परीक्षा दिने वातावरण बनाउन सांसदको माग

हेल्थपोस्ट नेपाल

 

सांसदले कोभिड–१९ महामारीका कारण अध्ययनरत लाखौँ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सबै विद्यार्थीलाई खोप दिएर परीक्षामा सामेल हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले कक्षा १२ को परीक्षा पूर्वतयारीबिना स्थगित गरिएको र विश्व विद्यालय अन्तर्गत विभिन्न तहको परीक्षाको मुखमा रहेका विद्यार्थी परीक्षा दिने वातावरण सिर्जना गर्न माग गरेका छन्। साथै परीक्षार्थीलाई खोपको व्यवस्था गर्न वा वैकल्पिक विधिद्वारा परीक्षा दिने वातावरण बनाउन पनि सरकार समक्ष माग गरेका छन्।

सांसद उदया शर्मा पौडेलले पूर्वतयारीबिना कक्षा १२ को परीक्षण स्थगित गरी करिब चार लाख परीक्षार्थीको भविष्य अन्योलमा परेकामा चिन्ता व्यक्त गर्दै विद्यार्थीको मनोविज्ञानलाई असर नगर्नेगरी परीक्षार्थीलाई खोपको व्यवस्था गरी परीक्षामा सामेल हुने वातावरण बनाउन माग गरिन्।

सांसद कोमल वलीले शिक्षामन्त्री नियुक्तिमा ढिलाइ भएकाले समग्र शिक्षा क्षेत्रमा अन्योल छाएको टिप्पणी गर्दै विद्यार्थीलाई खोप लगाएर या वैकल्पिक विधिद्वारा भए पनि परीक्षा दिने वातावरण बनाउन सरकार समक्ष माग गरिन्।

‘कोभिड महामारीका कारण शिक्षा क्षेत्रमा अन्योलता छाएको छ। विद्यार्थीले अनलाइन माध्यमबाट अध्ययन गरेपनि परीक्षा दिन पाएका छैनन यसमा सरकारले विशेष ध्यान दिन जरुरी छ,’ उनले भनिन्।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *