‘प्रसुती अस्पतालमा जन्मिएका बच्चालाई पाउडर र बट्टा दुध खुवाउँनु पर्दैन’

हेल्थपोस्ट नेपाल
Dr. Sangita Mishra

आमाको दुध बच्चाको लागि अमृत समान हुन्छ। स्तनपान बच्चाका लागि मात्र होइन, स्वंम आमाको निम्ति पनि फाइदाजनक हुन्छ। आमाको दुधमा ति सबै पोषक तत्व हुन्छ, जो नवजात शिशुको लागि खाँचो हुन्छ। यसले बच्चाको भोक मात्र मेट्दैन, शारीरिक र मानसिक विकास समेत हुन्छ। साथै, रोगसँग लड्ने क्षमता पनि बढ्छ।

जन्मपछि शिशुको सुरुवाती आहार नै आमाको दुध हो। तर, पछिल्लो समय खासगरी नयाँ आमाहरूले दुध नआएको भन्दै बट्टाको दुध वा लिटो खुवाउने प्रवृत्ति बढ्दो छ।

आमाको दुध बच्चाको लागि किन जरूरी छ? परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालले मिल्क बैंकको स्थापनाको तयारी कस्तो गरिरहेको छ? यिनै सम्रग विषयसँग समन्धित भएर हामीले निर्देशक डा. संगिता मिश्रासँग कुराकानी गरेका छौं।

बच्चालाई आमाको दुध किन जरुरी छ?

यसको धेरै फाइदा रहेको छ। बच्चा र आमा दुबैको स्वास्थ्यका लागि स्तनपान जरुरी छ। बच्चाको हकमा यसले कुपोषणबाट बचाउँछ। दुधमा अनेक प्रकारका पोषक तत्वहरु हुन्छ जसले कुपोषणबाट बचाउँछ।

दोस्रो भनेको यसले रोग प्रतिरोधात्मक क्षमताको विकास गर्छ। यसको विकासले बच्चाहरुलाई विभिन्न रोग तथा संक्रमणबाट जोगाँउछ। स्तनपान गरिए बालबालिकाहरुमा झाडापखाला, स्वासप्रश्वास जस्ता विभिन्न प्रकारका रोगबाट बचाउँछ।

अन्य जनावरको दुध खाएका बच्चा भन्दा स्तनपान गरेको बालबालिका तिक्ष्ण हुने र वौद्धिक विकास भएका हुन्छन् । त्यस्तै, बच्चाहरुको मानसिक विकास र नसाको विकासमापनि मद्धत गर्दछ।

आमालाई पनि फाइदा

बच्चा जन्मेको १ घण्टभित्रै स्तनपान गरायो भने बच्चाले दुध चुस्दा आमाको पाठेघर पनि सँगसँगै खुम्चिएर जान्छ। त्यस्तै सुत्केरी हुँदा हुने रक्तश्राव पनि रोक्ने गर्दछ। यसले आमाको तौललाई पनि सन्तुलन गर्न मद्धत गर्छ। स्तनपान पनि तौल नियन्त्रण्न गर्ने अभ्यास जस्तै हो।

स्तनपानले परिवार नियोजनको साधनको रुपमा पनि काम गर्ने गर्दछ। यदि आमाले दिनमा ६ देखि ८ पटक सम्म बच्चालाई स्तनपान गराइराखेको छ भने, उनले कुनै पनि परिवार नियोजनको साधन प्रयोग गरिराख्नुपर्ने आवश्यकता हुँदैन। यसले विभिन्न प्रकारका क्यान्सर जस्तै, स्तन क्यान्सर, अण्डकोषको क्यान्सरबाट पनि बचाउन सक्छ।

आमाको दुधलाई अन्य दुधले प्रतिस्थापन गर्न सक्छ?

आमाको दुधलाई कुनै पनि दुधले प्रतिस्थापन गर्न सकिदैंन। बच्चालाई आमाको दुध अत्यन्तै आवश्यक हुन्छ। तर, हाम्रो देशमा जन्मिने बित्तिकै बच्चालाई गाईको दुध खुवाइदिने वा कहिले ब्राख्राका वा बट्टाको दुध पनि खुवाउने चलन छ। उसो त बच्चाको पचाउने क्षमता कम हुन्छ। उसले गाईको दुध पचाउन सक्दैन। आमाको दुध बच्चाको लागि उत्तम हो र प्रकृतिले नै त्यही हिसाबले बनाइदिएको छ।

सिजरियन सेक्सन (अपरेसन) गरेका आमाले बच्चालाई दुध खुवाउन सक्छन्?

अपरेसन गरेको आमाले बच्चालाई दुध खुवाउन सक्दैनन् भन्ने मिथ्या हो। मानिसले यसलाई नबुझेको जस्तो लाग्छ। स्तनपान गराउँदा एउटै पोजिसनबाट खुवाउनुपर्ने वा आमा उठ्नै पर्ने भन्ने हामी बुझ्छौं, तर, त्यस्तौ होइन।

हामीले विभिन्न पोजिसनमा बच्चालाई स्तनपान गराउन सक्छौं। परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा नर्मल डिलिभरी वा अप्रेशन गरेर डिलिभरी गराएका दुबै आमालाई बच्चा जन्मेको १ घण्टा भित्र स्तनपान गराइसक्नुपर्छ।

यदि आमाले बसेर दुध खुवाउन सक्छ भने त्यसरी खुवाउँदा अति उत्तम, बसेर खुवाउन नसक्ने अवस्थामा पनि अर्को स्थितिमा पनि सहयोगीको सहायताले खुवाउन मिल्छ। त्यो पनि सकिदैन भने दुध निचारेर भएपनि खुवाउन सकिन्छ। बच्चा जन्मने वित्तिकै आमाको दुध आउन थाल्दछ।

बच्चलाई सकेसम्म बट्टाको दुध खुवाउनु हुँदैन। हाम्रो अस्पताल बेबी फ्रेन्डिली (शिशु मैत्री) अस्पताल भएका कारण पाउडर तथा बट्टाको दुधलाई निरुत्साहित नै गरिरहेका छौं। अति आवश्यक भए मात्र एनआईसियुका बालबालिकामा प्रयोग गर्ने गरेका छौं।

मिल्क बैंक के हो? यसको आवश्यकता किन पर्‍यो?

बट्टाको दुधमा पौष्टिक तत्व एकदमै कम हुन्छ। हाम्रो अस्पतालमा एनआईसियुमा एक महिनामा २५० जति शिशु भर्ना हुने गर्दछन्। त्यसमध्ये २० देखि ४० प्रतिशत शिशुलाई आहारको आवश्यकता हुन्छ। उनीलाई आमाको दुध, नपाए बट्टाको दुध खुवाउनुपर्ने बाध्यता छ।

यहि बाध्यतालाई मध्यनजर गर्दै हामीले अस्पतालमा मिल्क ब्याङक स्थापना गर्न अग्रसर भएका हौं। मिल्क बैंक भनेको अन्य बैंक जस्तै दुधलाई संरक्षण गर्ने, प्रशोधन गरेर भण्डारन गर्ने बैंक हो।  दान भएको दुधलाई पास्चोराइज गरेर राख्ने गरिन्छ।

सुत्केरी आमा जसको दुध आफ्नो बच्चालाई बढि हुन्छ वा दान गर्न चाहन्छन्, उनीहरुसँग दुध लिएर हाम्रो अस्पतालमा पास्चराइज गरेर भण्डरन गरिन्छ।

भण्डारन गर्नका लागि माइनसको २० डिग्री सेल्सियसको चिसो फ्रिजमा राख्नुपर्ने हुन्छ। यसरी राखिएको दुध बच्चालाई लगभग तीन देखि ६ महिनालाई खुवाउन सकिन्छ। मलाई विश्वास छ अब प्रसुती जन्मिएका कुनै पनि बच्चालाई पाउडर तथा बट्टाको दुधको प्रयोग गर्न पर्दैन।

Dr. Sangita Mishra

मिल्क बैंकको बिचार कहाँबाट आयो?

यो विश्वका लागि नयाँ कन्सेप्ट होइन, तर नेपालको लागि हो। विश्वको इतिहास हेर्न हो भने १८०९ मा अष्ट्रियामा मिल्क बैंक स्थापना भएको थियो, त्यसपछि अमेरिका, दक्षिण अमेरिकाका देशहरुमा पनि फैलिँदै गयो।  हाम्रो छिमेकी मुलुकको कुरा गर्ने हो भने भारतमा १९८९ मा स्थापना भएको थियो। हाल त्यहाँ ५० वटा मिल्क बैंक रहेको छ।

यसको आवश्यकता पहिलो पनि थियो। पहिले घरपरिवारमा दुध नपुगे सानी आमा वा कसैबाट खुवाउने चलन थियो। चलन त छँदै थियो, यसलाई हामीले संस्थागत रुपमा स्थापना गर्न खोजेका हौं। यसलाई प्राविधिक रुपमा संचालन गर्न खोजिएको हो। भारतको उदाहरण हेर्ने हो भने जबदेखि मिल्क बैंकको शुरुवात गर्‍यो तब देखि शिशुको मृत्युदर घटेको देखिन्छ। त्यसैलाई हेरेर र विभिन्न वैज्ञानिक आधार हेरेर यो संञ्चालन गर्न खोजिएको हो।

बट्टाको दुध खाँदा बच्चालाई पटक पटक झाडापखाला हुने, उसको शरीरिक विकासमा असर हुन्छ। त्यही भएर पनि मिल्क बैंकको आवश्यकता त थियो, त्यसैलाई मध्यनजर गरेर नेपालको पहिलो मिल्क बैंको स्थापना गर्न लागेको छ।

दुध दान गर्न कस्ता मापदण्ड पूरा गर्नुपर्छ?

यस्तो खाले मिल्क बैंक नेपालमा पहिलो हो भने यो नेपालको लागि नयाँ अवधारणा हो। हामी एकदमै महत्वकांक्षी पनि छौं। पहिले हामी अस्पतालको सुत्केरी भएका धेरै दुध आउने आमासँग दुध माग्छौं। यसको लागि आमा स्वास्थ्य हुन जरुरी छ। दुध दिन आउने आमाहरुको स्वास्थ्य अवस्था कस्तो छ भनेर हामीले थाहा पाउनै पर्छ। यो थाहा नभईकन हामीले दुध दिन सक्दैनौं। बाहिरबाट पनि दुध दान गर्छु भनेर आउने आमाहरुको पनि हामी स्वास्थ्य परीक्षण गरेर मात्र लिन्छौं।

मिल्क बैंक बनाउन के आवश्यकता पर्छ?

मिल्क बैंकलाई पनि ल्याबको अवश्यकता पर्दछ। यसको लागि निश्चित मापदण्ड बनाइन्छ जुन भारतमा भएको मापदण्ड अनुसार नै तयार गरिन्छ। त्यहाँको सरकारी तथा नीजि अस्पतालको मिल्क बैंकको कन्सेप्ट हेरेर यहाँ तयारी गर्न काम थालेका छौं।

हामीले कहाँ बनाउने भनेर साइट सेलेक्सन पनि गरेका छौं। हामीले नवजात सघन उपचार केन्द्र (एनआईसियु) सँगै यसका स्थापना गर्न लागिरहेको छ। यसको स्थापना गर्नका लागि दुई करोड भन्दा बढीको खर्च लाग्ने अनुमान गरेका छौं।

यो बजेटको व्यवस्थापन परिवार कल्याण महाशाखा, डोनर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, युनिसेफ, युरोपियन युनियन तथा विभिन्न दाताबाट बजेट व्यवस्थापन गरिरहेका छौं। हामीले सम्पूर्ण योजना बनाएर अगाडि बढेका छौं।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *