हामी सबै टिम मिलेर काम गरिरहेको भएर महामारीविरुद्ध काम गर्न सकिरहेका छौं’, उनले भने।

‘सर्वसाधारणलाई दिने सूचना, नीतिगत तहमा दिने, सञ्चार माध्ययमलाई लिने सूचना र त्यसका आधारमा दिने निर्देशन आदेश सबै हामीले दिने तथ्याङकमै भर पथ्र्यो’, उनले थपे।

तर, तथ्याङ्क संकलन गर्ने ठाउँ, त्यसलाई विश्लेषण गर्ने ठाउँ र त्यसलाई प्रकाशन र वितरण गर्ने ठाउँहरुमा एकरुपता नहुँदा एकदमै गाह्रो हुने उनी बताउँछन्।

‘जति अपेक्षित सुधार गर्नुपर्ने हो त्यसमा लागि रहेका छौं। तर, त्यति सुधार भने गर्न सकिरहेका छैनौं’, उनले भने।

तीन तहको सरकारको समन्वयनको कमीले काम गर्न निकै गाह्रो भएको महसुस गर्छन् उनी।

‘नयाँ बनेको संरचना जनतासँग एकदमै नजिक भएता पनि सबलीकरण भइसकेको थिएन भने पुरानो संचरना पनि नभएको कारण समन्वयनमा निकै गाह्रो भयो। अझ

एचओइसी केन्द्रमा बसेर काम गर्दा यति गाह्रो भयो, यसको शब्दमै बयान गर्न सक्दिनँ’, उनले भने।

त्यस्तै, नेतृत्व तहहरुको बुझाइ छिटो परिवर्तन हुने भएका कारण झनै कठिन हुन पुगेको उनको भनाइ छ।

‘कुन ठाउँमा कति जनसंख्या छ, कसरी छिटो महामारी फैलिन्छ, कति समयमा मानिसहरु परीक्षणमा आउने, कति समयमा अस्पतालमा भर्ना हुन आउँछन्, भनेर हामीले प्राविधिक रुपमा विश्लेषण गछौं तर, हामीले प्रशासनिक तथा राजनैतिक नेतृत्व मार्फत हिँड्नुपर्ने भएका कारण प्राविधिक रुपमा नै निर्णय हुन सकेन। मन्त्रालयले दिएको निर्देशनको ल्याकत माथिल्लो तह तथा राजनीतिक नेतृत्वले नराखेको कारण दोस्रो महामारी झेल्निुपर्ने अवस्था आउँदैनथ्यो’, उनले भने।

राजनीतिक गतिविधि हुँदा सडकमा मानिसहरु उत्रिय। तर, मन्त्रालयले प्रशासनलाई ती व्यक्तिलाई थुन्न आग्रह गर्दा पनि त्यसो हुन नसकेको उनले बताए। स्वास्थ्य मन्त्रालयले निर्देशन दिन सक्ने र पालना गराउन सक्ने अवस्था नै नबनेको उनले सुनाए।

तर, देशलाई अफ्ठ्यारो परेको समयमा आफू नेतृत्व तहमा बसेर काम गर्न पाउँदा निकै सन्तुष्ट भएको उनी बताउँछन्। ‘यस्तो समयमा मलाइ राज्य तथा व्यवस्थाले पत्याएको छ, मेरो क्षमतालाई विश्वास गरेकोमा निकै खसी छु। यो जीवनपर्यन्त रहनेछ,’ उनले भने।

उनी मात्र नभइ उनीसँगै टिममा काम गर्ने कर्मचारीहरुले पनि कहिल्यै गाह्रो महसुस नगरी काम गरेका उनले सुनाए।

‘महामारीमा रोकथाम नै प्रमुख विषय हो। तर, यस कार्यमा स्वास्थ्य मन्त्रालयले मात्र गर्नसक्ने अवस्था थिएन। अन्य निकाय तथा मन्त्रालयहरु लकडाउन भनेर घरमै बसिरहे तथा कसैले समन्वय गर्न अघि सरेनन्। स्वास्थ्य मन्त्रालय र सुरक्षा निकायलेमात्र यसको जिम्मेवारी बहन गर्नुपर्‍यो। समन्वय गर्ने भन्न सजिलो छ तर काम गर्न निकै गाह्रो रहेछ’, उनी भन्छन्, ‘मन्त्रालयले गरेको निर्णयमा न त प्रदेश स्तरमा न त स्थानीय तहमा एकरुपता ल्याउन सकियो।’

‘पटकपटक स्वास्थ्य मन्त्री, राज्यमन्त्रीदेखि सबै निकायका सचिवहरु राखेर मिटिङ गर्दा धेरैको प्रेसरहरु आउने गर्दथ्यो। सबैको सल्लाहहरु राखेर के सही के गलत बुझाएर निर्णय गर्ने र कागजीरुपमा उर्तानुपर्ने, सर्कुलर गर्ने काम निकै चुनौतीपूर्ण रहेको छ’, उनले भने।

डा. रुना झा

rbt

जनपुरकी रुना झा मेथोलोजिस्ट हुन्। त्रिभुवन विश्वविद्यालय अन्तरगत आइओएमबाट मेथोलोजीमा एमडी गरेकी झाले आफ्नो पढाई सकिएलगत्तै १० वर्षसम्म त्रिवि शिक्षण अस्पतालमा सेवा प्रदान गरेकी हुन्।

११ औं तहका लागि आवेदन खुलाएको समयमा उनले परीक्षा दिएर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल) मा नाम निकाल्न सफल भएकी हुन्।

हाल उनी एनपिएचएलकी निर्देशक हुन्। महामारीमा अन्य स्वास्थ्यकर्मीलाई चुनौती भएजस्तै देशकै ठूलो प्रयोगशाला सम्हालीरहेकी उनलाई झनै बढि चुनौती थपिएको थियो।

कोरोना संक्रमणको सुरुवाती दिनदेखि नै उनी र प्रयोगशालाले नकरात्मक टिक्काटिप्णीको सामना गर्नुपरेको थियो।

कोरोना भाइरसको परीक्षणका लागि प्रयोगशालासँग रिएजेन्ट (परीक्षण गर्न चाहिने केमिकल) नभएका कारण नमुना परीक्षणका लागि हङकङ पठाइएको थियो।

उक्त नमुना पोजेटिभ आएपछि, अन्य नमुनाहरु पनि परीक्षण गर्न थालियो। ‘हामीसँग परीक्षण गर्ने रिएजेन्ट नभएका कारण जहाँबाट जे आउँछ, जसले अनुदानमा दियो लिँदै गयौं। कहिले अन्य कम्पनीहरुसँग माग्यौं, त कहिले रिसर्च इन्स्टिच्युटहरुलाई बनाउन आग्रह गरेर भए पनि परीक्षण गरेका थियौं,’ उनले भनिन्।

बिस्तारै कोरोना धेरै हुँदै गएपछि व्यवसायिक रुपमा परीक्षण गर्ने किटदेखि केमिकलहरु पनि सहजरुपमा उपलब्ध हुन थाल्यो।

पहिलो कोरोना संक्रमितको नतिजा पोजेटिभ आएर धेरै समयसम्म अन्य नमुनाहरु नेगेटिभ आएको थियो। यसकाकारण मिडिया तथा अन्यले प्रयोगशालाको क्षमता तथा परीक्षणमा प्रश्न उठाउने गर्दथ्यो।

‘हामीले कहिले पनि आफ्नो आत्मविश्वासलाई कम हुन दिएनौं। मानिसले बाहिर कुरा काट्दा पनि हामीले गरेको परीक्षण सही थियो भन्ने विश्वास थियो,’ उनले भनिन्।

परीक्षण गर्दा कन्ट्रोल (पोजेटिभ र नेगेटिभ) परीक्षण गर्ने गरिएको थियो। पहिलो कोरोना संक्रमितको नमुना हाम्रो साथमा थियो। त्यसैले जहिले पनि परीक्षण गर्दा उक्त नमुना र नयाँ नमुना दुवै परीक्षण गरिन्थ्यो। पेजेटिभ नमुना सधैं पोजिटिभ आउने गथ्र्यो भने नयाँ नमुना त्यसरी नै परीक्षण गर्दा नेगेटिभ आउने गथ्र्यो, त्यसैले पनि हामीले गरेको तरिका ठीक रहेछ भनेर ढुक्क थियौं’, झाले भनिन्, ‘सुरुको नमुना पोजेटिभ आउँदा कर्मचारी निक्कै डराएका थिए। योसँगै महिनौंसम्म प्रयोगशालामा कार्यरत कर्मचरीहरुले सोही नमुना प्रयोग गरिरहेका कारण निक्कै तनाबग्रस्त हुने गर्दथे।’

वुहानबाट विद्यार्थीहरुलाई नेपाल ल्याउँदा सबैभन्दा बढी तनाव तथा चुनौती महसुस गरेको उनी बताउँछिन्।

‘सबैजनाको आँखा हामीमाथि थियो। संक्रमण हुने डरसँगै जिम्मेवारी पनि थियो। हामीले बाक्लो लुगा, टाउकोदेखि खुट्टासम्म छोपिनेगरि पिपिई, बुट लगाएका थियौं। अहिले त्यो अवस्था सम्झँदा हाँस्न मन लाग्छ,’ उनले भनिन्।

‘त्यो समयमा सबै नमुना नेगेटिभ आउँदा झनै बढी तनाव थपिएको थियो। केही न केही पोजेटिभ आउनुपर्ने नआएको, तथा आफ्नो गल्तीले देशभर कोरोना फैलिने हो की भन्ने डर कायमै भइरह्यो।’, उनले भनिन्, ‘उक्त समयमा धेरैले हामीले गरेको कामलाई चित्त बुझाएनन्, खासै काम नगरेको भनेर आरोप लगाउनुका साथै आलोचना पनि गरे। तर, समयसँगै यी सबै सेलाउँदै गयो।’

उनले आफूमा भएको विश्वास र कर्मचारीहरुको सकरात्मक सोचका कारण महामारीमा काम गर्न सकेको बताइन्।

‘हामीले लकडाउनमा पनि कार्यालयमै खाने, बस्ने र यातायातको व्यवस्था गरेका थियौं। ‘रातमा काम भएकाहरुलाई पनि सबै व्यवस्था गरेका थियौं। हाम्रा ड्राइभर पनि रातदिन नभनि खटिएका थिए,’ उनले भनिन्।

लकडाउन हुँदा देशभरबाट प्रयोगशालामा परीक्षणका लागि नमुनाहरु आइपुग्दा निकै चाप बढेको उनी सम्झिन्छिन्।

उनले नमुना पोजेटिभ आएका बिरामीहरुमा सूचना पनि पु¥याउन पनि त्यतिखेर गाह्रो भएको उनले बताइन्। ‘सुरुमा एकदमै अलमलमा परेका थियौं। एकदमै टाढाबाट नमुना आउने तर, बिरामीलाई थाहा पाउने अधिकार भएर पनि हामीसँग त्यो पहुँच थिएन’, उनले भनिन्।

‘मन्त्रालयको निर्देशनअनुसार बिरामीलाई सिधै सूचना दिन मनाही गरिएको थियो। हामीलाई नमुना संकलन गरेर दिने रिसोर्स पर्सनलाई हामीले नतिजा दिन्थ्यौं, तर त्यहाँबाट बिरामीलाई सूचना नै प्रदान नहुने हुन्थ्यो’, झाले भनिन्।

बिरामीले नतिजा थाहा पाए भाग्ला, लुक्ला, सहन नसक्ला भनेर पनि ढिला दिने गरिएको उनले बताइन्।

‘दोस्रो लहरमा हामी धेरै तयार भइसकेका थियौं। हामीसँग अटोमेटिक मेसिनहरु पनि थियो। तर, परीक्षणको क्षमतामा धेरै अपेक्षा राखियो। हामीसँग भएको पाँचवटा मेसिनले धेरै परीक्षण गर्न सक्छ भनेर मन्त्रालयले हिसाब गरेर आँकलन गरे पनि सो परीक्षण सोचे जसरी सम्भव नहुँदा निकै गाह्रो भएको थियो,’ उनले भनिन्।

कोरोना भाइरसको भेरियन्टका बारेमा सुरुमा पहिलो केश पत्ता लाग्दा झाले अन्तर्राष्ट्रिय जर्नलमा आफ्नो लेख प्रकाशित गरेकी थिइन्। तर, मन्त्रालयले देशको सूचना बाहिर पठाएको भन्दै निकै दबाब दिएको थियो।

उनले जीन सिक्वेन्सिङका लागि मन्त्रालयलाई पटकपटक आग्रह गर्दा पनि वास्ता नगरेपछि प्रयोगशालाले सिक्वेन्सिङका लागि प्रकृया अगाडि नै बढाउन छाडेको थियो। तर पछि मन्त्रालयले यसको महत्व बुझेर पुनः सिक्वेन्सिङ गराउन उनलाई निर्देशन दिएको थियो।

‘एक वर्षसम्म सिक्वेन्सिङको प्रकृया नै रोकिएको थियो। अब बल्ल प्रयोगशालामा सिक्वेन्सिङको सेटअप हुनलागेको छ’, उनले भनिन्।

‘काम गर्दै जाँदा धेरैले धेरै भने। कतिपटक रिस उठ्यो, कतिपटक चित्त दुख्यो, तर पनि आफ्नो काम गर्दै गएँ,’ उनले भनिन्, ‘कोरोना महामारी हामीलाई नयाँ थियो। नयाँ काममा कहिलेकाहीँ गल्ती पनि हुन सक्छ। तर माथिल्लो तहबाट गल्ती भए पनि काम गर्दै जानुपर्छ भनेर कहिल्यै संरक्षण तथा प्रोत्साहन गरेको महसुस गरिनँ। सानो गल्ती हुँदा पनि ज्यानै लिने धम्की आउने काम भयो।’

आफूलाई मात्र नभइ आफ्ना कर्मचारीहरुलाई पनि धम्की आउने, सरुवा गरिदिने चेतावनी दिने, स्थानीय तहहरु तथा सिडियोबाट पनि तनाब दिने गरेका उनले बताइन्। कतिपटक त ल्याबमै जासुस पनि पठाउने गरिएको उनले खुलाइन्।

‘ल्याब नबुझ्ने मानिसहरु यहाँ आएर जासुसी गर्ने, खुट्टा तान्नेहरु पनि यही समयमा निकै सल्बलाए। काम गर्दै गएपछि सबै पछि हट्दै गए। मैले पनि धेरै भए सरुवा हुने त हो नि भनेर आफ्नो काम गर्दै गएँ। नकरात्मक सोच्ने पछि हट्दै गए। काम गर्ने वातावरण बन्दै गयो,’ झाले भनिन्।

डा. अनुप बास्तोला

क्लिनिकल ट्रपिकल मेडिसिनमा एमडी र डर्मेटोलोजीका विशेषज्ञ डाक्टर अनुप बास्तोला हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक हुन्।

दार्चुलाबाट आफ्नो चिकित्सकीय सेवा सुरु गरेका बास्तोलाले २०७५ जेठमा ११ औं तहमा खुल्लाबाट नाम निकालेका हुन्। उनले १३ वर्षदेखि टेकु अस्पतालमै सेवा दिँदै आएका छन्।

कोरोना महामारी बास्तोलाका लागि कुनै नौलो महामारी थिएन। उनले यसभन्दा अगाडि पनि टेकु अस्पतालमै रहेर महामारी तथा सरुवा रोगका बिरामी सम्हालेका थिए।
सन् २००९ मा आएको ‘स्वाइन फ्लू’ महामारीमा पनि उनले आफ्नो मुख्य भुमिका निभाएका थिए।

‘मैले यही आइसोलेसनमा राखेर बिरामीलाई उपचार गरेको थिएँ,’ बास्तोलाले विगतका संक्रमण सम्झँदै भने, ‘एयरपोर्टबाट बिरामीहरु सिधै अस्पतालमा ल्याइन्थ्यो। पहिलो संक्रमित क्यानेडियन महिला थिइन्। त्यसपछि बिरामीहरुको बढ्ने क्रम सुरु भयो।’

स्वाइन फ्लू पनि कोरोना भाइरसजस्तै सर्ने रोग हो। सुँगुरहरुबाट मानिसमा फैलन थाले पनि नेपाल पनि यसको असर परेको थियो। मानिसहरुलाई रुघाखोकी लाग्ने निमोनिया हुनेजस्ता लक्षण हुन्थ्यो।

त्यस्तै, अन्य किसिमका फ्लू, स्क्रब टाइफस, डेंगुजस्ता महामारीमा पनि उनले रातदिन खटेर काम गरेका छन्।

कोरोना भाइरसबाट संक्रमण भएको पहिलो बिरामीलाई पनि बास्तोलाले नै जाँचे।

‘कोरोना भाइरसको बारेमा अहिलेजस्तो पर्याप्त जानकारी थिएन। अनुमानका आधारमा सबैजना बसेर मिटिङ गरेर नमुना परीक्षण गर्न विदेश पठाएका थियौ,’ उनले भने।

त्यस्तै, युरोपबाट फर्केका संकास्पद बिरामीहरुको उपचारमा पनि डा. बास्तोला खटिएका थिए।

‘हामीले सानो टिम बनाएर उपचार सुरु गरेका थियौं।’, उनले भने।

अस्पताल व्यवस्थावन, संक्रमण कसरी रोक्ने, बिरामी कसरी बचाउने भन्ने सोचेरै जनरल वार्डलाई आइसियु र ग्यास्ट्रो वार्डलाई कोभिड वार्ड बनाउने, नक्सा तयार गर्ने तथा योजना सबै आफैंले तयार गरे।

सुरुवातमा कोरोना संक्रमणको हल्का लक्षण देखिएर अस्पतालमा बुझ्न आउने मानिसहरुलाई परामर्श पनि उनले दिएका थिए। ‘मानिसहरु निकै डराएका थिए। त्यस्तोमा उनीहरुलाई उपचार सँगै सम्झाउने बुझाउने काम पनि गरेको थिएँ’, उनले भने।

कोरोना महामारीको पहिलो लहर सुरु भएपछि मानिसको मृत्यु पनि हुन थाल्यो। उनले सबै बिरामीहरुको नजिकै बसेर काम गरे। दोस्रो लहरमा पनि बिरामीहरु हेर्न आइसियु तथा वार्डहरुमा धाइरहे।

हाल उनी अस्पतालको व्यवस्थापनमा व्यस्त भए पनि बिरामीको अवस्थाहरु बुझिरहन्छन्।

कोरोना महामारीले चुनौतीसँगै अवसर पनि दिएको उनी बताउँछन्। दिनरात नै बिरामीको सेवामा लागिरहने भएका कारण घरका परिवारसँग टाढै रहनु पर्ने उनको बाध्यता रहन्थ्यो।

कोरोना संक्रमणको समयमा उनले एक वर्षसम्म आफ्ना परिवारलाई समय दिन सकेनन्।

संक्रमणको सुरुवातमा भर्खरै बुवा बनेका बास्तोलाले आफ्नो ६ महिनाको छोरालाई काखमा राख्न पाएनन्। ‘छोरालाई सानोबेलामा काखमा पनि राख्न पाइनँ। एकैचोटी ठूलो भएपछिमात्र काखमा राख्न पाएँ,’ उनले भने। संक्रमणकै समयमा हुर्किएका उनका छोरा अहिले दुई वर्ष भइसके।

अझै पनि परिवारलाई संक्रमणको जोखिम हुन्छ भनेर सजग हुन्छन् उनी। ‘खोप लगाएका कारण अहिले अलि डर कम भएको छ। तर पहिले एक वर्षसम्म टाढै रहेको थिएँ’, उनले भने।

उनले घरमा बस्दा होस् या अस्पतालमा, एकोहोरिएर बिरामीकै बारेमा मात्रै सोच आउने बताए। कुनै समय राति नै उठेर अस्पताल धाउनुपर्ने, कहिले नसुतेरै उपचार गर्नुपर्ने अवस्था रहेको उनी बताउँछन्।

हाल निर्देशकको जिम्मेवारी सम्हालेपछि अस्पतालमा उपचारको सेवा विस्तार गर्ने र उपचार राम्रो बनाउने तयारीसँगै ८० जना स्वास्थ्यकर्मीलाई क्रिटिकल केयरको तालिम, लाइफ सेभिङ प्रोसिड्युअर सिकाएको उनी बताउँछन्। उक्त तालिमका कारण स्वास्थ्यकर्मीहरु आफ्नो सुरक्षा गरेर उपचार दिनसक्ने भएका छन्। त्यस्तै, महामारीमा मात्र नभइ अन्य समयमा पनि अस्पतालको सेवा सुविधा चुस्तदुरुस्त गर्नका लागि विभिन्न योजना बनाइरहेको उनले बताए।

सबैभन्दा महत्वपूर्ण कुरा अस्पताल वा देशबाट सरुवा रोगका लागि जनशक्ति तयार गर्नुपर्ने उनले बताए।

‘सरकारले सातै प्रदेशमा सरुवा रोग अस्पताल बनाउने तयारी गरेको छ। यसका लागि सबैभन्दा बढी चुनौती जनस्रोतको रहन्छ। कति र कस्ता खालको जनशक्ति चाहिन्छ भनेर हामीले बुभ्दै छौं। विशेषगरि यो महामारीले हामीलाई कसरी तयार रहने, समस्याको सम्बोधन कसरी गर्ने भन्ने सिकाएको छ। तेस्रो लहरको लागि पनि हामी तयार नै छौं’, उनले भने।

डा. निरजकुमार सिंह

नारायणी अस्पतालका वरिष्ठ चिकित्सक हुन्, निरजकुमार सिंह। वीरगञ्जका बासिन्दा उनी कोरोनाकालमा रेनकोट डाक्टरका नाममा परिचित भए।

कोरोना महामारीमा उनले पिपिइको अभावमा रेनकोट लगाएर काम गरेका थिए।

कोरोना संक्रमण हुने डरसँगै बिरामीको व्यवस्थापन गर्नुपर्ने जिम्मेवारीका कारण उनलाई रेनकोट भन्दा अन्य केहीको पनि विचार आएन।

कोरोनाको दुवै लहरमा प्लास्टिकको डबल लेयरको रेनकोट, फेस सिल्ड, माथिपट्टि टेपले टाँसिएको डबल मास्क र गमबुट उनको पहिरन बनेको थियो।

‘महामारीको समयमा दैनिक फेर्न न त पिपिइ नै थियो न त अन्य सुरक्षाका सामाग्री। आफू जोगिएर बिरामी जोगाउनुपर्ने बाध्यता भएका कारण रेनकोट नै रोजेँ। कोभिड वार्डमा काम गर्ने चिकित्सक तथा नर्सका लागि त सुरक्षाका साधन भए पनि सामान्य वार्डमा नपुग्ने हुनाले यसको प्रयोग गरेँ,’ उनले भने।

वीरगञ्ज अनि गर्मी। ४० डिग्री तपक्रममा पनि उनले रेनकोट छाडेनन्। ‘निथ्रुक्क भिजेको हुन्थेँ। गर्मीले कतिपटक रिँगटा लाथ्यो। रेस्ट गर्थेँ, जीवनजल खान्थेँ। तर, रेनकोट फुकाल्दिनथेँ। आफू सुरक्षित भएमात्र बिरामीको सेवा गर्न सकिन्छ,’ उनले भने।

उनको ड्युटी अस्पतालमा मात्र सीमित थिएन। आफ्नै क्लिनिक पनि थियो। साँझ क्लिनिकमा पुग्दासमेत उनी रेनकोटमै हुन्थे।

कोरोना संक्रमणको पहिलो र दोस्रो लहरको करिब एक वर्ष उनले बिरामीको उपचार गर्ने क्रममा रेनकोट खोलेनन्।

चैत महिनामा तीनजना दिल्लीबाट आएका जमातमा कोरोना पुष्टि भयो। विभागीय बैठकमा कसरी काम गर्ने भनेर छलफलका क्रममा सबैले आ–आफनो विचार राखे।

कतिले चिठ्ठा तानेर काम गर्ने सम्म पनि भन्न भ्याए। डा. सिंह आफैं अगाडि सरेर नेतृत्व लिने तथा कोरोना महामारी नियन्त्रणका लागि चाहिने मापदण्ड तयार गर्न अग्रसर रहे।

त्यस समयमा बिरामीहरुमा लक्षण नै नदेखिने भएका कारण चिकित्सहरुमा अनेक किसिमका तनाव थपिएको थियो। त्यसको तीन महिनापछि बिरामीको छातीमा निमोनिया देखिन थालेको थियो। त्यसका सबै लक्षण कोरोनासँग सम्बन्धित भएको देखेर अस्पतालमा मात्र नभइ डा. सिंहले आफ्नो सामाजिक सञ्जालमार्फत नै सरहमा कोरोना देखिएको र फैलन सुरु भएको भन्दै जानकारी दिए।

सहरमा कोरोना फैलिँदै गएको र बिरामीहरु अस्पतालमा आउने क्रम बढ्न थालेपछि उनीलगायत अन्य चिकित्सकहरुले प्रशासन तथा प्रहरी उपरीक्षकलाई निषेधाज्ञा लागू गर्न पनि दबाब दिए। यही दबाबको महत्व बुझेर विराटनगरमा निषेधाज्ञा लागू गरियो।

संक्रमणका कारण आइसियुमा रहेका बिरामीहरुको अवस्था दयनीय बन्दै गएको थियो। बिरामी मात्र नभइ उपचार गर्ने स्वास्थ्यकर्मीहरु पनि बिरामी पर्न थालेका थिए।

‘आफ्नै सहकर्मीको स्वास्थ्य अवस्था जटिल भएर भर्ना हुन थालेपछि कमाण्डरका हैसियतले आफ्नो चुनौती झन् बढेको महसुस भयो। रोग यति बढेको थियो कि हेलिकप्टरलेसमेत बिरामी उठाउन मानेन,’ उनले भने।

नेपालमा रेम्डिसिभर औषधीको पनि हाहाकार नै भयो। महँगो भएका कारण गरिब जनताले किन्नै सकेनन् भने पैसा तिर्न सकेकाहरुसँग पैसा उठाएर भारतबाट महँगोमा औषधी किनेर चढाउन थालिएको थियो।

‘पैसा हुनेहरुले औषधी खरिद गरि आफ्नो स्वास्थ्यमा सुधार ल्याउन सफल भए तर, गरीबले औषधी किन्न नसक्दा आफ्नै अगाडि छट्पटाइरहेको देखेर मन खिन्न भयो’, उनले भने।

कोरोनाको दोस्रो लहरको रोकथाम, नियन्त्रण र बिरामीको व्यवस्थापन वीरगन्जमा राम्रो भएको डाक्टर सिंह बताउँछन्। ‘एक दिन नारायणीमा ११४ जना संक्रमित भर्ना हुँदा ११४ जनालाई नै हाइफ्लो अक्सिजनमा राख्नु परेको थियो। त्यस्तो भयावह स्थिति हाम्रो टिमले जीवनमा कहिल्यै देखेको थिएन,’ उनले भने, ‘दोस्रो लहर हामीले राम्रोसँग व्यवस्थापन गर्यौं।’

शारदा कुमारी चौधरी

उमेरले ५८ वर्ष लागेकी शारदा कुमारी चौधरी प्रसुती नर्स हुन्। भेरी अञ्चल अस्पतालमा कार्यरत उनी अस्पतालकी वरिष्ठ नर्सिङ निरीक्षक हुन्।

जीवनको २८ वर्षसम्म भेरी अस्पताल र लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा नर्स बनेर बिरामीको सेवा गरिन्। अवकास पाउन मात्र दुई वर्ष बाँकी रहँदा कोरोना

महामारीका बिरामीलाई उनी सेवा प्रदान गर्दै आएकी छिन्।

उनी हाल कोरोना वार्डकै इन्चार्ज भएर कार्य गरिरहेकी छिन्।

महिलालाई प्रसुती गराई बच्चा पाउन मद्दत गर्ने उनी एक्कासी महामारी आउँदा आफैंलाई सम्हाल्न समय लागेको बताउँछिन्।

पहिलो र दोस्रो लहरमा बिरामीको चाप उस्तै। अस्पतालको शय्यामा नअटाएर हलमा र भुईंमासमेत बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता आइपरेको उनी सम्झिन्छिन्।
आइसियु र भेन्टिलेटर नपाएर मानिसहरुको मृत्यु भएको आँखाले देख्दा नराम्रो लाग्ने उनी बताउँछिन्।

‘पहिले मानिस मरेको बेड नदिन भन्ने आग्रह आउँथ्यो। तर, यतिखेर यस्तो अवस्था पनि आयो कि, मानिसहरु कुनबेला शव उठाइन्छ र त्यहाँ आफ्नो बिरामी राख्न पाइएला भनेर कुरेर बस्थे। अस्पतालमा यस्तो अवस्था पनि आयो कि, बिरामी भर्ना प्रकृया पूरा गर्नु अगाडि नै शय्या बुकिङ गर्ने काम हुन थाल्यो।’, उनले भनिन्।

‘एउटा बेड खाली हुनेबित्तिकै बिरामीलाई हुत्याएर त्यहाँ राखिहाल्थे ता कि कसैले उक्त बेडमा हस्तक्षेप नगरुन्। अनि मात्र भर्नाको प्रकृया अघि बढाउँथे,’ उनी त्यो दृष्य सम्झिँदै भन्छिन्।

गर्मी ठाउँ अनि बिरामीको चापले बिरामी मात्र होइन उनीहरुलाई हेरचाह गर्ने चिकित्सक तथा नर्सहरु नै बेहोस भए। दैनिक ४–५ जना नर्स र चिकित्सकहरु बेहोस हुने गरेको चौधरीले सुनाइन्।

‘शिरदखि खुट्टासम्म ढाकेको पिपिइ, मास्क अनि गर्मीका कारण स्वास्थ्यकर्मीहरु पीडित भए। पसीनाले शरीर पुरै भिजेका हुन्छ, पानीमा डुबेर आएजस्तो अवस्था हुन्छ। आधा घण्टामात्र पिपिइ लगाएर बस्दा पनि चक्कर आउँछ।’, चौधरी भन्छिन्।

‘संक्रमित हुने डरसँगै बिरामीको चाप र रोदन सुनेर हैरान भइसकेका थियौं। त्यसमाथि गर्मीका कारण हाम्रो ऊर्जा नै सकिन्थ्यो। दैनिक कोही न कोही बेहोस हुन्थे,’ चौधरीले भनिन्।

एक दिन उनी आफैं बेहोस भइन्। नर्सहरुले पानी खुवाए र एकैछिन आराम गरेपछि हल्का महसुस भयो। उपचार सेवाका लागि जुम्लाबाट आएका चिकित्सक पनि गर्मीका कारण बेहोस भए। उनलाई पनि सम्हाल्नुपर्ने स्थिति आइलाग्यो।

भेरी अस्पतालका अधिकांश कर्मचारी तथा स्वास्थ्यकर्मीहरु दोस्रो लहरको कोरोनाको सिकार भए। कोही तीनपटक पनि संक्रमित भए।
अस्पतालले ५० जना स्वास्थ्यकर्मीहरु करारका लागि दरबन्दी थपेको थियो। जसमा केही संख्या अपुग त थियो नै, तर पदपूर्ति भए पनि स्वास्थ्यकर्मीहरुले छाडेर जान थाले।

चौधरीकाअनुसार नयाँ भर्ना भएका दुई नर्स काम छाडेर गए भने दुईजना काम गर्दागर्दै फर्केरै आएनन्।

‘आउन पनि कसरी, उनीहरुको ज्यान पनि जोखिममा छ। घर परिवारको दबाब पनि हुन्छ भने अस्पतालको हालत अनि बिरामीको चाप देखेर सबैको मनोबल कम हुँदै जान्थ्यो’ उनले भनिन्।

२८ वर्षदेखि नर्सिङ पेशा र सोही अस्पतालमा कार्यरत चौधरीले कहिलेकाँही यो पेशा किन रोजेँ भन्ने महसुससमेत हुने गरेको बताइन्। ‘बिरामीलाई मार्ने कि बचाउने निर्णय लिनुपर्ने अवस्था आएको थियो। यी सबै विवशता देखेर आफैंलाई तनाव हुन्थ्यो’, उनले भनिन्।

लामो समयसम्म बिरामीलाई सेवा दिइरहेको खुसी सबै कोरोनाले सकिन्छ भन्ने पीर छ उनमा। ‘अबको तीन वर्ष पनि बिरामीकै सेवामा रहने छु,’ उनले भनिन्।
बिरामीको सेवा गर्दागर्दै पनि बिरामीका आफन्तहरुले जस नदिएका कारण कहिलेकाँही उनलाई दुःख पनि लाग्छ।

‘कोरोना महामारीकै समयमा अस्पतालका डाक्टर तथा नर्सहरुले कुटाई खानु पर्‍यो। ज्यान जोगाउन अस्पतालको शौचालयबाट भाग्नु पर्ने अवस्था आयो। सरकारले यस्ता काम गर्ने मानिसलाई धरौटीमा छोड्यो।’, दुःखी हुँदै उनले भनिन्।

कोरोनाले आफ्नै सहकर्मी बिरामी भएक तथा मृत्यु भएका खबरले उनलाई निराश बनाउँछ। त्यस्तै, कर्मचारी अभावको दुःख पनि उत्तिकै भएको उनले बताइन्।

‘एक सिफ्टमा पाँचजना नर्स हुन्छन् भने उक्त समयमा उनीहरुले झण्डै ६० जना बिरामीहरुलाई हेर्नुपर्ने हुन्छ। गम्भीर भएका बिरामीलाई उनीहरुले मात्र हेर्न भ्याउँदैनन्। अस्पतालमा अक्सिजन, कर्मचारी तथा अन्य व्यवस्थापनका कमीले कोरोनाको दुवैै लहरमा मानिसहरुले ज्यान जोगाए। तर, महामारीले हामीलाई धेरै कुरा सिकाएको छ। यस्तो आपतकालीन समयमा हतारमा भएपनि स्वास्थ्य सेवा कति महत्वपूर्ण छ भन्ने सबैले बुझे भने आउँदो दिनमा देशका सबै स्वास्थ्य संस्था राम्रो हुँदै जाने आशा छ।’, उनले भनिन्।

डा. जगदीश जोशी

फेमिली फिजिसियन तथा आकस्मिक रोग विशेषज्ञ हुन्, डा. जगदीश जोशी। डोटीको दिपायल सिलगढी नगरपालिकास्थित उडितोलामा २०३६ साल असोज १४ गते पिता टेकराज र माता चित्रादेवीका कोखबाट जन्मेका डा. जोशीले २०५३ सालमा ऐश्वर्य विद्या निकेतनबाट प्रथम श्रेणीमा एसएलसी गरे। काठमाडौंको क्याम्पियन एकेडेमीबाट उनले प्लस टु पूरा गरे।

मेधावी डा. जोशीले एमविविएस अध्ययनपश्चात छात्रवृत्तिमा नाम निकालेर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमडी अध्ययन गरेका हुन्।
त्यसरी अध्ययन गर्दैगर्दा बेला–बेला काठमाडौंका विभिन्न अस्पतालमासमेत काम गरे।

तर, उनको भित्री इच्छा जन्मथलोकै लागि स्वस्थ्य सेवा गर्नुपर्छ भन्ने थियो। त्यही सोचबाट उनी गाउँ फर्के।

सुदूरपश्चिमको चिकित्सकीय यात्राका सुरुका दिनमा उनले अत्तरियास्थित पद्मा हस्पिटललगायत कैलालीका केही निजी अस्पतालमा पनि काम गरे।

२०६३ सालयता निरन्तर चिकित्सा क्षेत्रमा सक्रिय उनी सरकारी सेवामा लोकसेवा पास गरेर अहिले सेती अस्पतालमा कार्यरत छन्।
कोरोना महामारीमा उनको पनि आफ्नै अनुभव छ।

छिमेकी मुलुक भारतमा कोरोनाको आगो हुर्रिदै थियो। लकडाउनको हल्ला थियो। सुदूरपश्चिमबाट भारतमा रोजगारीका लागि गएकाहरु स्थलमार्गबाट नेपाल भित्रिइरहेका थिए। विश्वलाई त्राहीत्राही बनाइरहेको रोग नेपालमा पनि ढिलोचाँडो भित्रिन्छ भन्ने त थियो नै तर, पहिलो धक्का सुदूरपश्चिममै लाग्छ भन्ने धेरैले सोचेका थिएनन्।

तर, सुदूर नेपालको प्रमुख स्वास्थ्य सेवाप्रदायक अस्पताल सेती अस्पतालका चिकित्सकहरु जुनसुकै अवस्था आए पनि लड्ने तयारीमा जुटिसकेका थिए। स्थानीय तहमा उपलब्ध साधन स्रोतदेखि उपलब्ध जनशक्ति परिचालनका योजना पनि बनाउन सुरु भइसकेको थियो।

यी सबै काममा अग्रसर भएर कोरोना लडाईंमा सुदूरको मोर्चा सम्हाल्ने व्यक्ति हुन्, डा. जोशी। उनी दुई वर्षअघि लोकसेवाको प्रतिस्पर्धाबाट नाम निकालेर सेती प्रादेशिक अस्पतालमा इमर्जेन्सी विभाग प्रमुखका रुपमा आएका थिए।

डा. जोशीको भूमिका अहिले धेरै नै फराकिलो, चुनौतीपूर्ण र भरोसाको केन्द्र बनेको छ। उनी सुदूरपश्चिमभरि कोरोना शंकास्पदको परीक्षणदेखि आइसोलेसन, उपचारलगायतमा दिनरात खटिइरहेका छन्। उनीसँग त्यहाँ पहिल्यै मौजुदा जनशक्तिबाहेक सरकारले पछिल्लो पटक काठमाडौंबाट खटाएका स्वास्थ्यकर्मी पनि छन्।
फेबु्रअरीदेखि नै सेती प्रादेशिक अस्पतालमा भारत र अन्य मुलुकबाट फर्केकाहरु लक्षण लिएर वा विनालक्षण पनि आउने क्रम सुरु भइसकेको थियो।

बाहिरबाट हेर्दा संक्रमण नदेखिने त्यस्ता बिरामीको उपचार झन् चुनौतीपूर्ण हुन्छ। त्यतिबेला पर्याप्त व्यक्तिगत सुरक्षा सामग्री पनि थिएनन्। सामान्य मास्कका भरमा उपचार जोखिमपूर्ण थियो। तर, त्यतिबेला शंकास्पदको जाँच, परामर्शको विकल्प पनि थिएन।

आम सर्वसाधारणको त के कुरा चिकित्सक र स्वास्थ्यकर्मीमै पनि रोगबारे धेरै ज्ञान नभएको अवस्था थियो। सबैमा कोरोनाको मनोवैज्ञानिक त्रास मात्रै थियो। ‘सरकार नै तयार भइसकेको अवस्था थिएन,’ उनले भने, ‘विस्तारै सबैलाई कोरोनाका विषयमा बुझाउने काम ग¥यौं। तीनै तहका सरकार र सञ्चारमाध्यमले पनि यसमा सकरात्मक भूमिका खेले र, अहिले हामीलाई सहज बन्दै गएको छ।’

विस्तारै सुदूरपश्चिममा बिरामी बढ्न थाले। संक्रमितहरुको रेफर सेतीमै भयो। अस्पतालमा पनि एक÷दुई हुँदै पाँचजना बिरामी पुगे। अस्पताल प्रशासनले पूरानो भवनमा कोरोना उपचार कक्ष खडा गरेको थियो, २५ जनासम्मको उपचार हुने गरी।

तर डा. जोशीलाई चाहीँ टिम कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता थियो। उनले विस्तारै समूह बनाउँदै गए। अहिले ३५ जना चिकित्सक र अन्य स्वास्थ्यकर्मी गरि करिब एक सयजना जतिको टोली छ।

‘कोरोना संक्रमित देखिइसकेपछि हामीले द्रूत गतिमा काम गरेर अस्पतालको गेटमै स्क्रिनिङ ट्रायल राख्यौं। फिभर क्लिनिक अलग्गै राख्यौं, आइसोलेसन कक्षको स्थापना गर्‍याै। २४ घन्टा चिकित्सकलाई खटाउने माहोल बनाएका छौं।’, उनले भने। हतारको परिस्थिति सम्हाल्ने आँट चाहीँ उनलाई विगतको सिकाइले दिएको हो।

आकस्मिक कक्षको व्यवस्थापन अनुभवले उनलाई साथ दियो। प्रकोप व्यवस्थापनको योजना त थियो तर, कागजमा। त्यसलाई व्यवहारमा उतार्न चाहीँ सजिलो थिएन।
केन्द्र वा अन्य सुविधा सम्पन्न ठाउँबाट हेर्दा कोरोना संकट पहिलो चरणमै सामाना गर्न सुदूरपश्चिमलाई हम्मे पर्छ भन्ने धेरैको बुझाई थियो। तर, उनीसहित अस्पतालका चिकित्सकहरुको समन्वय र सहकार्यले आज सुदूरले कोरोनाको बिरामीको उपचार व्यवस्थापन सम्भव गराएर देखाएको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *