बालबालिका लागि फागुनदेखि ४० लाख मोर्डना खोप ल्याउने सम्झौता
नेपालले कोभ्याक्समार्फत ४० लाख खोप प्राप्त गर्ने निश्चित भएको छ । विश्व बैंकले फागुनदेखि ४० लाख मोर्डना खोप आउनसक्ने जनाएको छ ।सरकारले १२ देखि १७ उमेरका बालबालिका तथा किशोरकिशोरी लक्षित गरी मोर्डना खोप ल्याउन लागेको हो।
कोभ्याक्ससँगको लागत साझेदारीमार्फत विश्व ब्याङ्कको वित्तीय सहयोगमा सो मात्रा खरिद गर्नका लागि खोपसम्बन्धी विश्वव्यापी सञ्जाल गाभीसँग सम्झौता गर्ने नेपाल विश्वकै दोस्रो देश बनेको बताइएको छ।
विश्व ब्याङ्कले शुक्रवार जारी गरेको विज्ञप्तिका अनुसार यो सम्झौतासँगै नेपालको कोभिड–१९ विरुद्धको खोपका लागि पुँजीको विविधीकरण र सुदृढीकरण भएको छ ।
‘कोभ्याक्स लागत साझेदारी कार्यक्रम अपनाउने नेपाल सुरुवाती देशहरू मध्येको एक हो र चुनौतीपूर्ण परिस्थितिहरूका बाबजुद हामीले नेपालका लागि सुरक्षित र अत्यन्तै प्रभावकारी खोप ल्याउनका लागि यस सम्झौता तय गर्न सफल भएकोमा म अत्यन्तै हर्षित छु,’ स्वास्थ्य तथा जनसख्या राज्यमन्त्री उमेश श्रेष्ठको भनाइ विज्ञप्तिमा उल्लेख छ।
‘२०२२ को मार्चदेखि खोप आउनेछ । यसले नेपालका ७२ प्रतिशत जनसंख्या साथै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई खोप दिने लक्ष्यमा सहयोग गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ।
माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फेरिस ह्याडेड जिर्भसले नेपाल सरकार तथा जनतालाई सहयोग गर्न पाएकोमा गौरवान्वित भएको बताएका छन्।