कति आयो र कति आउँदै छ नेपालमा कोरोना खोप ?

हेल्थपोस्ट नेपाल

नेपालमा कोरोनाविरुद्धको खोप आउने क्रम जारी छ। हालसम्म कोभिसिल्ड, भेरोसेल तथा कोभ्याक्स कार्यक्रम अन्तर्गत अमेरिकाबाट जोनसन एन्ड जोनसनको खोप नेपालमा आयात भएको छ।

सरकारले असोज मसान्तसम्म एक तिहाई र चैतसम्ममा सबै नागरिकले खोप पाइसक्ने दाबी गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोप , स्वास्थ्य उकपरण खरिद र जनशक्ति व्यवस्थापन गर्न लागिपरिरहेको छ।

मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले खोपलाई प्राथमिकताको साथ राखेर काम गरिरहेको बताए।

‘केही दिनयता संक्रमण स्थिर भएको देखिन्छ। तर, कोरोना संक्रमण समुदाय स्तरमा गएकाले हामी जोखिममा नै छौं,’ डा. पौडेलले भने, ‘ निषेधाज्ञा खुकुलो र चाडपर्व सुरु भएसँगै आउजाउ बढेको र जनस्वास्थ्य सुरक्षा मापदण्ड लागू नगर्दा तेस्रो लहरको जोखिम नै हुन्छ।’

तेस्रो लहरलाई मध्यनजर गरेर मन्त्रालयले जनशक्ति तथा स्वास्थ्य उपकरण थप्न लागेको र खोप खरिद प्रक्रियालाई अगाडी बढाएको उनले जानकारी दिए।

हालसम्म कुनकुन खोप कति डोज आयो?

मन्त्रालयको तथ्यांक अनुसार १ करोड ३३ लाख ५८ हजार खोपको मात्रा नेपाललाई प्राप्त भइसकेको छ।

जसमध्ये भारतबाट कोभिसिल्ड १० लाख, चीनबाट भेरोसेल १८ लाख, जापनबाट १६ लाख, अमेरिकाबाट १५ लाख, गाभीबाट ३ लाख ४८ हजार मात्रा खोप अनुदानमा आएको छ।

कहाँबाट कति खोप आउँदैछ ?

नेपालले चीनबाट ५६ लाख र भुटानबाट २ लाख ३० हजार डोज खरिद गरेको छ।

मन्त्रालयले चीनबाट १६ लाख अनुदान र खरिद ४४ लाख डोज आउने क्रममा रहेको जनाएको छ।

त्यसैगरी, भारतबाट १० लाख कोभिसिल्ड केही समयभित्र आउनेछ।

गाभीबाट सुलभ मूल्यमा १ करोड ५० लाख आउने जसमा ४० लाख मोडर्नाको खोप विश्व बैंकबाट रकम भुक्तानी भइसकेको छ। बाँकी १ करोड १० लाखको लागि काम हुँदै गरेको मन्त्रालयले जनाएको छ।

त्यसैगरी, गाभीबाट निशुल्क अनुदानमा २० प्रतिशत जनसंख्यालाई प्राप्त हुने १ करोड १३ लाख डोज क्रमश प्राप्त हुनेछ।

हालसम्म कतिले खोप लगाए?

मन्त्रालयको पछिल्लो विवरण अनुसार ९० लाखले कोरोना विरुद्धको खोप लगाइसकेका छन्। जसमध्ये ५० लाख ६३ हजारले पहिलो र ४० लाख ५२ हजारले पूर्ण मात्राको खोप लगाइसकेका छन्।

पूर्ण खोप पाउने कुल जनसंख्याको १३ प्रतिशत नाघिसकेको मन्त्रालयले जनाएको छ।

तेस्रो लहरसँग जुध्न स्वास्थ्य उकपरणको अवस्था के छ?

मन्त्रालयले १८० भेन्टिलेटर थप गर्ने तयारीमा रहेको जनाएको छ। २०७७ मा ३२७ भेन्टिलेटर भएको थप गरेर ९०४ पुर्याएको जानकारी दिएको छ।

त्यसैगरी, सरकारी अस्पतालमा हाइ डिपेन्डेसी युनिट बेड २०७५ र निजीमा ७७८ गरी सञ्चालनमा ल्याइएको छ। १ हजार ४ सय थप गर्ने प्रक्रिया अगाडी बढेको जनाएको छ।

६ हजार ३ सय ७७ अक्सिजन सिलिण्डर थप गरिएको मन्त्रालयले तथ्यांकमा उल्लेख छ। यसका अतिरिक्त १९ वटा अक्सिजन प्लान्ट, २७ वटा अक्सिजन टंयाक थप तयारी छ।

बालबालिका जोगाउनका लागि तयारी

मन्त्रालयले बालबालिका लागि फाइजरको खोप पौषसम्म आइसक्ने जानकारी दिएको छ।

मन्त्रालयका एक उच्च अधिकारीका अनुसार १२ देखि १८ बर्ष उमेरसमूहका लागि पौषसम्ममा खोप नेपाल ल्याउने योजना गरेको बताए।

त्यसैगरी, कोरोना महामारीको तेस्रो लहर आएको खण्डमा बालबालिका बढी प्रभावित हुने भन्दै मन्त्रालयले स्वास्थ्य उपकरणको जडान प्रक्रियालाई तीब्रता दिएको छ।

बालबालिका लागि १८० भेन्टिलेटर सहित २५० आइसियू बेडको थप्ने कार्य अगाडी बढेको मन्त्रालयले जानकारी दिएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *