शुक्रबार दिउँसो कार्यकक्षमै छिरेर उनीमाथि युवाहरूको एउटा समूहले कालोमोसो फ्याँकेका थिए।
घटनापछि दोषीलाई कारबाही गर्न माग गर्दै डाक्टर तथा अस्पतालका स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन्। शनिबार पनि अस्पतालमा स्थानीय प्रशासनसँग छलफलहरू त भए तर पनि दोषी समातिएका छैनन्।
प्रहरीका अनुसार कालोमोसो दल्ने स्थानीय सर्जन परिवार, दिवस क्षेत्री र गणेश खड्काविरुद्ध उजुरी परिसकेको र उनीहरूको खोजी भइरहेको छ।
टाइफाइड एक जना बिरामीको ‘ब्लड कल्चर’ गर्ने सुविधा नभएको अस्पतालले जनाएपछि बिरामीका आफन्तसँग विवाद भएको थियो। त्यही विवादपछि केही युवाहरूले मेसु सिंहलाई कालोमोसो दलेका थिए।
डाक्टरमाथि कालोमोसो छ्यापेर दुर्व्यवहार गर्ने सर्जन परियार एमालेका कार्यकर्ता हुन्। उनी ओली निकट मानिन्छन्। परियार एमालेनिकट अनेरास्ववियुका जिल्ला अध्यक्ष पनि हुन्।
एमाले जिल्ला कमिटीले समेत दोषी जोसुकै भए पनि कानुनी कारबाहीको दायरमा ल्याउन भन्दै उनीहरूलाई जिल्ला कमिटी सदस्यसमेत नरहनेगरी कारबाही गरिएको भन्दै विज्ञप्ती जारी गरेको थियो।
उक्त घटनाको सबैतिर निन्दा भइरहेको छ। घटनालगत्तै नेपाल चिकित्सक संघले पनि तत्काल दोषीमाथि कारबाही गर्न माग गरेको थियो र घटनाको निन्दा गरेको थियो।
अहिले अस्पतालमा डायलाइसिस, प्रसुती र इमर्जेन्सी बाहेक सबै सेवाहरू बन्द भएका छन्। अस्पतालका सबै स्वास्थ्यकर्मीहरूले आइतबार बिहानैदेखि तुलसीपुर बजारमा विरोध जुलुस निकालेका छन्।
‘एकजना अस्पताल प्रमुखलाई आफ्नै कार्यकक्षमा यस्तो दुर्व्यवहार भयो अनि अरुको काम गर्ने मनोबल कसरी हुन्छ र?’ मेडिकल सुपरिटेन्डेन्ट डा. सिंहले भने ‘दोषीहरू त पत्ता लागिसकेका छन् तर प्रशासनले कारबाही गरेको छैन।’
सिंहले दोषीहरू पक्राउ नपर्दासम्म स्वास्थ्यकर्मीहरू काममा नफर्किने बताए।
Dosi lai karwahi hunuparchh.