के अब कोरोना भाइरस सङ्क्रमण हुनु खोप लगाउनुभन्दा उपयुक्त हो?

हेल्थपोस्ट नेपाल

प्राकृतिक रूपमा कोरोनाभाइरसको सङ्क्रमण भएपछि तथा खोप लगाइसकेको अवस्थामा तपाईँको प्रतिरक्षा प्रणालीमा उल्लेख्य भिन्नता हुन्छ।

कुन राम्रो हो त?

एक वर्षअघिसम्म यो प्रश्न सोध्नु पनि “पाप” जस्तो ठानिन्थ्यो जतिबेला पहिलो पटक कोभिड हुनु घातक हुन सक्थ्यो – विशेषतः वृद्धावस्थामा भएका र अस्वस्थ मानिसका लागि।

तर अहिले हामी शून्य प्रतिरोध क्षमताबाट सुरु गरिरहेका छैनौँ किनभने अत्यधिक मानिसले या त खोप लगाइसकेका छन् या उनीहरू कोरोनाभाइरसबाट सङ्क्रमित भइसकेका छन्।

यो एउटा गम्भीर प्रश्न हो जसबाट बालबालिकाले खोप लगाउनुपर्छ कि पर्दैन भन्ने विषयमा पनि प्रभाव पार्छ। अनि वयस्कलाई प्रतिरोध क्षमता बढाउन भाइरस वा बूस्टर खोप दिनुपर्छ कि पर्दैन भन्ने प्रश्न पनि जन्माउँछ। यी दुवै विवादित बनेका छन्।

“हामीले प्रत्येक वर्ष अतिरिक्त मात्रा दिएर कोभिडलाई परास्त गर्न सकिन्छ भन्ने सोच्यौँ भने आफूलाई अप्ठेरोमा पारिरहेको हुनेछौँ,” यूनिभर्सिटी अफ एडिन्बराका रोग प्रतिरोधी क्षमतासम्बन्धी विज्ञ प्राध्यापक एलानर राइली भन्छिन्।

यूकेका एक सरकारी खोप सल्लाहकार प्राध्यापक एडम फिनले विश्वको अरू कुनामा खोपको पहुँच नपुग्दै मानिसहरूलाई बढी मात्रामा खोप दिनु “असमानता मात्रै नभएर अलिकति विक्षिप्तता” पनि भएको बताए।

प्रतिरोध प्रणालीको संरचना

हामीले हाम्रो प्रतिरोध प्रणालीको प्रमुख संरचना र त्यसले आक्रमण गर्ने भाइरसबारे अझ केही बुझ्नुपर्ने हुन्छ।

शरीरलाई सङ्क्रमणबाट जोगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिरोध प्रणालीका एन्टिबडी र टी-सेल शक्तिशाली जोडी हुन्।

भाइरसको सतहमा टाँसिएर एन्टिबडीहरूले तिनलाई नष्ट गर्नुपर्ने सङ्केत दिन्छन्। टी-सेलहरूले भाइरसले हाम्रो कुन कोषलाई नियन्त्रण गरेको छ त्यसलाई पहिचान गर्छन् र ध्वस्त पारिदिन्छन्।

कोरोनाभाइरसले निम्त्याएका सबै समस्या आश्चर्यजनक रूपमा साधारण छ।

उक्त भाइरसको सतहबाट काँडेदार स्पाईक प्रोटीन निस्किएका हुन्छन् जसलाई भाइरसले मानवकोषभित्र प्रवेश गर्ने ढोकाको साँचोका रूपमा प्रयोग गर्छ। त्यसबाहेक भाइरससँग हाम्रा कोषमा नियन्त्रण कायम गर्न अन्य २८ वटा प्रोटीन र हजारौँ गुना विस्तार गर्ने क्षमता हुन्छ। (तुलनाका लागि, मानवको शरीर चल्न २० हजारवटा प्रोटीन आवश्यक पर्छ।)

खोप र भाइरसको प्राकृतिक सङ्क्रमणलाई तुलना गर्ने मूल रूपमा चारवटा क्षेत्र छन्।

चौडाइ

भाइरसलाई प्रतिरोधी प्रणालीले कतिसम्म आक्रमण गर्न सिक्छ

खोपभन्दा पनि भाइरसको सङ्क्रमणबाट तपाईँले व्यापक प्रतिरोध क्षमता हासिल गर्न सक्नुहुन्छ।

तपाईँले मोडेर्ना वा फाइजर वा अक्सफर्ड-अस्ट्राजेनेका जुन खोप लगाए पनि तपाईँको शरीरले स्पाइक प्रोटीनलाई पहिचान गर्न सिकिरहेको हुन्छ।

यो भाइरसविरुद्ध एन्टिबडी बनाउन पनि महत्त्वपूर्ण हुन्छ। परिणामस्वरूप धेरै मानिस अस्पताल जानुपर्ने अवस्था ननिम्तिने अभूतपूर्व परिणाम देखिएको छ।

तर अरू २८ वटा प्रोटीनलाई पनि निसाना बन्न दिनु टी-सेललाई धेरै जिम्मेवारी दिनु हो।

“यसको अर्थ यदि तपाईँसँग वास्तविक सङ्क्रमण थियो भने तपाईँको प्रतिरोध क्षमता कुनै नयाँ भेरिअन्टसँग अझ राम्रो हुनसक्छ किनभने एउटाभन्दा बढी स्पाइकविरुद्ध जुझ्ने क्षमता तपाईँसँग हुन्छ।”

शक्ति

कसरी यसले सङ्क्रमण रोक्छ र गम्भीर बिरामी हुनबाट जोगाउँछ

हामीलाई मानिसहरूलाई दुई पटक सङ्क्रमण भएका र खोप लगाएपछि पनि सङ्क्रमण देखा परेको घटनाहरू थाहा छ।

“दुवैले भाइरसको सङ्क्रमणबाट पूर्ण सुरक्षा दिँदैनन्। तर कुनै एकबाट तपाईँले प्राप्त गर्ने प्रतिरोध क्षमताले गम्भीर बिरामी हुनबाट तपाईँलाई राम्रोसँग जोगाउने देखिएको छ,” यूनिभर्सिटी अफ ब्रिस्टलका प्राध्यापक फिन भन्छन्।

सङ्क्रमण भएकोभन्दा खोप लगाएको एक महिनासम्म एन्टिबडीको मात्रा औसतमा बढी हुन्छ।

तर लक्षण नदेखिएका व्यक्तिहरू र गम्भीर लक्षणसहित कोभिड लागेका व्यक्तिहरूमा एन्टिबडीको मात्रामा ठूलो खाडल रहन्छ।

सबैभन्दा बलियो प्रतिरक्षा प्रतिक्रिया कोभिड लागेर त्यसपछि खोप लगाएका व्यक्तिहरूमा देखा परेको पाइन्छ। हामी खोप लगाएर त्यसपछि कोभिड लागेका व्यक्तिहरूको हकमा भने तथ्याङ्कहरू कुरिरहेका छौँ।

अवधि

सुरक्षा कति समय टिक्छ

एन्टिबडीको मात्रा समयक्रमसँगै घट्ने गरेको पाइन्छ तर गम्भीर प्रकारका बिरामी नियन्त्रणका लागि यसको महत्त्वपूर्ण अर्थ नहुन सक्छ।

प्रतिरोध प्रणालीले भाइरस र खोपलाई सम्झन्छ र सङ्क्रमण देखा पर्दा द्रुत ढङ्गले प्रतिक्रिया जनाउँछ।

शरीरमा “मेमरी टी-सेलहरू” हुन्छन् र बी-सेलहरू चनाखो भएर मागअनुसार प्रचुर मात्रामा नयाँ एन्टिबडी उत्पादन गर्न तयार भएर बस्छन्। सङ्क्रमण भएको एक वर्षभन्दा बढी अवधिपछि पनि प्रतिरोध प्रणाली कायम रहेको प्रमाण छ र खोपसम्बन्धी परीक्षणहरूले दीर्घकालीन लाभ देखाएका छन्।

“दिगोपनाका बारेमा हामीले अझै हेरिरहेकै छौँ,” लन्डनस्थित इम्पेरीअल कलेजका प्राध्यापक पिटर ओपन्श भन्छन्।

अवस्थिति

शरीरको कुन ठाउँमा प्रतिरोधी प्रणाली छ

यो अर्थपूर्ण छ। एन्टिबडीका विभिन्न समूहहरू नाक र फोक्सोमा रहेका छन् जसलाई इम्यूनोग्लोब्यूलिन एएस भनिन्छ। अनि ती हामीले रगतसँगै जाँच्ने इम्यूनोग्लोब्यूलिन जीएसभन्दा फरक छन्।

पहिलो प्रकारका एन्टिबीडहरू बढी महत्त्वपूर्ण छन् किनभने तिनले सङ्क्रमण रोक्ने काम गर्छन्।

प्रायः खोप सुईबाट पाखुरामा दिइन्छ।

प्राकृतिक सङ्क्रमण नाकमा हुने भएकाले यो ती एन्टिबडीसम्म पुग्ने उपयुक्त बाटो हुनसक्छ र अहिले नाकबाट दिने खोपहरूबारे पनि अनुसन्धान भइरहेको छ।

यूनिभर्सिटी अफ अक्सफर्डमा टी-सेलबारे अनुसन्धान गर्ने प्राध्यापक पोल क्लेनर्म्यान भन्छन्, “एउटै भाइरस भए पनि सङ्क्रमण भएको स्थानले फरक पार्छ, त्यही भएर हामी प्राकृतिक सङ्क्रमण र खोपबीच महत्त्वपूर्ण फरक हुने अपेक्षा गर्न सक्छौँ।”

यसले हामीलाई थप खोप र भाइरसबीचको सन्तुलनमा कहाँ उभ्याएको छ?

कुनै पनि खोपको मात्रा नलगाएका वयस्कहरूमा पनि पहिला उनीहरूमा कोभिडको सङ्क्रमण देखा परेको अवस्थामा दह्रो प्रतिरक्षा प्रणाली देखा पर्ने स्पष्ट प्रमाण देखिएको छ।

तर त्यसमा दुईवटा मुख्य प्रश्नहरू छन्।

  • के खोप लगाएका वयस्कहरूलाई अतिरिक्त मात्रा दिनुपर्छ वा भाइरससँगको सम्पर्क मात्र नै पर्याप्त हुन्छ?
  • के बालबालिकालाई खोप आवश्यक छ वा सङ्क्रमणको अवधिले बलियो प्रतिरक्षा प्रणाली निर्माण गर्छ?

अरू सङ्क्रमणजस्तै श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्ने आरएसभी नामक भाइरस वा अन्य चार प्रकारका कोरोनाभाइरस जसले मानिसमा रुघाखोकीको लक्षण देखिन्छ तिनमा नियमित रूपमा बाँचुन्जेल प्रतिरोधी क्षमता अभिवृद्धि गर्ने कुरा नौलो मानिँदैन।

प्रत्येक पटक तपाईँ भाइरसको सम्पर्कमा पुग्दा तपाईँको प्रतिरोध क्षमता अझै अलिकति बलियो बन्छ र वृद्धावस्थामा पुगेर निर्बल हुन नथाल्दासम्म जारी रहन्छ। त्यतिबेला सङ्क्रमणहरू फेरि समस्याकारी बन्न सक्छन्।

“यो प्रमाणित भइसकेको छैन तर मानिसहरूलाई खोप दिएर समय व्यतीत गरिरहनुभन्दा सङ्क्रमण हुन दिनु एकदमै धेरै सस्तो र सहज हुनसक्छ,” प्राध्यापक फिन भन्छन्।

उनले अन्यथा आवश्यक रहेको नहेरीकनै हामी ‘अतिरिक्त खोपको मात्रा दिइरहने अवस्थामा फस्नसक्ने’ चेतावनी दिए।

उनले बालबालिकाहरूको हकमा लडाइँ जितिसकिएको उल्लेख गर्दै “४० देखि ५० प्रतिशत सङ्क्रमित भइसकेपनि अधिकांश बिरामी नै नपरेको वा गम्भीर बिरामी नपरेको” उल्लेख गरे।

त्यसको विपक्षमा पनि तर्कहरू छन्। प्राध्यापक राइली बालबालिकामा दीर्घकालीन कोभिड भएको उल्लेख गर्छिन् भने ओपन्श भाइरसका कारण शरीरका विभिन्न अङ्गमा लामो समयसम्म समस्या देखा पर्नस क्ने उल्लेख गर्छन्।

तर प्रध्यापक राइली सङ्क्रमणपछि कोभिडको दुष्प्रभाव कम गर्न तथा प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउन खोपको प्रयोग उपयोगी हुनसक्ने बताउँछिन्।

उनले भनिन्, “हामीले पुनर्विचार गर्नैपर्छ, के हामीले मानिसहरूलाई तर्साइरहेका छौँ वा आत्मविश्वासपूर्वक आफ्नो जीवन अघि बढाउन भनिरहेका छौँ। हामी अहिले मानिसहरूलाई चिन्तित बनाउने अवस्थाकै नजिक छौँ।”

सङ्क्रमण फैलिरहँदा त्यति धेरै विकल्प पनि छैन।

“म यो अवश्यम्भावी छ कि छैन सोचिरहेको छु,” प्राध्यापक क्लेनर्म्यान भन्छन्, “यदि भाइरस निरन्तर फैलिइरह्यो भने अहिलेको बूस्टिङ प्रभाव जारी रहन्छ।”

बीबीसी



Leave a Reply

Your email address will not be published. Required fields are marked *