महिलाको पनि दाह्रीजुँगा, शरीरमा रौँ! हर्मोनको गडबडी भयो कि?

हेल्थपोस्ट नेपाल

 

हर्मोन भनेको एक प्रकारको रसायन हो। यस्ता रसायन शरीरका विभिन्न अंगहरुमा रहेको विभिन्न ग्रन्थीबाट उत्पादन हुने गर्दछ। शरीरका विभिन्न अंग टाउकोदेखि पैतालासम्मलाई नियन्त्रण गर्ने यस्ता हर्मोन रगतको माध्यमद्वारा शरीरका प्रत्येक अंगमा पुगेर शरीरलाई चलायमान बनाउन तथा नियन्त्रण गर्न मद्दत गर्छ। यसले खानालाई शक्तिमा परिणत गर्ने, पाचन प्रक्रिया, तनाव, प्रजनन क्षमतालगायतलाई नियन्त्रण गर्ने काम गर्छ।

जसको काम पनि छुट्टाछुट्टै हुन्छ। जस्तैः घाँटीमा थाइरोइड ग्रन्थी, मष्तिष्कमा पिट्युटरी ग्रन्थी। प्याराथाइरोड ग्रन्थीले शरीरमा क्लासियमको लेबललाई व्यवस्थापन गर्छ। पिट्युटरी ग्रन्थीले चार÷पाँचवटा हर्मोन उत्पादन गर्छ।

थाइरोइड हर्मोनसँगै रहेको प्याराथाइरोइड ग्रन्थीले प्याराथाइरोड हर्मोन उत्पादन गर्छ। जसले शरीरमा क्यालसियमको मात्रा ठीक राख्छ।  त्यसैगरि, प्याङक्रियाज(आमाशय) ग्रन्थीले इन्सुलिन हर्मोन निकाल्छ। सोही हर्मोन कमी हुँदा मधुमेह रोग लाग्छ।

पुरुषमा टेस्टोस्टेरोन हर्मोनको उत्पादन हुन्छ। यो हर्मोनको गडबडी शरीरमा उर्जाको शक्तिमा कमी हुन्छ। त्यस्तै महिलामा डिम्बाशयमा हर्मोनको उत्पादन नभएमा निःसन्तान समस्या तथा महिनावारीमा गडबडी आउने गर्छ। विभिन्न ठाउँमा जुन–जुन हर्मोनको उत्पादन हुन्छ, प्रत्येक हर्मोनको छुटाछुट्टै काम हुन्छ। यहीसँग सम्बन्धीत रोगहरू पनि हुन्छन्।

हर्मोन गडबडी जन्मजात पनि हुनसक्छ

हर्मोन गडबडी जन्मजात पनि हुन्छ। उदाहरणको रूपमा हेर्दा मधुमेहको प्रकार–१ लगभग जन्मजातबाट हुन्छ। तर, मधुमेहको प्रकार–२ खानपान, जीवनशैलीको कारणले हुने हुन्छ। त्यसैगरी पिट्युटरी ग्रन्थीको गर्भावस्थामा शरीरको विकासको क्रममा कुनै पनि अंग विकास भएको छैन भने मानिसको उमेरसँगै कार्यक्षमता पनि ह्रास आउँछ। यस्ता  केसहरू कहिलेकाँही मात्र भेटिनसक्छ।

तनावसँग सम्बन्धित हर्मोनको गडबडी

तनावसँग विभिन्न हर्मोनको सम्बन्ध हुन्छ। शरीरमा तनाव हर्मोन हुन्छ।

मृगौलाको ठीक माथिपट्टी दुईवटा एड्रिनल ग्रन्थीबाट उत्पादन हुने रसायनलाई तनाव हर्मोन पनि भनिन्छ। जस्तै : कुनै प्रकारको रोग लाग्दा, दुर्घटना हुँदा, केही आश्चर्यजनक घटना घट्दा यस्ता विभिन्न कारणले मानिसलाई तनाव हुने हुन्छ।

तनावमा हुँदा शरीरकको केही सिस्टमलाई ठीक ठाउँमा राख्नुपर्ने हुन्छ। जस्तैः रक्तचाप नियन्त्रण, मुटुको कार्य क्षमता कमी हुनु हुँदैन। यस्ता सबै कुरालाई नियन्त्रण गर्न तनाव हर्मोनले काम गर्छ।

मानिसको बुझाई किन हर्मोन गडबडी किन थाइराइड र मधुमेहमा मात्रै सीमित 

सर्वसाधारणको बुझाइमा हर्मोन भनेपछि थाइराइड वा मधुमेह भन्ने मानसिकता छ। बिडम्बना के छ भने, हर्मोनको विशेषज्ञ डाक्टर भन्दा मानिसहरूले चिनिरहेका हुँदैन्। इन्डोक्राइनोलोजिस्ट परिचय दिनका लागि मधुमेह तथा थाइराइडको ट्याग झुन्डाउन पर्ने बाध्यता छ।

महिलाहरूको मुखतिर दाह्रीजुँगा आएको खण्डमा हर्मोन सम्म हो भन्ने मानिसमा बुझाइ छ। तर, हर्मोनको गढबडीका कारणले गर्दा रक्तचापको समस्या, हड्डी कमजोर हुने, बाँझोपन, तनावजस्ता समस्या देखिन्छ।

कोरोनाले पनि हर्मोनमा प्रभाव

कोरोना भाइरसको संक्रमणले हाम्रो शरीरका विभिन्न अंगहरू सुन्निने हुन्छ। जसका कारण अंगहरूले गर्ने कार्यक्षमतामा कमी आउने हुन्छ। जसकाकारण मधुमेह, थाइराइड, एडिनल ग्रन्थीमा समस्या निम्त्याउने देखाएको छ।

कोरोना संक्रमित व्यक्तिमा के पनि देखिएको छ भने, मधुमेह नभएका व्यक्तिमा पनि मधुमेहको समस्या देखिएको छ। खाना पचाउने क्षमता नर्मल, सुगर नर्मल, विगत तीन महिनाको सुगर नर्मल खालको व्यक्तिमा संक्रमण भएपछि मधुमेह भएको पाइएको छ।

त्यसैगरी, मधुमेह नियन्त्रण भएका व्यक्तिमा कोरोना संक्रमण हुँदा एकदमै अनियन्त्रणसम्म पुर्याउने गरेको छ।  कुनै व्यक्तिको थाइराइड एकदमै नर्मल अवस्थामा छ भने पनि संक्रमित हुँदा थाइराइड ग्रन्थी सुनिएर कार्यक्षमतामा पनि कमी ल्याउने औषधि खानुपर्ने अवस्थासम्म पुर्याएको छ।

कोरोना संक्रमितलाई अहिले अत्याधिक मात्रामा स्टेरोइड ग्लुकोकोर्टिकोइड चलाइएको छ। ग्लुकोकोर्टिकोइडले एडरेनल अभाव धेरै नै गराएको होला। तर, त्यसको पहिचान भएको छैन। स्टोरोइडको प्रयोगले क्याल्सियमको कमी गराउँछ।

यसको लक्षण रिंगटा लाग्ने, वान्ता आउने, भोक नलाग्ने, शरीरमा शक्ति नभएको महसुस हुने, केही मानिसमा मुख तथा हातगोडा सुनिएर आउनेजस्ता समस्या देखिन्छन्।
यदि कोही व्यक्ति कोरोनाबाट संक्रमणमुक्त भएका छन् भने माथिका तीनवटा चिजलाई जाँच गर्नुपर्छ।

महिला र पुरुषमा हुने हर्मोनको गडबडी

हाम्रो शरीरमा प्रतिरोधात्मक क्षमता(इम्युनिटी) बलियो भयो भने विभिन्न रोगसँग लड्न सक्छौं। इम्युनिटीले कामबाहिरको ब्याक्टेरिया भाइरसको आक्रमणबाट रक्षा गर्ने हो। इम्युनिटी कहिलेकाँही भ्रमित भएर शरीरका विभिन्न अंग(थाइराइड, प्याङक्रियाज) लाई चिन्न सकेको हुँदैन, जसलाई ‘अटो इम्युन डिस्ट्रक्सन’ भनिन्छ।

यस्ता प्रकारका रोगहरू पुरुषहरूको तुलनामा महिलामा बढी हुन्छ। किनभने इम्युनिटी प्रत्यक्ष रूपमा हर्मोनसँग सम्बन्धित हुन्छ। हर्मोन तल–माथि हुनेवित्तिकै इम्युनिटीलाई पनि प्रभाव पर्ने हुन्छ।

महिलामा हर्मोन परिवर्तन पुरूषको तुलनामा बढी हुन्छ। शरीरमा हर्मोनको भूमिका महत्वपूर्ण हुने भएकाले यसमा सामान्य परिवर्तन हुँदा पनि स्वास्थ्यमा समस्या देखिन्छ।

महिलामा हर्मोनले गडबडीका कारण हुने मुख्य समस्या पोलिस्टिक ओभरी सिन्ड्रोम हो। महिलामा सामान्यतः महिनावारीको समयमा, गर्भावस्था, महिनावारी बन्द हुँदा हर्मोनमा परिवर्तन देखापर्छ। तर, पुरूषमा भने यौवनावस्थामा मात्र हर्मोन परिर्वतन हुन्छ। जस्तै यौवनावस्थामा पुरूषको उचाई बढ्ने, आवाज परिवर्तन हुने हुन्छ।

महिलाहरूको महिनावारी प्रक्रिया हरेक महिनापिच्छे हुन्छ। जसमा ‘साइकल’ रुपमा हर्मोनको परिवर्तन भइरन्छ।

समाजमा थाइराइडको शब्द व्यापक प्रयोग भएको छ। मलाई थाइराइड भयो, मेरो थाइराइड देखियो, मलाई थाइराइड बढेको छ भन्ने शब्द प्रयोग भइरहेको छ। यी सबै कुरा गलत हो।

थाइराइड ग्रन्थीबाट हर्मोन उत्पादनमा कमी भएका बेला यस्तो प्रतिक्रियास्वरूप पिट्युटरी ग्रन्थीले ‘टिएसएच’ अत्याधिक मात्रामा उत्पादन सुरू गरेका कारणले रगतमा बढेको देखिएकाले मेरो थाइराइड बढेको छ भनेर सर्वसाधारणले भन्ने गरेका छन्।  यो थाइराइड बढेको, देखिएको, भएको होइन। थाइराइड हर्मोन कमी भएर ‘टिएसएच’ बढेको हो।

जटिलता

शरीरमा हर्मोन बढी हुनु वा कम हुनुलाई नै हर्मोनको असन्तुलन भनिन्छ। व्यस्त जीवनशैली, गलत खानपान तथा तनावका कारण हर्मोनको गडबडीको समस्या तीव्र गतिमा बढीरहेको छ।

उमेर तथा विशेष परिस्थितिका कारण शरीरमा हर्मोनको उत्पादनमा थोरै तलमाथि हुनु सामान्य हो। तर, शरीरमा असामान्य तरीकाले हर्मोनको उत्पादन कम वा बढी हुनुले स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउन सक्छ।

हर्मोनको गडबडीका कारण महिलामा महिनावारीमा गडबडी हुने, कपाल झर्ने, दाह्रीजुँगा आउने वा शरीरका अन्य अंगमा रौँ देखिने, छालामा सुक्खापन आउने, यौनाङ्ग सुक्खा हुनेजस्ता समस्या देखिन्छन्।

शरीरमा चिसो वा तातोको संवेदनशीलता बढेर जाने, कब्जियत हुने वा पखाला लाग्ने, छाला सुक्खा हुने, छोटो समयमा तौल घट्ने, मुटुमा समस्या देखिने, मांसपेशीमा समस्या हुने, छिटोछिटो पिसाब लाग्ने, जोर्नीमा समस्या आउने, कपाल झर्ने, छिटो भोक लाग्ने वा खान मन नलाग्ने, चिन्ता तथा डिप्रेसनको समस्या देखिने, दृष्टिमा समस्या, बाँझोपनजस्ता समस्या देखिन्छन्।

रोकथाम

प्रत्येक हर्मोन असन्तुलनको लक्षण फरक देखिने गर्छ। लक्षणअनुसार पनि शरीरमा हर्मोन असन्तुलनको अवस्था थाहा पाउन सकिन्छ। हर्मोनको अवस्था पत्ता लगाइसकेपछि त्यसलाई सन्तुलनमा ल्याउन सकिन्छ।

कुन हर्मोन गडबडी भएको हो सोहीअनुसारका औषधि आवश्यक हुन्छ। अटो इम्युन हो भने जीवनभर नै औषधि खानुपर्छ। त्यसैगरी, जीवनशैलीसँग सम्बन्धित छ भने केही समयमात्रै औषधि सेवन गर्दा समस्या निर्मुल गर्न सकिन्छ।

जीवनशैलीमा परिवर्तन ल्याउन सकेमा हर्मोनमा आउने असन्तुलनलाई नियन्त्रण गर्न सकिन्छ। स्वस्थ खानपान, प्रशस्त व्यायाम, पर्याप्त निद्रा र तनाव व्यवस्थापन गरेर हर्मोन गडबडीको समस्याबाट टाढा रहन सकिन्छ।

(कुराकानीमा आधारित)

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *