चोकचोकमा कोरोना परीक्षण

हेल्थपोस्ट नेपाल

 

निषेधाज्ञामा हिँडडुल गर्नेलाई सडकमै रोकेर एन्टिजेन विधिबाट कोरोना जाँच गर्न थालिएको छ। सोमबारदेखि सदरमुकामका चोकचोकमा एन्टिजेन जाँच भइरहेको हो।

बुधबार लोकतान्त्रिक चोकमा ९३ जनामा एन्टिजेनबाट कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिए।

उनका अनुसार बुधबार उपल्लाचौरमा २५ र सोमबार नारायणचोकमा ५० जनाको एन्टिजेनबाट परीक्षण गरिएको थियो। त्यसमध्ये नारायणचोकमा गरिएको परीक्षणमा एक जनालाई कोरोना पोजेटिभ देखिए पनि बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ।

‘एन्टिजेन परीक्षणलाई हरेक दिन निरन्तरता दिन्छौँ, बाटैमा जाँच गर्दा निषेधाज्ञामा बिनाकाम हिँडडुल गर्ने पनि निरुत्साहित हुन्छन्,’ खनालले भने।

यसअघि जिल्ला कोभिड–१९ सकंट व्यवस्थापन केन्द्रको बैठकले एन्टिजेन परीक्षणको दायरा बढाउने निर्णय गरेको थियो। कोरोना परीक्षण गर्न नमान्ने, हिच्किचाउनेलाई पनि सम्झाइबुझाइ गरेर परीक्षण गर्ने गरिएको छ। एन्टिजेन विधिबाट परीक्षण गर्दा तुरुन्त रिपोर्ट आउँछ। लक्षण भएका व्यक्तिमा मात्र एन्टिजेनले पोजेटिभ नतिजा देखाउने गरेको जनस्वास्थ्य अधिकृत खनालले बताए।

कोरोना सक्रमितको छिटो पहिचान र समुदायमा महामारीको स्थिति पत्ता लगाउन एन्टिजिन विधि उपयुक्त मानिन्छ।

जिल्लामा हालसम्म तीन हजार ४५५ को एन्टिजनबाट कोरोना जाँच गरिएको छ भने २२ हजार २८७ को पीसीआर विधिबाट परीक्षण गरिएको छ। कूल परीक्षणमध्ये सात हजार ४२१ मा कोरोना पुष्टि भएको छ। सक्रिय सक्रमितको संख्या भने ३७० मात्र छ। यहाँ कोरोना संक्रमणका कारण ६५ जनाको ज्यान गएको छ। संक्रमण जोखिम घटाउन गत साउन २८ गतेदेखि कडा निषेधाज्ञा जारी छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *