आजदेखि राति ८ बजेपछि पनि सवारी साधन चलाउन पाइने, निषेधाज्ञा भने लम्बियो

हेल्थपोस्ट नेपाल

काठमाडौं उपत्यकामा राति ८ बजेपछि सवारी साधन सञ्चालनमा लगाइएको रोक आजदेखि हटाइएको छ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा यसअघि व्यवस्था गरिएको ८ बजेसम्मको समयावधि आजदेखि हटाउने निर्णय गरेको हो।

यस्तै भदौ १६ गतेसम्म निषेधाज्ञा थपिएको छ। साउन २८ गतेदेखि भदौ ८ गतेसम्मको निषेधाज्ञाको आदेशमा उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा, ढुवानीका साधन र उपत्यका प्रवेश गर्ने सवारीसाधनबाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधन बेलुका ८ बजेभित्र गन्तव्यमा पुगिसक्नु पर्ने उल्लेख थियो।

थपिएको निषेधाज्ञामा बाँकी प्रावधान पूरानै छन्। निषेध आदेशमा विद्यालय, कलेज, ट्युसन सेन्टर, कोचिङ सेन्टर र तालिम केन्द्रसहितका शैक्षिक संस्थामा भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने व्यवस्था कायमै राखिएको छ।

यस्तै, पुजारीबाट हुने नित्यपूजाबाहेकका अन्या धार्मिक तथा सांस्कृतिक गतिविधिहरु सञ्चालन गर्न नपाउने, स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइनेछैन। चोक तथा खुला स्थानमा मानिसहरु भेला हुन, भिडभाड गर्न, सभा, जुलुस जात्रा, महोत्सव भोजभतेर आदि गर्न गराउन पाइनेछैन भने सबै प्रकारका सभासम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोराी, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसको भिडभाड हुने अन्य कार्यक्रम गर्न पाइनेछैन।

अत्यावश्यक वस्तुको अनलाइन अर्डर, रेस्टुँरा, एवं फास्टफुड तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरि प्रयोजनका लागि काठमाडौं उपत्यकाभित्र साँझ ८ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ।

औषधि तथा स्वास्थ्यसामग्रीसम्बन्धी पसलबाहेक अन्य पसल तथा व्यवसायहरु साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *