दोस्रो मात्रा खोपले ज्येष्ठ नागरिकमा छरेको खुसी: अब बाँच्ने आशा पलाएको छ

हेल्थपोस्ट नेपाल

कोरोनाले विश्व नै आक्रान्त परिरहेका बेला बल्ल पाँच महिनाको अन्तरालपछि कोरोनाविरुद्धको खोप लगाउन पाएकी छिन्, मथुरा तिम्सिनाले।

दोस्रो लहरको कोरोना संक्रमणले आँखैअघि कयौं व्यक्ति अस्पताल भर्ना भएका र मृत्यु भएका देखेकी थिइन उनले। कतै, आफू पनि यसैगरी मर्ने त हैन भन्ने चिन्ताले उनलाई सधैं पिरोल्ने गरेको थियो।

आखाँले देख्न नसकिने जीवाणुलाई वैज्ञानिकले उत्पादन गरेको खोप लगाए बाँचिन्छ भन्ने सुनेकी उनले गत फागुन २६ मा पहिलो डोज खोप लगाएकी थिइन्।
तर, सरकारले कोभिसिल्ड खोप ल्याउनमा ढिलाई गरेपछि दोस्रो मात्रा लगाउन उनले केही समय पाइनन्।

पहिलो मात्राको खोपले ज्यान जोगाउन मद्दत नगर्ने भएकाले ६५ वर्ष नाघेकी मथुरा खोप उपलब्ध हुने वित्तिकै काठमाडौं बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा पुगिन्। खोप लगाएर आराम गर्दै गरेकी उनले भनिन्, ‘सुरुमा त दुखेको थिएन आज दोस्रो खोप लगाएको धेरै दुख्यो। कोरोनाका बिरामी बढेका बढ्यै छन्, बाच्दिनँ भनेर छिटो खोप लगाउन आएँ अब त सुरक्षित हुन्छु कि।’

सोही अस्पतालमा खोप लगाउन आएका थिए, किशोर प्रधानका जोडी। शंखमुल बस्ने किशोर ८० वर्षका हुँदा श्रीमती सीता ७२ वर्षकी भइन्। उनीहरु पनि खोप लगाउन आतुर थिए। ‘हामीले पहिलो मात्रा गत चैत १० गते लगाएका थियौं’, उनले भने, ‘असार १० मा लगाउनु भनेको थियो तर, खोप नआएकोले आज लगाउँदै छौं। कोरोनाको तेस्रो लहर आइसक्यो खोप लगाए ढुक्क हुन्छ भनेर घरमा भनेपछि लगाउन आएको हौं,’ प्रधानले भने।

‘घरमा बुहारीलाई पनि पहिले कोरोना भएको थियो। निकै गाह्रो हुँदो रहेछ। कोरोनाविरुद्धको खोप लगाएपछि संक्रमित हुँदा धेरै गाह्रो हुँदैन भन्छन्, त्यसैले लगाउने निर्णय गरेका हौँ। बेलायतमा खोप लगाउनेलाई पनि कोरोना भयो भनेर टेलिभिजनमा दिएको छ, खोप नै यसको अचुक औषधी हो भन्न त मिल्दैन त्यही पनि ५० प्रतिशत सुरक्षित हुन्छ भनेपछि ढुक्क भयौँ  ’, प्रधानले भने।

अहिलेसम्म भगवानको कृपाले आफूलाई केही नभएको उनी बताउँछन्। ‘बिहान हिँड्छु, सागसब्जी लिन बाहिर निस्कन्छु, नत्र घरभित्र नै बसिरहेको छु’, उनले भने।

खोप लगाउन पाएकोमा उनकी श्रीमती सीता पनि निकै खुसी छन्। उमेरले ७२ टेके पनि बाँच्ने रहर अझै भएको उनी बताउँछिन्। ‘कोरोना संक्रमण बढेको बढ्यै छ, संक्रमणको खतरा पनि उस्तै। तर, आजबाट खतरामुक्त भइयो,’ मुस्कुराउँदै उनले भनिन्।

यस्तै, थापागाउँकी सरस्वती थापा पनि हामीले कुरा गर्दा खोप लगाउने लाइनमै बसिरेहेकी थिइन्। उमेरले ७२ पुगे पनि हालसम्म उनलाई कुनै गम्भीर खालका रोगले छोएको छैन।

स्वस्थ रहेकी उनी रोगसँग टाढै बस्ने गरेको बताउँछिन्। कोरोना संक्रमण हुन्छ भन्ने डरले उनी महामारी सुरु भएदेखि नै घरभन्दा बाहिर निस्केकी थिइनन्, खोप लगाउन मात्र निस्किएको उनले बताइन्।

‘कोरोना संक्रमणको जोखिम भएकाले घरबाट बाहिर निस्केको छैन। आजमात्र निस्केको हुँ। अस्ति जेठ–असारमा कोरोनाको बिमारी बढेर मान्छे मरेको समाचारमा देखेको थिएँ, आफू पनि रोगले मरिने हो कि जस्तो हुन्थ्यो,’ उनले भनिन्। कोरोनाविरुद्धको खोप लगाएपछि अब रोगबाट बाँचिनेमा आशा पलाएको उनले बताइन्।

त्यस्तै, भक्तपुरको ठिमीदेखि खोप लगाउन निजामती अस्पतालमा पुगेकी थिए हरि थापा दम्पती। पहिलो पटक खोप लगाउँदा चार घण्टा लाइन बसेको उनले सम्झिए।

यहाँ सजिलैसँग लगाउन पाइन्छ भनेर छोरासँग खोप लगाउन आएका हौ,’ थापाले भने, ‘खोप केन्द्रहरु व्यवस्थित नभएका कारण त्यहीँबाट कोरोना सर्छ भन्ने चिन्ताले हामीलाई यहाँसम्म डोर्‍यायो।’

कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकलाई सोमबारदेखि दोस्रो मात्रा लगाउन सुरु गरिएको स्वास्थ्य सेवा विभागकाे खाेप शाखा प्रमुख डा. झलक गौतमले जानकारी दिए।

गतवर्षको फागुन महिनामा कोभिसिल्डको पहिलो डोज लगाएका ६५ वर्ष माथिका साढे ९ लाखसहित १३ लाख ६८ हजारलाई दोस्रो मात्राको खोप दिइरहेकाे उनले बताए।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका ज्येष्ठ नागरिकलाई दोस्रो मात्राको खोप दिइँदै छ। बाँकी दुई प्रदेशमा पनि चाँडै अभियान थालिएकाे छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *