राप्ती प्रादेशिक अस्पतालका प्रमुख डा. सिंहलाई कालोमोसो

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई बिरामीका आफन्तहरूले कालोमोसो दलेका छन्। शुक्रबार दिउँसो कार्यकक्षमै छिरेर उनीमाथि युवाहरूको एउटा समूहले कालोमोसो फ्याँकेका थिए।
घटनापछि अहिले अस्पतालका सबै डाक्टर तथा स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन्। दोषीमाथि कारबाही नभए सबै सेवा बन्द गर्ने चेतावनी उनीहरूले दिइरहेका छन्।
दाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार कालोमोसो दल्ने स्थानीय सर्जन परिवार, दिवस क्षेत्री र गणेश खड्काविरुद्ध उजुरी परिसकेको र उनीहरूको खोजी भइरहेको बताएका छन्।
टाइफाइड एक जना बिरामीको ‘ब्लड कल्चर’ गर्ने सुविधा नभएको अस्पतालले जनाएपछि बिरामीका आफन्तसँग विवाद भएको थियो। त्यही विवादपछि केही युवाहरूले मेसु सिंहलाई कालोमोसो दलेका थिए।