खोपमा अव्यवस्थाः स्वास्थ्यकर्मीका लागि भनेर राखिएको कोभिसिल्डको म्याद सकिने अवस्थामा
भारत सरकारले अनुदानमा दिएको तथा नेपाल सरकारले खरिद गरेको ‘कोभिशील्ड’ खोप खेर जाने भएको छ।
गत वर्ष नै ल्याइएको खोपको म्याद सकिन अब दुई हप्ता मात्र बाँकी रहेको छ।
तर म्याद सकिन लाग्दा पनि दोस्रो मात्रा खोप लगाउन पर्खिरहेका नागरिकलाई सरकारले खोप वितरण गर्न सकिरहेको छैन।
गत वर्षको माघमा भारतले नेपाललाई १० लाख कोभिशील्ड खोप अनुदानमा दिएको थियो।
त्यस्तै, सरकारले सिरम इन्सिच्युटसँग २० लाख खोप खरिद गरेको थियो जसमा १० लाख खोप अझै पनि आउन बाँकी छ। त्यस्तै, उक्त खोप भारतले नेपाली सेनाका लागि भनेर एक लाख अनुदानमा दिएको थियो भने कोभ्याक्स फेसिलिटिबाट तीन लाख ४८ हजार अनुदानबाट प्राप्त गरेको थियो।
नेपालले हालसम्म कूल २४ लाख ४८ हजार कोभिशील्ड खोप नेपाल भित्राएको छ।
कोभिशील्ड खोप स्वास्थ्यकर्मी, सफाईकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा जेष्ठ नागरिकहरु गरी झण्डै १७ लाख मानिसले पहिलो मात्रा खोप प्रदान गरिएको थियो।
जेष्ठनागरिक बाहेक अन्य ४ लाख पेशाकर्मीहरुले दोस्रो मात्रा खोप लगाए भने १३ लाख जेष्ठ नागरिकहरुलाई दोस्रो मात्रा लगाउन खोप पुगेन।
सरकारले बाँकी रहेका स्वास्थ्यकर्मीहरुलाई खोप लगाउने भन्दै झण्डै दुई लाख खोप बाँकी राखेको थियो।
सबै स्थानीय तहहरुमा पनि खोप पठाइएको थियो। तर कुन ठाउँमा कति खोप लगायो र कति खोप बाँकी छ भनेर सरकारसँग यकिन तथ्याङक छैन।
बाँकी रहेका खोपको पनि म्याद सकिने अवस्थामा पुगेको छ तर यसलाई लगाउने केही पनि व्यवस्था नभएको एक स्रोतले जनाएको छ।
पोखरामा खोपको म्याद सकेर खोप खेर गएको छ भने अबको दुई हप्तामा ती सबै खोपको म्याद सकिन्छ।
‘जनस्वास्थ्य कार्यालय ललितपुरमा अझै पनि ८० भायल खोप बाँकी छ भने ललितपुर महानगरपालिकामा २० भायल बाँकी छ। एक भायलमा १० जना व्यक्तिले लगाउन पुग्ने खोप हुन्छ। यसअर्थ, ललितपुरमा मात्र एक हजार व्यक्तिलाई लगाउन पुग्ने खोप बाँकी छ,’ नाम नबताउने सर्तमा श्रोतले बताए।
कोभिशील्ड खोप कहाँ कहाँ कति बाकीँ छन् यसको तथ्याङक संकलन नै गरिएको छैन। विभागसँग यसको कुनै जवाफ छैन।
त्यस्तै पहिलो खोप कोभिशील्ड लगाउने गाउँहरुमा दोस्रो खोप लगाएको पनि पाइएन।
कति मानिले कोभिशील्ड पहिलो मात्रा लगाएर दोस्रो खोप भेरेसेल लगाएका छन् भने कतिले लगाएका पनि छैन, उनले भने।
देवघाट गाउँपालिकामा झण्डै ६७० मानिसले कोभिशील्ड खोप लगाएका थिए तर उनीहरु मध्य ३५० जनाले मात्र दोस्रो मात्रा खोप लगाएका छन् भने आधा संख्याले दोस्रो मात्रा खोप नै लगाएका छैनन्।
यसको अर्थ अझै ३० भाइल खोप उक्त गाउँपालिकामा बाँकी नै छ।
‘देशभर ७५३ गाँपालिका तथा नगरपालिकाहरु रहेका छन्। उनीहरुसँग पक्कै पनि खोप बाँकी छ। ती खोपहरुलाई व्यवस्थ्ति गरे हजारौंलाई खोप लगाउन पुग्छ,’ उनले भने।
सरकारले नीतिगत निर्णय गर्न नसकेको तथा खोप व्यवस्थापन राम्ररी गर्न नसकेको कारण खोप खेर जाने अवस्थामा छ।
अतिआवश्यक सेवामा रहेका व्यक्तिहरु जस्तै, यातायात चालक, टेम्पु, गाडी, टिप्पर, ट्रक, पानी तथा तेल ओसार्ने गाडीका चालकहरुलाई व्यवस्थापन गरी खोप दिन सकिन्थ्यो। तर व्यवस्थापनको कमीले कयौं खोप खेर जाने भएको छ, उनले भने।