स्वास्थ्य मन्त्रालय भन्छ – लामाे अन्तरमा खोप लगाउँदा पनि प्रभावकारी नै हुन्छ

हेल्थपोस्ट नेपाल

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धेरै समयका अन्तरमा कोरोना भाइरसविरुद्धको खोप लगाउँदा पनि प्रभावकारी हुने जनाएको छ। मन्त्रालयले ‘कोभिसिल्ड’ खोपको पहिलो मात्रा लगाएको लामो समयका अन्तरमा अहिले ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाइए पनि उक्त खोप अझ प्रभावकारी बन्ने स्पष्ट पारेको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले ‘कोभिसिल्ड’ को पहिलो मात्रा लगाएको करिब पाँच महिनापछि दोस्रो मात्रा लगाए पनि खोपले काम गर्ने जानकारी दिए। गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ वर्ष माथिका उमेर समूहका करिब साढे १४ लाख व्यक्तिलाई सो खोपको पहिलो मात्रा लगाएकामा अहिले करिब पाँच महिनापछि ‘एस्ट्राजेनेका’ खोपको दोस्रो मात्रा दिइएको छ।

‘कोभिसिल्ड/एस्ट्राजेनेका खोप लगाउँदा दुई मात्रा बीचको अन्तराल दुईदेखि तीन महिना हुन्छ भनिएकामा अहिले पाँच महिनापछि दोस्रो मात्रा दिएको छ,’ उनले भने, ‘यसबीच भएका अध्ययनले पहिलो मात्राले पनि काम गरिरहने र धेरै समयको अन्तरालमा दोस्रो मात्रा लगाउँदा पनि प्रभावकारी हुने देखिएका छन्।’

उनले पहिलो मात्रा र दोस्रो मात्राको अन्तराल पाँच महिनाको भए पनि खोपले प्रभावकारी रुपमा काम गर्ने भएकाले ढुक्क भएर ‘एस्ट्राजेनेका’ खोपको दोस्रो मात्र लगाउन अनुरोध गरे।

भुटानबाट २ लाख ३० हजार र जापानबाट ५ लाख १३ हजार मात्रा ‘एस्ट्राजेनेका’ खोप आइसकेपछि मन्त्रालयले कोभिसिल्डको सट्टामा ‘एस्ट्राजेनेका’ खोप लगाएको हो ।

अधिकारीले कोभिसिल्ड र एस्ट्राजेनेका खोप एउटै कम्पनी र एउटै फर्मुलामा बनेकाले लगाउन केही फरक नपर्ने भएकाले कोभिसिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्राका रुपमा एस्ट्राजेनेका लगाइएको जानकारी दिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *