खोपको दुवै मात्रा लगाएकी महिलाको ‘डेल्टा प्लस’ भेरियन्टको संक्रमणबाट मृत्यु
भारतको मुम्बईमा कोरोना भाइरसको ‘डेल्टा प्लस’ संक्रमणबाट पहिलो मृत्यु भएको छ। ६३ वर्षीया महिलाको गत जुलाइ २७ मा मृत्यु भएको थियो। उनको जिनोम सिक्वेन्सिङ रिपोर्ट भर्खरै प्राप्त भएको थियो। जसमा महिलालाई डेल्टा प्लस भेरियन्ट पुष्टि भएको छ।
ती महिलाको कुनै ‘ट्रयाभल हिस्ट्री’ नरहेको र उनले खोपको पूरै मात्रा पनि लगाइसकेकी थिइन्। ति महिलामा पहिलेदेखि नै फोक्सोमा समस्या रहेको बताइएको छ। उक्त महिलाका पारिवारिक सदस्यमा पनि संक्रमण पुष्टि भएको छ। ६ सदस्यमध्ये दुई जनामा ‘डेल्टा प्लस’ नै देखिएको छ भने अन्यको रिपोर्ट आउन बाँकी रहेको छ।
योसहित महाराष्ट्रमा मात्रै ‘डेल्टा प्लस’ का कारण दुईजनाको मृत्यु भइसकेको छ। यसभन्दा अघि रत्नागिरीकी ८० वर्षीय महिलाको यसै भेरियन्टको संक्रमणका कारण निधन भएको थियो।
महाराष्ट्रमा मात्रै यस भेरियन्टका ६५ केश फेला परिसकेका छन्।