दोस्रो लहरकै कम संक्रमण, अस्पतालमा पनि बिरामी घट्दै

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा दोस्रो लहरकै सबैभन्दा कम संख्यामा कोरोना संक्रमितको भेटिएका छन्। शनिबार १ हजार २६८ कोरोना संक्रमित थपिएका छन्। यसअघि दोस्रो लहरको कम संक्रमण भदौं १३ मा १ हजार ३८८ जनामा संक्रमण पुष्टि भएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको देशभर गरिएको ६ हजार ७५३ नुमना परीक्षणमा १ हजार २६८ जनामा संक्रमण पुष्टि भएको हाे।

मन्त्रालयका अनुसार शनिबार ३१ हजार ८२६ सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा २ हजार १९५ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख २५ हजार ६५१ पुगेको छ।

उक्त अवधिमा ९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८१८ पुगेको छ।

शनिबार २९ हजार ६५८ जना होम आइसोलेसन र २ हजार १६८ जना संस्थागत आइसोलेसनमा छन्। जसमध्ये ५५४ जना आइसीयू र १७२ जना भेन्टिलेटरमा छन्।

अस्पतालमा शैया खाली हुँदै

पछिल्लो समय काठमाडौं उपत्यकाका सरकारी अस्पतालहरुमा कोरोना संक्रमित बिरामीको संख्या पनि घटेको छ। केही दिनयता अस्पतालमा भर्ना हुन आउनेको संख्यामा कम आएको चिकित्सकहरू बताउँछन्।

टेकु लगायतका काठमाडौंका उपत्यकाका प्रमुख अस्पतालमा दोस्रो लहर उत्कर्षमा रहेका बेला बेड भरिएर प्रांगणमा अस्थायी बेड राखेर उपचार गरिएको थियो। तर, आजभोली अस्पतालका शैयाहरू खाली हुँदै गएका छन्।

टेकु अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलका अनुसार संक्रमित भर्ना हुने संख्यामा धेरै कमी आएको छ।

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख कार्यकारी डा. भुपेन्द्र बस्नेतका अनुसार आईसीयू र भेन्टिलेटर कक्ष समेत खाली छन्।
तर, दोस्रो लहरलाई हेर्दा यो संख्या स्थिर नै रहेको उनको भनाई छ।

‘ काेराेना संक्रमितकाे संख्या घटेको देखिन्छ। तर, पुरै घटेको होइन। अहिले केहीदिनको तथ्यांकलाई हेर्दा स्थिर भएको देखिन्छ। नागरिकहरूको लापबार्ही पुन दोहोरिएको खण्डमा संक्रमण बढ्न सक्छ,’ डा. बस्नेतले भने।

हाल वीरमा ९० जना संक्रमित भर्ना भएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *