संक्रमितभन्दा संक्रमणमुक्त हुने बढे

हेल्थपोस्ट नेपाल

कोरोना भाइरस संक्रमितभन्दा आज संक्रमणमुक्त हुनेको संख्या बढेको छ। पछिल्लो २४ घण्टामा संक्रमितभन्दा संक्रममुक्त हुनेको संख्या करिब एक हजारले बढेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार दुई हजार ५२ जना संक्रमित भएका छन् भने तीन हजार ३० जना संक्रमणमुक्त भएका छन्। १४ हजार ९३५ जनामा परीक्षण गर्दा दुई हजार ५२ जनामा संक्रमण देखिएको हो। हाल सक्रिय संक्रमण ३४ हजार १८९ जना छन्।

अहिलेसम्म सात लाख १९ हजार ३३६ जना संक्रमणमुक्त भएका छन्। यस्तै संक्रमणमुक्त हुनेको दर पनि बढेको छ। आज नेपालमा सङ्क्रमणमुक्त हुने दर ९४.१ प्रतिशत पुगेको छ। यसभन्दाअघि ९३.९ प्रतिशत संक्रमणमुक्त भएका थिए।

यस्तै संक्रमणबाट विगत २४ घण्टामा २० जनाको ज्यान गएको छ। अहिलेसम्म १० हजार ७७० जनाको संक्रमणबाट ज्यान गएको छ। नेपालमा प्रति १० लाखमा ३६३ जनाको संक्रमणका कारणले निधन हुने गरेको छ।

मन्त्रालयको पछिल्लो विवरण अनुसार ५६३ जना सघन उपचार कक्ष, १७० जना भेन्टिलेटर, ३१ हजार ८१२ जना होमआइसोलेसन, दुई हजार ३७७ जना संस्थागत आइसोलेसन र ३११ जना क्वारेन्टिनमा छन्। नेपालमा संक्रमणको दर १९.५ प्रतिशत छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *