अब खोपको किनबेच हुँदैन, खोपकेन्द्रहरू व्यवस्थित हुन्छन् : राज्यमन्त्री श्रेष्ठ

हेल्थपोस्ट नेपाल

 

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले खोप व्यवस्थापनमा चाँडै नै सरकारले नयाँ कदम चाल्ने बताएका छन्। संसदमा सांसदहरूले राखेको जिज्ञासामा जवाफ दिँदै उनले भने– ‘अब यस्तो भीडभाड हुँदैन। देशभरि १६ हजारभन्दा धेरै खोपकेन्द्रहरू छन्। अब सबै खोप केन्द्रमा अरू पनि स्वयंसेवकहरू परिचालन गरिन्छ।’

प्राथमिकताका आधारमा सबैलाई खोप पुर्‌याउँदै जाने सरकारी योजना रहेको भन्दै उनले खोपका सन्दर्भमा सरकारले पूर्णरुपमा पारदर्शी हुने पनि बताए।

‘खोपमा अनियमितता अब हुँदैन। हामीले सबै सुरक्षा निकायलाई पनि त्यसमा ध्यान दिन भनिसकेका छौं’ उनले भने ‘खोपको किनबेच जस्तो काम अब हुँदैन।’

उनले अघिल्लो सरकारको पालामा ९७ लाख कोरोना खोप प्राप्त गरेको दाबी पनि गरे। श्रेष्ठले असार मसान्तसम्म ९७ लाख खोप प्राप्त भएको र ४२ लाखलाई मात्र लगाइएको जानकारी दिए।

‘नयाँ सरकार आएपछि खोप लगाउनेको संख्या ७५ लाख पुर्‌याइएको छ,’ मन्त्री श्रेष्ठले भने, ‘ हरेक दिन २ लाखभन्दा बढी नागरिकलाई खोप दिइरहेका छौं।’

उनले असोज मसान्तभित्र १ करोड ८ लाख खोप प्राप्त हुने सुनिश्चित भएको दाबी समेत गरे। मन्त्री श्रेष्ठले तेस्रो लहरलाई मध्नजर गर्दै थप आइसियू र भेन्टिलेटरको व्यवस्थापनमा जुटेको बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *