‘तपाईंको मास्क खोई’ अभियान : हालसम्म ७ लाख वितरण

हेल्थपोस्ट नेपाल
 

कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि मुलुकभर नै मास्क वितरण अभियानलाई तीव्रता दिइएको छ।

नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई?’ कार्यक्रमअन्तर्गत पछिल्लो एक दिनमा मात्रै ६५ हजार ८६९ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ। प्रहरी प्रधान कार्यालयकाअनुसार उक्त अभियानमा वैशाख ६ यता ७ लाख ४ हजार ३७६ जनालाई मास्क वितरण गरिएको छ।

नयाँ भेरियन्टसहितको कोभिड-१९ स‌ंक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुनसक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयन प्रभावकारी बनाउन प्रहरीले उक्त अभियानलाई पुनः सुरु गरेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए।

‘स‌क्रमणबाट आफू बचौं र अरुलाई पनि बचाऔं’ भन्ने नारासहित ‘तपाईंको मास्क खै?’ लगायत विभिन्न सचेतनामूलक कार्यक्रमलाई प्रहरीले ७७ वटै जिल्लामा अभियानकै रुपमा सञ्चालन गरिरहेको छ। पछिल्लो समयमा कोभिड-१९ को वृद्धिसँगै तेस्रो भेरियन्ट आउनसक्ने चेतावनीका बीच मुलुकभर नै सचेत हुन सरकारले नागरिकसँग आग्रह गरेको छ।

प्रहरीका अनुसार बिहीबार कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने २५७ लाई रु २५ हजार ७०० जरिवाना गरिएको छ। सो क्रममा स्वास्थ्य मापदण्ड पालना नगर्ने ११ हजार ८९७ लाई सचेत गराइ छाडिएको छ। साथै देशभर सञ्चालित माइकिङ, प्लेकार्ड, पर्चा, पम्प्लेटसहित २९९ कार्यक्रममार्फत ५८ हजार २८२ जनालाई सचेत गराइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यसअघि कोरोनाको दोस्रो लहर फैलिएका बेला नेपाल प्रहरीले अभियानकै रूपमा मास्क वितरण गरेको थियो। संक्रमण घट्दै जाँदा पछिल्लो समयमा मास्क वितरण प्रभावकारी हुन नसकिरहेका बेला पुन: अभियानलाई तीव्रता दिइएको छ। नेपाल सरकारले पनि सहीरुपमा मास्क लगाउन र नलगाउनेलाई मास्क लगाउनका लागि प्रेरित गर्न शनिबार मात्रै ‘नेपाल मास्क अभियान’ घोषणा गरिसकेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *