काभ्रेमा कोरोनाबाट चार महिनामा १३७ को मृत्यु, १० हजार संक्रमित

हेल्थपोस्ट नेपाल

 

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएयता चार महिनाका अवधिमा काभ्रेमा १३७ संक्रमितको मृत्यु भएको छ। यही अवधिमा जिल्लामा १० हजारभन्दा बढीमा संक्रमण देखिएको तथ्यांकले देखाएको छ।

गत वर्ष कोरोनाको पहिलो चरणमा १४ महिलासहित ४५ संक्रमितको मृत्यु भएको थियो। उक्त अवधिमा ३ हजार ४५० मा संक्रमण पुष्टि भएको जिल्लास्थित कोभिड-१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी) को तथ्यांकमा उल्लेख छ। गतअसार महिनामा नगन्य मात्रामा कोरोना संक्रमणबाट मृत्युको घटना भए पनि साउनमा मृत्युदर बढेको थियो।

हालसम्म जिल्लाका १३ हजार ६६५ मा संक्रमण देखिएकामा १८२ को मृत्यु भएको छ। यसमध्ये करिब साढे ३ हजार गत वर्षका संक्रमित हुन् भने १० हजारभन्दा बढी संक्रमणको दोस्रो लहर सुरु भएयताका हुन्। हालसम्मका कूल संक्रमितमध्ये ९५ प्रतिशत अर्थात् १२ हजार ९४० संक्रमणमुक्त भइसकेका छन्। पछिल्लो केही हप्तादेखि संक्रमण र मृत्युदर बढ्न थालेपछि गत साउन २५ गतेदेखि यही भदौ ३ गतेसम्म निषेधाज्ञामा थप कडाइ गरिएको छ।

हाल दैनिक संक्रमणदर ५० देखि १०० को हाराहारीमा रहेको केन्द्रको तथ्यांकले देखाएको छ। पहिलोपटक विसं २०७७ जेठ १ गते जिल्लाको धुलिखेल अस्पतालमा उपचारार्थ सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाबाट मृत्यु भएको थियो। नेपालमा यो पहिलो घटना हो।

कोरोनाको दोस्रो लहरमा द्रुतगतिमा संक्रमण जिल्लास्थित समुदायमा फैलिएका कारण धेरै संख्यामा संक्रमण र मृत्यु भएको केन्द्रले जनाएको छ।

यसैबीच, जिल्लामा हाल ५४४ सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी बनेपा नगरपालिकामा १ हजार २४९, धुलिखेलमा १३७, पनौतीमा ५९, पाँचखालमा ६३, नमोबुद्धमा ७४, मण्डनदेउपुरमा ३४ तथा रोशी गाउँपालिकामा दुई, चौँरीदेउरालीमा दुई, तेमालमा चार, भुम्लुमा चार, खानीखोलामा एक, बेथानचोकमा ११ र महाभारत गाउँपालिकामा चार सक्रिय संक्रमित रहेका केन्द्रले जनाएको छ। रासस



Leave a Reply

Your email address will not be published. Required fields are marked *