विराट मेडिकल कलेजमा चिकित्सा शिक्षा स्नातक तहमा भर्ना सुरु

हेल्थपोस्ट नेपाल

 

 

चिकित्सा शिक्षा आयोगले साउन ९ देखि १३ गतेसम्म लिएको प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएसँगै सरकारी तथा निजी कलेजहरु विद्यार्थी भर्ना लिनका लागि तयारी थालेका छन्।

प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याएका विद्यार्थीहरुलाई सरकारले दिने छात्रवृत्तिसँगै खुलातर्फ योग्यताका आधारमा विद्यार्थीले कलेज छान्न पाउँछन्।

देशभरि थुप्रै चिकित्सा शिक्षा अध्यापन गराउने कलेज छन्। जसमध्ये विराट मेडिकल कलेज टिचिङ अस्पताल, विराटनगरमा पनि यस वर्ष १०० सिटसहित एबिबिएस, बिएस्सी नर्सिङ र ब्याच्लर इन फिजियो थेरापीका लागि भर्ना खुलाएको छ। सन् २०१४ देखि चिकित्सा शिक्षा अध्यापन थालनी गरेको कलेजले सुरुवाती वर्षहरुमा

काठमाडाैं विश्वविद्यालयबाट एमबिबिएस तथा अन्य विषयका लागि ७५ वटा सिट प्राप्त गर्दै आएको थियो।

कलेजको गुणस्तरीय शिक्षणमार्फत पहिलो ब्याचलाई विश्वविद्यालयको परीक्षा र नेपाल मेडिकल काउन्सिलको परीक्षामा पनि शतप्रतिशत उत्तीर्ण गराउन सफल भएपछि आयोगले यस वर्ष थप सिट निर्धारण गरेको कलेजका लेखा अधिकृत धरणीधर भट्टराईले बताए।

केही समयअघि चिकित्सा शिक्षा आयोगको टिमले अस्पतालमा निरीक्षण गरेको थियो। अस्पतालको गुणस्तर, प्रयोगशाला, पुस्तकालय तथा कक्षाकोठाको आधारमा आयोगले सिट थप गरेको भट्टराईले बताए। भट्टराइले विद्यार्थीहरुलाई कलेज छान्दा विराट मेडिकल कलेजलाई निर्धक्कसँग छान्न आग्रह गरे। ‘हाम्रो कलेज सञ्चालनमा आएको ७÷८ वर्ष भए पनि अध्ययन तथा प्रयोगात्मक शिक्षामा कुनै कमी छैन। यहाँबाट अध्ययन गरेका पहिलो ब्याच शतप्रतिशत पास भएर गएका छन् भने नेपाल मेडिकल काउन्सीलमा पनि सहजै पास गरेका छन्’, उनले भने।

सरकारको नियमअनुसार कलेजले १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति कोटा तोकेको छ भने एमबिबिएसमा १०० सिट, बिएस्सी नर्सिङमा २० सिट र बिपिटिमा ३० सिट निर्धारण गरिएको छ। त्यस्तै, विदेशी विद्यार्थीका लागि ३३ प्रतिशत सिट निर्धारण गरिएको छ।

कलेजले भर्ना लिन थालेको वर्ष सन् २०१४ देखि २०१९ सम्म हरेक वर्ष २५ जना विदेशी भर्ना हुन आउने गरेका छन्। जसमा अधिकांश भारतबाट आउने गरेका छन्। भारतको तामिलनाडु, मणिपुर, देहरादुन, पञ्जाब, राजस्थानदेखि विद्यार्थी आउने गरेका छन्।

‘हाम्रो कलेजमा पढ्न भनेर पहिलो ब्याचमा राजस्थानी विद्यार्थी आएका थिए। एकजना विद्यार्थीले भारतको चिकित्सक दर्ताको परीक्षा पास गरेर रजिस्टर्ड डाक्टर भइसकेका छन्,’ भट्टराईले भने। कलेजले अन्य विषयका लागि पनि पहल गरिरहेको उनले बताए। त्यसका लागि पूर्वाधार तयारीमा लागेको उनले बताए।

‘नयाँ कलेज भएका कारण पूर्वाधार राम्रो रहेको छ। ट्रेनिङका लागि ५०० शय्याको अस्पताल छ। हामीसँग दुईवटा अस्पताल छन्। एउटा सिटी अस्पताल विराटनगरमा रहेको छ। जहाँ २०० शय्या र अन्य सेवा सुविधा उपलब्ध गराइएको छ। त्यस्तै, सिटी अस्पतालभन्दा ६÷७ किमीको फरकमा बूढीगंगा गाउँपालिकामा विराट मेडिकल कलेज शिक्षण असस्पताल रहेको छ। ३०० शय्याको अस्पतालमा बिरामीको घुइँचो लाग्ने भएका कारण विद्यार्थीलाई अभ्यास गर्न सहज भएको छ।’, उनले भने।

त्यस्तै, अस्पतालले अंकोलोजी युनिटसहितको अस्पतालको पूर्वाधार निर्माण गरिरहेको छ। उक्त अस्पताल ५०० शय्याको हुने र रेडियोलोजी, क्यान्सरका बिरामीका लागि सेवा प्रदान गर्ने योजना रहेको भट्टराईले बताए।



One thought on “विराट मेडिकल कलेजमा चिकित्सा शिक्षा स्नातक तहमा भर्ना सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *