चितवनमा हालसम्म ३९ जिल्लाका ७ सय ८९ संक्रमितको मृत्यु

हेल्थपोस्ट नेपाल

 

चितवनमा हालसम्म ७८९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुने मध्ये ३ ५० जना चितवनका हुन् भने अन्य ३८ जिल्ला र भारतका छन् । चितवन बाहिरका ४३९ जनाको जिल्लाका विभिन्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिए।

जिल्ला बाहिरका चितवन मेडिकल कलेजमा १७७, भरतपुर अस्पतालमा १२७, पुरानो मेडिकल कलेजमा १०८, विपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा १९, पुष्पाञ्जली अस्पतालमा ५ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कमा उल्लेख छ ।

मृत्यु भएकाहरुमा चितवन बाहेक सबैभन्दा बढी नवलपरासी (बर्दघाट सुस्तापूर्व) का छन् । सो जिल्लाका १०७ जनाको चितवनका अस्पतालमा मृत्यु भएको हो। त्यसैगरी रुपन्देहीका ५५, मकवानपुरका ४५, नवलपरासी (बर्दघाट सुस्तापूर्व)का २७, गोरखाका २५, लम्जुङका २२, तनहुँका १८, बाराका १८, कपिल्वस्तुका १४, रौतहटका १३, सर्लाहीका १२, दाङका १२, गुल्मीका ९, अर्घखाँचीका ८, रोल्पाका ६ जनाको यहाँको विभिन्न अस्पतालमा मृत्यु भएको छ।

त्यस्तै कैलाली, पाल्पा, धनुषाका ५÷५जना, कास्की, सप्तरी, पर्सा र धादिङका ४÷४ जना, स्याङजाका ३, कञ्चनपुर, प्यूठान र बाग्लुङका २÷२ जना, जाजरकोट, नुवाकोट, पर्वत, बैतडी, महोत्तरी, रामेछाप, रुकुम(पश्चिम), सल्यान, सिराहा र सुनसरीका १÷१ जनाको मृत्यु भएको हो। १ एक जना भारतीय नागरिकको पनि चितवनमा मृत्यु भएको छ ।

कोरोना संक्रमितको मृत्यु अधिकांशको अस्पतालमा नै भएको छ । चितवनका कोरोना संक्रमित मध्ये होम आइसोलेसनमा २८ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयकी सूचना अधिकारी गीताञ्जली ढकालले जानकारी दिए। अन्य जिल्लामा भन्दा चितवनमा उपचारको सुविधा रहेकाले बाहिरी जिल्लाबाट उपचार गर्न आउँछन् । सोही अनुरुप नै बाहिरी जिल्लाका संक्रमितको मृत्यु भएको ढकालले जानकारी दिए।

चितवनमा लकडाउन खुकुलो भएसंगै मृत्युदर पनि क्रमशः बढ्दै गएको छ। असार १५ गतेदेखि श्रावण २४ गतेसम्मको अवधिमा चितवनमा ६९ जनाको मृत्यु भएको छ । यस्तै, पुर्ण लकडाउन हुँदा बैशाख १५देखि असार १४ गतेसम्मको अवधिमा १ सय ६५ जनाको मत्यु भएको थियो। लकडाउन खुकुलो भएसंगै संक्रमण दर पनि उकालो लाग्दो अवस्थामा छ ।

चितवनमा पछिल्लो ४५ दिनको अवधिमा ५ हजार ६ सय ७२ जना संक्रमित फेला परेका छन् । पुर्ण लकडाउन हुँदा बैशाख १५ गतेदेखि असार १४ गतेसम्मको तीन महिनाको अवधिमा ८ हजार ६ सय १४ जनामा संक्रमण देखिएको थियो । पसल, सार्वजनिक सवारी, होटल, रेष्टुरेण्ट सञ्चालनमा आएसंगै ओरालो लागेको संक्रमण फेरी बढेको कार्यालय प्रमुख तिवारीले बताए। यही गतिमा संक्रमितको संख्या बढ्ने हो भने आगामी दिनमा नियन्त्रण गर्न कठिन हुने उनको भनाई छ।

चितवनमा हालसम्म २२ हजार २ सय ९९ जना संक्रमित भएका छन्। ती मध्ये ३ सय ५४ जनाको मृत्यु भएको हो । मृत्युदरको हिसाबले १ दशमलव ६ प्रतिशत आउँछ । संक्रमित  मध्ये चितवनमा हाल २ हजार ४ सय १७ जना सक्रिय संक्रमित छन्।

यस्तै, चितवनमा ७८ हजार ३६ जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन्। कोभिसिल्ड १३ हजार १ सय ७२, भेरोसेल ३७ हजार ५ सय ६ र जोन्सेन ३७ हजार ३ सय ५९ जनाले लगाईसकेका छन्। पहिलो मात्रा १ लाख १९ हजार ९ सय ६० जनाले लगाई सकेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *