मध्यपुर थिमीमा ‘मास्क लगाऔं,एक अर्कालाई बचाऔं’ अभियान सुरु

हेल्थपोस्ट नेपाल

 

मध्यपुर थिमीमा ‘मास्क लगाऔं एक अर्कालाई बचाऔं’ भन्ने नाराका साथ नेपाल मास्क कार्यक्रम सुरु गरिएको छ। आज मध्यपुर थिमीमा दुई पोखरीमा मास्क लगाऔं अभियान सुरु गरिएको हो।

कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले यो कार्यक्रम ललितपुरमा पनि सुरु भएको जानकारी गराए। ‘अहिले सबैसँग मास्क छ तर, कसैको मास्क हातमा, कसैको चिउँडोमा र कसैले खल्तीमा राखेर हिड्ने गरेका छन्। त्यसैले स्वयमसेवकहरुले सबैको घरघरमा गएर मास्क कसरी लगाउने भन्नेबारेमा सिकाउनु एकदमै महत्वपूर्ण हाे,’ उनले भने।

कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना भाइरस दिनदिनै बढ्दै गएको कारणले नेपाल मास्क अभियान मध्यपुरमा सुरु गरेको बताए। ‘कोभिड संकट व्यवस्थापन समिति (सिसिएमसी)को तथ्यांक अनुसार भक्तपुरमा सबैभन्दा बढी संक्रमित नगरपालिका मध्यपुर रहको र त्यसमा पनि सबैभन्दा बढी वडा नम्बर ४ मा देखिएकाले ४ वडाबाट मास्क वितरण सुरु गर्न लागेका हाैं’, उनले भने।

कोरोनाबाट बच्ने सजिलो र सस्तो तरिका भनेको मास्क लगाउनु रहेको उनको भनाइ छ। यो अभियानले कोरोना संक्रमण केही कम गर्न सक्ने उनले विश्वास व्यक्त गरे। ‘यो मास्क अभियानले कोरोना संक्रमण कम हुन्छ भन्ने विश्वास गरेको छु, भ्याक्सिन पनि हो तर सबैलाई पुर्‍याउन समय लाग्छ’। उनले भने।

अहिले बंगलादेशबाट आएको ५ लाख मास्क वितरण गर्ने उनले बताए। अमेरिकाबाट ३ करोड मास्क ल्याउने तयारी भइरहेको भन्दै उनले ४ वडाबाट सुरु गरेर नगरपालिकाका ९ वटा वडामा वितरण गर्ने योजना रहेको बताए।

घरघरमा मास्क वितरण गर्न १५ जन स्वयमसेवक परिचालन गरेका छन्। उनीहरुले एउटा घरमा ३ जना वा कम सदस्य भए २५ वटा मास्क र ३ जनाभन्दा बढी सदस्य भए १ प्याकेट (५०) वटा मास्क निःशुल्क वितरण गर्छन्।

कोभिड १९ र्‍यापिड एक्सन टाक्स फोर्स र नगरपालिकाको समन्वयमा यो अभियान सुरु भएको हो। यो मेलम्ची, सुनसरीमा पनि सुरू हुन लागेको जनाइएको छ। धेरै संक्रमण भएको ठाउँहरुलाई लक्षित गरेर देशभरि नै संचालन गर्ने योजना रहेको जनाइएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *