चौथो वर्ष प्रवेशः संकटमा परीक्षित सहकार्य

हेल्थपोस्ट नेपाल

स्वास्थ्यसम्बन्धी तथ्यपूर्ण सूचना र वैज्ञानिक ज्ञान प्रवाहीकरण गर्ने स्वास्थ्य क्षेत्रको विशिष्टिकृत अनलाइन हेल्थपोस्ट नेपाल डटकम तीन वर्ष गुजारेर चौथो वर्षमा प्रवेश गरेको छ।

जिम्मेवारी र विश्वसनीयताको कसीमा खरो उत्रिएर व्यावसायिक पत्रकारिता गर्दै आमपाठक, लेखक र विज्ञापनदाताको मन जित्नु आफैँमा सहज यात्रा पक्कै थिएन÷होइन। त्यसैमा झण्डै २० महिनादेखि जारी कोरोनाको वैश्विक महामारी हाम्रा लागि अवसर र र चुनौती दुवै थियो।

अवसर यस अर्थमा कि, संसारलाई नै कायल पारेको महामारीको सेरोफेरोमा यथोचित सूचना प्रवाह गर्दा पाठकहरुको मन झनै प्रगाढतामा जित्न सकिने भयो।

मानवताका लागि मिडियाले निर्वाह गर्ने कर्तव्य यस्ता संगीन अवस्थामा झनै सान्दर्भिक भएर आउँछ। महामारीका समयमा हेल्थपोष्टनेपाल टिमले गरेको मेहनतकै कारण आज यो पोर्टल नेपालका विषयगत अनलाइनमध्ये अगपंक्ति र स्वास्थ्य क्षेत्रकै चाहिं नम्बर एक साइट बन्न पुगेको छ। यो उपलब्धिको श्रेय हामी सबै पाठक, विज्ञापनदाता र शुभेच्छुकमाझ बाँड्न चाहन्छौं। र, सबैलाई धेरै धेरै धन्यवाद भन्न पनि चाहन्छौं।

पछिल्ला २० महिनाका कोरोना भोग्ने–बुझ्ने आम–उपक्रमबीच हामीले सचेतना, औषधिउपचार, खोपदेखि शासकीय क्षमता र जनस्वास्थ्य प्रणालीका यावत् आयाममा सूचना, विचार र विश्लेषणको अनवरत श्रृंखला चलायौं, चलिरहेकै छ। खास गरी खोपका विषयमा हामीले गरेको ‘प्रोएक्टिभ’ रिपोर्टिङ, कमिशन प्रकरणको पर्दाफाससम्मले हाम्रो विश्वसनियता चुलिएको छ।

तीन वर्षको गतिशील सिकाइले कतिपय हकमा ३० वर्षकै अर्थ राख्न सक्छ। यो अवधिले हामीलाई अझ के गर्न बाँकी छ भन्ने चेत खुलाउनु खास उपलब्धि हो। अबको यात्रा त्यो चेतअनुसार क्रियान्वित हुनु हो। यसलाई चुनौती मान्दा पनि खुसी छौं।

पछिल्लो समयको विश्व–वुझाईले ‘हेल्थ फस्ट’ भन्ने सत्यलाई खास महत्वका साथ उजिल्याएको छ। यसले स्वास्थ्यमा हेलचेक्रयाईं गर्न नहुने सबैभन्दा चर्को महसूसी राज्यहरुलाई गराएको हुनुपर्छ। समृद्ध र सुखी समाजका लागि स्वास्थ्य सुरक्षा नै पहिलो मानक हो भन्ने तथ्य पनि स्थापित भएको छ। हेल्थपोष्ट नेपालले अबका दिनमा यही बुझाई र तथ्यलाई अग्रभागमा राखेर आफ्नो यात्रा अगाडि बढाउनेछ। चौथो वर्ष प्रवेशसँगै हामी नयाँ साजसज्जाका साथ आएका छौं। आशा छ, नयाँ स्वारुप यहाँहरु अझै सहज र आक्रर्षक लाग्नेछ।

महामारीले स्वास्थ्य क्षेत्र आफैं पनि थला पर्‍यो। फ्रन्टलाइनर स्वास्थ्यकर्मीहरुले खेपेको अत्यास, पीडाको बखान गरिसाध्य छैन। व्यक्ति, संस्था र उद्योग सबै टिक्नै हम्मे हुने अवस्थाबाट गुज्रे, अझै गुज्रिरहेका छन्। यस्तोमा पनि हेल्थपोष्टनेपालले भने यथोचित माया र सहयोग पाइरहेको छ। स्वास्थ्य क्षेत्रका सबै पक्षले हेल्थपोष्टनेपाललाई समेटनै पर्छ, सम्झनै पर्छ भनेर जुन भाव देखाए त्यो स्तुत्य छ। र, आगामी दिनका सहकार्यका लागि त्यो सघन जग हो।

चौथो वर्ष प्रवेशका सन्दर्भमा हाम्रो अहिलेसम्मको यात्रामा साथ दिने सम्पूर्ण पाठक, लेखक, विज्ञापनदाता, आम स्वास्थ्यसेवी र आम नागरिकप्रति ह्रदय–अनुभूत कृतज्ञता व्यक्त गर्दछौं। निरन्तरता र आशावादिताले नै अमरत्व सम्भव तुल्याउँछ, हाम्रो सहकार्य पनि ठिक त्यस्तै हो। यहाँहरु सबैको सुस्वास्थ्यको कामना गर्दछौं।

अध्यक्ष
सुन्दर खनाल



2 thoughts on “चौथो वर्ष प्रवेशः संकटमा परीक्षित सहकार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *