कोरोना जोखिमबीच खुल्न थाले विद्यालय (फोटोफिचर)

कोभिड–१९ को दोस्रो लहर फैलिएसँगै बन्द गरिएका विद्यालय जोखिम कायम हुँदै खुल्न थालेका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही भौतिक उपस्थितिमै सञ्चालन गर्न पाइने निर्णय गरेसँगै विद्यालयहरू खुल्न थालेका हुन्।

त्यसैगरी, उपत्यक बाहिरका स्थानीय तहले शिक्षक र अभिभावकसँग सल्लाह गरेर भौतिक कक्षा सुरु गरेका छन्। विद्यालय खुलाइए पनि स्वास्थ्य मापदण्डलाई पालना गरिएको विद्यालय सञ्चालकको भनाई छ।

स्वास्थ्य मन्त्रालयले विद्यालय पुनः सञ्चालन गर्दा कार्यविधिको परिपालना गर्न आग्रहसमेत गरेको छ।

कोभिडको दोस्रो लहर बढ्दै जाँदा वैशाख पहिलो सातादेखि नै विद्यालय बन्द गरिएका थिए । यो अवधिमा अनलाइन, टेलिफोन, घरदैलोलगायत वैकल्पिक माध्यमबाट पठनपाठन गरिएको थियो ।

सकिएको छैन जोखिम

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार ७१ जिल्लामा ४ सय भन्दा माथि सक्रिय संक्रमित रहेका छन्। २ सयदेखि ४ सयसम्म सक्रिय संक्रमित रहको जिल्ला एउटा र ५ वटा जिल्लामा १ सयदेखि २ सयसम्म सक्रिय संक्रमित रहेका मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।

संक्रमित र सक्रिय संक्रमितको संख्या घट्दै गए पनि जोखिम अझै कायमै रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ।

मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीकाअनुसार बालबालिका अझै पनि जोखिममै रहेका छन्। ‘जोखिमको अवस्था टरेको छैन। यता विद्यालय खोल्ने निर्णय भइरहेको छ। केही तल–माथि भयो भने त्यसको जिम्मेवारी कसले लिने? ’, उनले प्रश्न गरे।

‘बालबालिका अझै जोखिममा छन्। खोपको अवस्था नि त्यस्तै छ। सबै बालबालिकाको पहुँचमा खोप छैन। यस्तो अवस्थामा मन्त्रालयले विद्यालय खोलिहाल्न हतार गरिहाल्नुपर्ने अवस्था छैन। पूर्णरुपमा बालबालिकामा खोप नलाइएसम्म वैकल्पिक उपाय नै उपयुक्त हुने थियो तर, विद्यालय खोल्न हतार गरिँदैछ।’, अधिकारीले भने।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *