कतारमा सबैभन्दा बढी नेपाली श्रमिकको अचानक मृत्यु किन हुन्छ?

हेल्थपोस्ट नेपाल
कतारको चर्को घाममा ४० वर्षीय मन्जुर खाँ पठानले ट्रक चालकको रूपमा दैनिक १२ देखि १३ घण्टा काम गर्थे। आफ्नो क्याबिनमा एयर कन्डिसनिङ खराब भएको उनले आफ्नो मालिकलाई पटक-पटक भने। तर त्यसको सुनुवाइ भएन। सन् २०२१ फेब्रुअरी ९। उनी अचानक ढले। र एम्बुलेन्स आउनुअघि नै उनको मृत्यु भयो।

३२ वर्षीय सुजन मियाँ मरुभूमिको एउटा परियोजनामा पाइप फिटिङको काम गर्थे। उनका सहकर्मीहरूले उनलाई सन् २०२० सेप्टेम्बर ९ को बिहान ओछ्यानमा मृत अवस्थामा फेला पारेका थिए। सुजन मियाँको मृत्युको चार दिनअघि तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी थियो।

३४ बर्षीय तुलबहादुर घर्ती निर्माण कार्यमा थिए। ३९ डिग्री सेल्सियससम्मको तापक्रममा दश घण्टा काम गरेपछि सन् २०२० मे २८ का रात सुतेका उनी त्यसपछि कहिल्यै ब्यूँतिएनन्।

३४ बर्षीय सुमन मियाँले निर्माणकार्यमा संलग्न थिए। ३८ डिग्री सेल्सियससम्मको तापक्रममा लामो समय काम गरेपछि सन् २०२० फेब्रुअरी २२ का दिन उनको निधन भएको थियो।

३४ बर्षीय यमबहादुर राना विमानस्थल सुरक्षा गार्डका रूपमा काम गर्थे।यो काममा घाममा बाहिर लामो समय बसेर काम गर्नुपर्थ्यो।सन् २०२० फेब्रुअरी २२ का दिन कामको क्रममा उनको निधन भयो।

३४ बर्षीय मोहम्मद काओचर खान प्लास्टर गर्ने व्यक्तिको रूपमा काम गर्थे।सन् २०२० नोभेम्बर १५ का दिन आफ्नो ओछ्यानमा मृत अवस्थामा भेटिएका थिए।

बितेको दशकमा यस्ता हज्जारौं आप्रवासी कामदारहरूले कतारको मरूभूमिमा यसरी अकालमै ज्यान गुमाइरहेका छन्। तर कतार सरकारले भने ती मृत्युहरूलाई ‘प्राकृतिक मृत्यु’ वा ‘ह्रृदयघात’ भनेर ढाँटिरहेको छ।

आप्रवासी कामदारको मृत्युबारे कतार सरकारले अनुसन्धान नै नगरेको भन्दै एउटा अन्तर्राष्ट्रिय संस्था एमनेस्टी इन्टरनेशनले पीडित परिवारले न्याय नपाएको बताएको छ।

कतारले पर्याप्त अनुसन्धान नै नगरी यस्ता मृत्युहरू ‘प्राकृतिक कारण’ वा अस्पष्ट रूपमा परिभाषित हृदयघात भन्दै कसरी मृत्युका प्रमाणपत्रहरू जारी गरिरहेको छ भन्ने विषयलाई  एम्नेस्टीको नयाँ प्रतिवेदन इन द प्राइम अफ दियर लाइभ्सले उजागर गरेको छ।

एक जना प्रमुख प्याथोलोजिस्टले ‘अर्थहीन’ भनी वर्णन गरेका यी प्रमाणपत्रहरूले पीडित परिवारहरूलाई क्षतिपूर्ति दिने सम्भावनालाई अस्विकार गरेको छ। जसका कारण परिवारको कमाउने मुख्य जिम्मेवार व्यक्ति गुमाएपछि आर्थिक कठिनाइको सामना गरिरहेका छन्।

प्रमुख चिकित्सा विशेषज्ञहरूसँग परामर्श र हजारौंको मृत्युसम्बन्धी सरकारी तथ्याङ्कहरूको पुनरावलोकन गर्दै एम्नेस्टीले १८ वटा मृत्यु प्रमाणपत्रहरूको विश्लेषण गरेको थियो। त्यस्तै  ३० देखि ४० वर्ष उमेरको बीचमा मृत्यु भएका ६ जना पुरुष श्रमिकको परिवारहरूसँग अन्तर्वार्ता गरेको थियो।

‘आप्रवासी  श्रमिकहरूको मृत्युको मूख्य कारण छानबिन गर्न असफल हुनु भनेको कतारी अधिकारीहरूले केही महत्त्वपूर्ण सङ्केतहरूलाई बेवास्ता गरिरहेका छन् जसलाई सम्बोधन गरेको खण्डमा श्रमिकहरूको ज्यान जोगिन सक्दछ’ एम्नेस्टी इन्टरनेसनलका आर्थिक तथा सामाजिक न्याय प्रमुख स्टिभ ककबर्नले भने ‘यो बाँच्न पाउने अधिकारको उल्लङ्घन हो। उनीहरूले पीडित परिवारहरूको कानूनीउपचारको अधिकारलाई पनि अस्वीकार गरिरहेका छन् र तिनीहरूलाई अनुत्तरित प्रश्नहरूसहितको पीडादायी अवस्थामा छाडेका छन्।’

एम्नेस्टीले गरेको समीक्षामा कतारमा प्रवासी श्रमिकहरूको कारण नखुलाइएको मृत्युदर लगभग ७०प्रतिशत हुनसक्ने पाइएको छ।

 कारण नखुलाइएको मृत्युको दर 

एम्नेस्टी इन्टरनेसनलले सन् २०१७ देखि २०२१ को बीचमा कतारले जारी गरेको आप्रवासी श्रमिकहरूका लागि १८ जनाको मृत्यु प्रमाणपत्रको समीक्षा गरेको थियो। तीमध्ये १५ वटाले मृत्युको मुख्य कारणहरूबारे कुनै जानकारी प्रदान गरेनन्, त्यसको सट्टा ‘हृदयघात प्राकृतिक कारण’, ‘हृदयघात निर्दिष्ट नगरिएको’ र ‘प्राकृतिक कारणहरूले गर्दा श्वासप्रश्वाससम्बन्धी विफलता’ जस्ता शब्दहरू प्रयोग गरिएका छन्।

सन् २०१५ देखि विश्व कपको तयारीका लागि निर्माण कामा खटाइएका कामदारहरूको मृत्युबारे अभिलेखिकरण गरिएका ३५ मध्ये आधाभन्दा बढी मृत्युका रिपोर्टहरूमा यस्तै वाक्यांशहरू प्रयोग गरिएका थिए, जसले यस्ता घटनाहरूमा अर्थपूर्ण अनुसन्धान नभएको कुरा स्पष्ट गरेको एमनेस्टीले दाबी गरेको छ।

मृत्यु प्रमाणपत्रसम्बन्धी प्रमुख प्याथोलोजिस्ट तथा विश्व स्वास्थ्य संगठनको कार्य समूहका सदस्य समेत रहेका डा. डेभिड बेलीले भनेका छन्– ‘मुख्य कारण जनाउने थप व्यहोराबिनाका यी वाक्यांसहरूलाई मृत्यु प्रमाणपत्रमा समावेश गर्नु हुँदैन। वास्तवमा भन्ने हो भने अन्तमा श्वासप्रश्वास वा मुटुको विफलताले गर्दा नै सबै जनाको मृत्यु हुन्छ र मृत्युको कारण नखुलाइएको वाक्यांशहरू अर्थहीन हुन्छन्।’

आधिकारिक कतारी तथ्याङ्कका अनुसार सन् २०१० देखि सन् २०१९ को बीचमा सबै उमेर र पेशा समूहका १५,०२१ जना भन्दा बढी गैर-कतारीहरूको मृत्यु भएको छ तर अनुसन्धानको अभावमा मृत्युको कारणहरूको तथ्याङ्क अविश्वसनीय रहेको एम्नेस्टीले आफ्नो प्रतिवेदनमा भनेको छ।

द गार्जियनले गरेको एक अनुसन्धानमा समेत सन् २०१० देखि २०२० को बीचमा भारतीय, नेपाली र बंगलादेशी श्रमिकहरूको ६९प्रतिशत मृत्यु प्राकृतिक कारणले भएको खुलासा गरिएको थियो।

अचानक मृत्यु

यो अनुसन्धानका लागि एमनेस्टीले बंगलादेश र नेपालका श्रमिकका परिवारहरूसँग कुराकानी पनि गरेको थियो। एमनेस्टीले उनीहरूको मृत्युलाई पनि निकै गहिरोगरी केलाएको दाबी गरेको छ।

उसका अनुसार ती पुरुषहरूमध्ये कसैलाई पनि कुनै आधारभुत स्वास्थ्यसँग सम्बन्धित समस्या थिएन र कतार जानुअघि सबैजनाले अनिवार्य चिकित्सा परीक्षण गरेका थिए। कुनै पनि परिवारले क्षतिपूर्ति पाएका छैनन्।

कार्डियोलोजी नामक जर्नलमा प्रकाशित सन् २०१९ मा गरिएको एक अध्ययनले कतारमा नेपाली श्रमिकको गर्मी र मृत्युबीचको सम्बन्ध रहेको कुरा पत्ता लगाएको थियो। सन् २००९-२०१७ को अवधिमा भएको ५७१ जना आप्रवासी नेपाली श्रमिकहरूको मुटुको समस्याको कारणले भएका मृत्युहरूमध्ये २०० जति मृत्युलाई रोक्न सकिने निष्कर्ष निकालेको थियो।

हालसम्म कतारमा कामसँग सम्बन्धित तापको तनावविरुद्ध मुख्य सुरक्षाको लागि १५ जूनदेखि ३१ अगस्टको बीचमा केही घण्टामा घरबाहिर काम गर्न प्रतिबन्ध लगाइएको थियो। तर अरू वर्षमा भने कुनै प्रतिबन्ध थिएन।

सन् २०२१ मेमा कतारले गर्मीमा काम गर्ने समय प्रतिबन्धलाई १ जून देखि १५ सेप्टेम्बरसम्म बढायो। गर्मी र आद्रता ३२ डिग्री पुग्दा बाहिरी काम गर्न निषेध गर्नेलगायत अन्य आवश्यकताहरू लागू गरेको थियो। नयाँ कानूनले श्रमिकहरूलाई अत्यधिक गर्मी भएमा काम गर्न बन्द गर्ने र प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयमा गुनासो पेश गर्ने अधिकार पनि दिएको छ।

सन् २०१० देखि २०१९ को बीचमा कतारमा १५,०२१ गैर-कतारीहरूको मृत्यु भएको आधिकारिक तथ्याङ्कले देखाउँछ। यो कुरा काम गर्ने अवस्थाको कारण मूत्यु भएका आप्रवासी श्रमिकहरूको संख्यासँग मिल्दैन किनभने यसमा सबै उमेर र पेशाका मानिसहरू र कारणहरू समावेश गरिएका छन्।

सरकारी तथ्याङ्कमा पनि विश्वकपको तयारीमा कति श्रमिकहरूको मृत्यु भएको कुरा जनाएको छैन। सन् २०१५ देखि यता आफूले निरीक्षण गर्ने विश्वकप आयोजनामा ३५ श्रमिकहरूको मृत्यु भएको कुरा कतारको सुप्रिम कमिटी अन डेलिभरी एण्ड लेगेसीले बताएको छ। तर, अरू पूर्वाधार आयोजनाहरूमा कति श्रमिकहरूको मृत्यु भएको कुनै तथ्याङ्क छैन।



Leave a Reply

Your email address will not be published. Required fields are marked *