वीर अस्पतालमा टिकट लिन अब घण्टौं लाइन बस्न नपर्ने

हेल्थपोस्ट नेपाल

वीर अस्पतालमा उपचारका लागि घण्टौंसम्म टिकट लिन लाइन बस्नुपर्ने बाध्यता आजदेखि हटेको छ।

अस्पतालले आजबाट पुन: टोकन प्रणाली लागू गरेको छ।

झण्डै दुई वर्षदेखि बन्द भएको टोकन प्रणाली आजबाट लागू गरिएको अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले बताए।

केही वर्षअघि बस्नेत आफैं अस्पतालको निर्देशक हुँदा कुपन लिएर आफ्नो पालोमा टिकट लिने व्यवस्था मिलाएका थिए।

‘म हुँदा यो क्यू (लाइन) सिस्टम चलाएको थिएँ। तर, बीचमा व्यवस्थापन परिवर्तन हुँदा सिस्टम पनि बन्द भएको रहेछ। मानिसहरु घण्टौं लाइनमा बस्नुपर्ने बाध्यताका बारेमा मिडियामा आएपछि यसलाई पुन: संचालनमा ल्याएका हौं,’ उनले भने।

‘वीर अस्पतालको अवस्थाबारे सही चित्रण गरी हामीलाई सजग गराएकोमा आभारी छौं। हाम्रो कमजोरीप्रति लज्जित पनि छौं। यसै कुरालाई मध्यनजर गर्दै आजैबाट यो सिस्टम लागू गरेका हौं,’ डा. बस्नेतले भने।

त्यस्तै, अस्पतालले अन्य सेवासुविधामा पनि सुधार गर्न लागेको छ। अस्पतालले ल्याबहरुलाई अपग्रेड गरेर बिरामीको इमेल तथा मोबाइलमै रिपोर्ट पठाउने तयारी गरेको छ।

बिरामीलाई रिपोर्ट लिन अस्पताल धाइराख्न नपर्नेगरी मोबाइलमा पठाउने तयारी गरिएको उनले बताए।

त्यस्तै, अस्पतालले अर्को साताबाट मृगौला प्रत्यारोपण पनि सुरु गर्ने भएको छ। प्रत्यारोपणका लागि सम्पूर्ण तयारी भइसकेकाले अर्को साताबाट सुरु हुने उनले जानकारी दिए।

अस्पतालले २४ घण्टा नै पिसिआर परीक्षणको ल्याब संचालन गर्न लागेको छ।

अस्पतालको सर्जिकल वार्डमा ५० बेड आइसियु, १०० बेड एचडियु र ५० जेनेरल बेड संचालन भइरहेको छ। अस्पतालमा हाल ३० जना आइसियु, ५७ जना एचडियु र २४ जना जेनेरल वार्डमा उपचाररत छन्।

डा. बस्नेतले हाल अस्पतालमा शय्याहरु खाली रहेका कारण कोरोना संक्रमितलाई अस्पतालमा उपचार लिन आग्रह गरे।



Leave a Reply

Your email address will not be published. Required fields are marked *