‘जिउँदो’ हुन लडिरहेका ‘मृतक’ हरूको कथा

हेल्थपोस्ट नेपाल

 

 

मानिसको मृत्युपछि जग्गामाथिको उसको सर्वाधिकार सकिन्छ। यसै कारण, भारतमा कतिपय जिउँदै मानिसलाई मृतकको रूपमा दर्ता गरिएको छ। र, अब उनीहरूको सम्पत्तिमाथि अरूले कब्जा जमाइसकेका छन्।

यसबारे जानकारी पाउँदासम्म उनीहरू निकै कठिनाइमा जकडिइसकेका हुन्छन्, जहाँबाट निस्कन ठूलो संघर्ष गर्नुपर्ने हुन्छ।

पदेसर यादव जीवित छन्। र, पूर्ण रूपले स्वस्थ्य पनि। सरकारी कागजमा आफ्नो मृत्यु भइसकेको थाहा पाएपछि उनलाई उदेक लाग्यो। पदेसर उमेरले ७० वर्ष कटिसकेका छन्। छोरी र ज्वाइँको मृत्युपछि दुईजना नातिहरूको पालन–पोषण गर्ने जिम्मेवारी पनि उनकै काँधमा आइपरेको छ। नातिहरू पढाउन उनले आफ्नो गाउँका केही पुख्र्यौली जग्गा बेचिदिए।

केही महिनापछि उनलाई एउटा फोन आयो।

फोनबारे उनी भन्छन्, ‘मैले जसलाई जग्गा बेचेको थिएँ, उसले फोन गरेर भन्यो–तपाईंमाथि मुद्दा दर्ता भइसकेको छ। उसले भन्यो–तपाईंको भतिजले सबैलाई भनिरहेको छ कि तपाईंको मृत्यु भइसकेको छ। र, कुनै धोकेबाजले जग्गा बेचिदिएको छ।’

फोन आएलगत्तै कोलकातामा बस्दै आइरहेका पदेसर दायाँबायाँ केही नहेरेर उत्तर प्रदेशको आजमगढस्थित आफ्नो गाउँ पुगे। गाउँमा उनलाई देख्ने सबैजना आश्चर्यमा परे।

आफ्नो त्यो अनुभवबारे उनी भन्छन्,‘सबैले मलाई यसरी हेरिरहेका थिए मानौं म कुनै भुत हुँ। कतिपयले भने- तपाईंको मृत्यु भइसकेको छ र अन्तिम संस्कार पनि भइसकेको छ।’

पदेसरका अनुसार भतिजोसँग उनको राम्रै सम्बन्ध थियो। उ प्रायः कोलकतास्थित उनको घर पुगिरहन्थे।

उनी भन्छन्,‘तर, जब मैले जग्गा बेच्ने कुरा गरेँ, त्यसपछि उसले छोडिदियो।’

भतिजोले उनको जग्गालाई आफ्नो पुख्र्यौली जग्गा भनिरहेको पदेरसले बल्ला थाहा पाएका छन्। यसबारे उनले आफ्नो भतिजोसँग पनि कुरा गरेका छन्।

पदेसर भन्छन्,‘मेरो भतिजोले भनिरहेको छ,‘मैले यो मानिसलाई कहिल्यै देखेको छैन। मेरो काकाको मृत्यु भइसकेको छ।’ मलाई ठूलो धक्का लाग्यो। मैले भने ‘म जिवीत छु, तिम्रो अगाडि उभिएको छु। तिमी मलाई कसरी चिनेनौं।’

भतिजोले जिवीति मानिसलाई मरिसकेको बताउन थालेपछि पदेसर कैयौं दिनसम्म रोइरहे। तर, आफूलाई सम्हालेर उनले ‘मृतक संघ’ अर्थात ‘एसोसिएसन फर द लिभिङ डेड अफ इन्डिया’ सँग सम्पर्क गरे।

मृतक संघको संघर्ष
‘मृतक संघ’ नामको संस्था लाल बिहारीले चलाइरहेका छन्। ६५ वर्ष कटिसकेका लाल बिहारी आफ्नो उमेरको एक तिहाइ जीवन मृत व्यक्तिका रूपमा बिताइसकेका छन्।

लाल बिहारीको जन्म एक गरीब परिवारमा भएको थियो। सात वर्षको उमेरमा उनी साडी बनाउने कालिगरसँग काम गर्न थाले। पढाइलेखाइको मौका नै उनले पाउन सकेनन्। २० वर्ष उमेर पुगेपछि छिमेकको सहरमा कपडा बनाउने आफ्नै काम सुरू गरे। काम सुरू गर्न उनलाई ऋणको खाँचो थियो। र, त्यसका लागि बैंकले सम्पत्तिको कागजात जम्मा गर्न भन्यो।

त्यसपछि उनी आमगढस्थित गाउँ खालिलावादको स्थानीय सरकारी कार्यालय पुगे, त्यस कार्यालयबाट आफ्नो पुख्र्यौली जग्गाको प्रमाण पाउने आसामा।

सरकारी कर्मचारीले कार्यालयको फाइलबाट लाल बिहारीको जग्गाको कागजात फेला पारे। तर, ती कागजातहरूकै बीचमा उनको मृत्यु दर्ताको प्रमाणपत्र पनि थियो। लाल बिहारीले रिसाउँदै ती कर्मचारीलाई भने यो सम्भव नै छैन, किनभने म यहाँ जिउँदै उभिइरहेको छु।

लाल बिहारी सम्झन्छन्,‘त्यो कर्मचारीले मसँग भन्यो कि म मरिसकेको भनेर कागजमा प्रष्ट लेखिएको छ।’

स्थानीय सरकारी कार्यालयमा बिहारीको मृत्यु दर्ताबाट प्रष्ट थियो, सबै पुख्र्यौली सम्पत्ति उनको काकाको नाउँमा गइसकेको थियो।

यो काम कर्मचारीको गल्तीबाट भयो कि उनका काकाले बेइमानी गरे बिहारीले आजसम्म सुइँको पाउन सकेका छैनन्। जे सुकै भएको होस्, तर यसको मार लाल बिहारीलाई नै झेल्नु प¥यो। उनको सबै काम बन्द भयो। परिवारसामु दुई छाक टार्ने संकट आइपुग्यो।

तर, लाल बिहारी विनालडाइँ झुक्ने मानिस थिएनन्। उनले थाहा पाइसकेका थिए कि यो लडाइँमा उनीमात्रै एक्ला छैनन्। देशभरमा हजारौं मानिस छन्, जसको जग्गा हात पार्न आफन्तले उनीहरूलाई मृत घोषित गरिदिएका छन्।

लाल बिहारी ‘मृतक’ का जुझारू संघर्ष

लाल बिहारीले त्यस्ता सबै मानिसलाई न्याय दिलाउन ‘मृतक संघ’ स्थापना गरे। एक अनुमानका अनुसार उत्तर प्रदेशमा मात्रै त्यस्ता मानिसहरूको संख्या करिब ४० हजार छ। तिनीहरूमध्ये अधिकांश ज्यादै गरीब, निरक्षर र पिछडिएका जातिका छन्।

साथै उनले आफ्नो नामका अगाडि ‘मृतक’ लेख्न सुरू गरे। अरू मानिसहरूसँग मिलेर उनले विरोध प्रदर्शन सुरू गरेपछि मिडियाले चासो लियो। तर, त्यसले खासै केही बदलिएन।

आफूलाई जीवित साबित गर्न लाल बिहारीले राज्यको चुनाव पनि लडे। उनको नाम मत–पत्रमा पनि छापियो। तर, त्यसबाट पनि स्थानीय अधिकारीले विश्वास गरेनन कि उनी जीवित नै छन्।

विरोध प्रदर्शनका क्रममा लाल बिहारी ‘मृतक’ ले तीनपटक भोक हड्तालमा बसे। उनको स्वास्थ्य पनि बिग्रियो।

अन्त्यमा लाल बिहारीले आफ्नो काकाका छोरालाई अपहरण गर्ने योजना बनाए। कानुन उल्लंघन गरेपछि प्रहरीले पक्राउ गर्ला र आफू जीवित रहेको साबित गर्न सकिने उनलाई लागेको थियो। किनभने कुनै मृत व्यक्तिलाई पक्राउ गर्न सकिँदैन। सम्भवतः प्रहरीले उनको योजनाबारे बुझिसकेको थियो। र, त्यो घटनामा प्रहरीले कुनै कारबाही नै अगाडि बढाएन।

अन्त्यमा लाल बिहारीले न्याय पाए। तर, त्यो उनको संघर्षका कारण भएको थिएन। बरू जुन व्यवस्थाका कारण उनको जीवनमा संघर्ष सुरू भएको थियो, त्यही व्यवस्थाले आफ्नो गल्ती सुधार गर्‌यो। आजमगढमा सरूवा भएर आएको एक जिल्ला अधिकारीले लाल बिहारीसँग घटेको घटनालाई सुरूदेखि छानबिन गर्न निर्देशन दिए। र, १८ वर्षको लामो लडाइँपछि लाल बिहारी सरकारी दस्तावेजमा फेरि जीवित भए।

लाल बिहारीका अनुसार ‘मृतक संघ’ को तर्फबाट उनले अहिलेसम्म देशभरका हजारौं मानिसलाई सहयोग गरेका छन्, जसले उनको जस्तै परिस्थितिको सामना गर्नु परिरहेको छ।

तर, हजारौं मानिसहरूमध्ये कतिपय लाल बिहारीजस्तै भाग्यशाली थिएनन्। वर्षौैंसम्मको संघर्षपछि भरोसा टुटिसकेका कतिपयले आत्महत्या गरे भने कतिपयको न्याय पाउनुअगावै मृत्यु भयो।

तिलक चन्द धाकडको त्यो सहयोग
बाल्यकाल मध्यप्रदेशमा बितेको ७० वर्षीय धाकड, डिलमा उभिएर खेत नियाल्छन्। उमेर बढ्दै गएपछि उनको स्वास्थ्यमा पनि समस्या देखिन थालिएको छ। उनलाई लागेको छ उनीसँग धेरै समय छैन। र, खेतमा सायदै डुल्न सक्छन्।

युवावस्थामा पैसा कमाउन सहर जानु पर्‌यो। आफ्ना बालबच्चालाई उनी राम्रो जीवन दिन खोजेका थिए। बाहिर रहेको बेला उनले आफ्नो जग्गा एक दम्पत्तिलाई खेतीका लागि भाडामा दिए।

कुनै दस्तावेजमा हस्ताक्षर गर्न गाउँ आएको बेला आफू खेतको मालिक नरहेको उनले थाहा पाए। किनभने उनलाई मृत घोषित गरिसकिएको थियो।

उनी सम्झन्छन्,‘स्थानीय सरकारी अधिकारीले भनेका थिए कि मेरो मृत्यु भइसकेको छ। मलाई विश्वास नै लागेन्।’

खेतीका लागि भाडामा जग्गा लिएका दम्पत्तिले नै उनलाई मृत घोषित गरिदिएका थिए। भाडामा खेती गर्ने व्यक्तिकी श्रीमती अदालतमा धाकडकी विधवाको रूपमा उपस्थित भएर भनेकी थिइन ‘म खुशीले यो जग्गा उहाँलाई दिइरहेको छु।’

हरेक घटना फरक

मृत घोषित गरिएका जीवित मानिसहरूको सैयौं मामिलामा वकलात गरेका वकिल अनिल कुमारका अनुसार, आजमगढ जिल्लामा मात्रै लाल बिहारीजस्तै कम्तिमा सयजना मानिसलाई जग्गा हासिल गर्ने उद्देश्यले मृत घोषित गरिएको छ।

हरेक मामिला अर्कोभन्दा फरक छ। कैयौंपटक यस्ता घटना विभागीय त्रुटीका कारण भएका छन् भने सरकारी कर्मचारीले घुस खाएर फर्जी मृत्यु प्रमाण पत्र दिने गरेको पनि पाइएको अनिल कुमार बताउँछन्।

सत्तारुढ भारतीय जनता पार्टीकी प्रवक्ता शाइना एनसीले सरकार भ्रष्टाचार नियन्त्रण गर्न कानुनलाई प्रभावकारी बनाउने दिशामा काम गरिरहेको दाबी गर्छिन्।

शाइना एनसी भन्छिन्,‘भारत एक विशाल र विविधिताले भरिएको देश हो। यहाँ तपाईंलाई केही विचित्र खाले घटना भेट्नसक्छ। तर, देशका अधिकांश मानिसले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सुदृढ शासन व्यवस्था पाइरहेका छन्।’

तर, अनिल कुमारका अनुसार, यसखाले घटना षडयन्त्र र फर्जीका कारण भइरहेको र पीडितले न्याय पाउन ठूलो संघर्ष गर्नु परिरहेको छ।
एक घटनाको उदाहरण दिँदै उनी भन्छन्,‘एकजनालाई जीवित साबित गर्न ६ वर्ष लाग्यो। र, जसले जग्गा हात पार्न फर्जी मृत्यु प्रमाण–पत्र बनाएका थिए, २५ वर्ष बितिसक्दा पनि फैसला आइसकेको छैन।’

‘फास्ट ट्र्याक’ अदालत बनाइओस्

अनिल कुमार भन्छन्,‘यस्ता घटनाहरूको सुनुवाइ फास्ट ट्र्याक अदालतमा गरिए जालजासी गर्नेहरूले सजाय पाउनेछन्। र, त्यसले गर्दा अरू पनि डराउने छन्।’

लाल बिहारीलाई मृत घोषित गरिउको ४५ वर्षभन्दा बढी समय बितिसकेको छ। र, पछिल्लो दुई दशकदेखि उनी जीवित मानिसका रूपमा जीवनयापन गरिरहेका छन्। तर, अहिले पनि उनी हरेक वर्ष आफ्नो दोस्रो जन्मदिन मनाउने गरेका छन्।

पाहुनाहरूसँग मिले उनी एक सुन्दर केक काट्ने गरेका छन्। केक काट्दा, त्यो केक हुँदैन, मात्रै एक सजावटी कार्ड बक्स हुन्छ। जुन पूर्ण रूपले खाली रहन्छ।

यसबारे लाल बिहारी ‘मृतक’ भन्छन्,‘भित्रबाट यो पूर्णरूपले खाली छ। केही सरकारी अधिकारी पनि यस्तै हुन्छन्– भित्रबाटै खाली र अन्यायी। म खुसियाली मनाउन यस्तो केक काट्ने गरेको छैन, बरू हामी कस्तो समाजमा बाँचिरहेका छौं, त्यो बताउन।’

लाल बिहारीका अनुसार उनीसँग सल्लाह लिन अहिले पनि भारतका विभिन्न भागबाट उनलाई मानिसहरूले फोन गरिरहेका हुन्छन्। तर, ६६ वर्ष पुगिसकेका लाल बिहारीमा पहिला जस्तो उत्साह अब छैन। उनी थाकिसकेका छन्। र, संघर्षबाट अवकाश लिनबारे सोचिरहेका छन्।

उनी भन्छन्,‘मसँग मृतक संघ चलाउन न पैसा छ, न ऊर्जा। र, यसलाई अगाडि बढाउने कुनै मानिस नै।’

आफ्नो जग्गा गुमाएका मानिसहरूका लागि राष्ट्रिय मिडियाले वकालत गरिदिने उनको भरोसा थियो। तर, त्यस्तो हुन सकेको छैन।

जुन मानिसले आफ्नो जीवनको १८ वर्ष आफूलाई जीवित साबित गर्न बिताइदिए, त्यो मानिस परिवर्तन हासिल नै नगरी मर्ने छन् जुन परिवर्तनका लागि उसले संघर्ष गरेको थियो। बिबिसीबाट



Leave a Reply

Your email address will not be published. Required fields are marked *