यस्तो छ नेपालमै कोरोना खोप उत्पादन गर्ने तयारी

हेल्थपोस्ट नेपाल

 

सरकारले नेपालमै कोरोना भाइरस विरुद्दको खोप उत्पादन गर्न पाउने भन्दै सार्वजनिक गरिएको नीतिले औषधि उत्पादक कम्पनीलाई केही उत्साह थपिदिएको छ।

आइतबार गठबन्धन सरकारको ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम’ सार्वजनिक गरिएको थियो जसमा ‘कोभिड–१९ बाट उत्पन्न महाविपत्तिबाट मुक्ति’ शिर्षकमा– खोप उत्पादनका लागि नेपालमै भ्याक्सिन ल्याब स्थापना गर्न पहल गर्ने उल्लेख गरिएको थियो।

सरकारको नीतिमा नेपालमै खोप उत्पादन गर्न पाउने योजना बनेपछि अहिले खोप उत्पादक कम्पनीहरु औषधि व्यवस्था विभाग धाउन थालेका छन्।

देउराली जनता फार्माक्युटिकल्स प्रालिले खोप उत्पादन गर्नका लागि औषधी व्यवस्था विभागमा प्रतिवेदन पेश गरिसकेको छ भने केही कम्पनीहरु पनि विभागको सम्पर्कमा आउन थालेको औषधी व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिए।

‘नेपालमा खोप उत्पादन गर्न सम्भव छ। उत्पादन गर्न प्रविधि तथा ल्याबको निर्माणमा मात्र बढि खर्चिलो हुने भएकोले हालसम्म उत्पादनमा जोड नदिएको हो, नत्र नेपालमै उत्पादन गर्न सकिन्छ,’ केसी भन्छन्।

कोरोना भाइरस विरुद्दको खोप कमै मात्र कम्पनीहरुले विकास गरेका छन भने उनै विकास गरेको फर्मुला (खोप उत्पादन गर्न चाहिने तत्व, त्यसमा के के मिसाउने जस्ता विधि, खोप उत्पादक कम्पनीहरुलाई दिएर विभिन्न देशले बनाउन थालेका छन्।

हाल चीन, अमेरिका, जर्मनी, बेल्जियम, भारत, बेलायत, नेर्दल्याण्ड, रसिया, स्वीर्चजरल्याण, साउथ कोरिया, ब्राजिल, क्युबा, अर्जेन्टिना, थाइल्याण्ड, जापान, अस्ट्रेलिया, काजाकिस्तान, इरान, बेलारुस, इजिप्ट,साउथ अफ्रिकाले कोरोना विरुद्धको खोप उत्पादन गरिरहेका छन् भने पाकिस्तान, श्रीलंका, मलेसिया, मोरक्को जस्ता देशहरुले खोपको फर्मुला लिएर आफ्नै देशमा खोप उत्पादन गर्ने तयारीमा लागेका छन्।

विभागमा प्रविधि भित्राउन तथा ल्याब सञ्चालन गर्न अनुमतिका लागि फर्मा कम्पनीहरु आउन थालेका छन्।

केसीका अनुसार खोप उत्पादन गर्नका लागि चाहिने प्रविधिसँगसँगै खोपको फर्मुला पनि खरिद गरेको कम्पनीहरुले नै उपलब्ध गराउने सम्झौता हुने केसीले बताए।
देउराली जनता फार्माक्युटिकल्स प्रालिले चीनका उत्पादकसँग सम्पर्क गरिएको विभागलाई जनाएको छ।

प्रारम्भिक रुपमा उक्त कम्पनीको कुराकानी चीनसँग भइरहेको छ भने अन्य कम्पनीले पनि यसका लगि प्रयास गरिरहेको केसीले बताउँछन्।

तर हालसालै नीति तथा कार्यक्रम सार्वजनिक भएका कारण प्रविधि खरिद प्रकृया तथा उत्पादनमा केही समयम लग्ने उनीले जानकारी दिए।
‘भर्खरै नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। यसको र्वोक मोडालिटि पनि स्पष्ट छैन। के के सुविधाहरु दिने भनेर पनि सरकारले तोकिनसकेका कारण अझै केही समय लाग्छ,’ उनले भने।

हुन त पहिले पनि नेपालमा खोप उत्पादन गर्न नसकेर रोकिएको भने होइन। खोप उत्पादनका लागि चाहिने उपकरण एकदमै महँगो तथा धेरै आवश्यकता नभएका कारण हालसम्म नेपालमा कुनै पनि खोपको उद्योग बन्न सकेको छैन।

योसंगै औषधी उत्पादन गर्न झेल्नुपर्ने विभिन्न अड्चन र कानूनी किचलोकै कारण हालसम्म खोप उत्पादन कम्पनी नभएको दाबी गर्छन नेपाल औषधी उत्पादक संघका अध्यक्ष नारायण क्षेत्री।

‘नेपालमा पशुहरुको लागि चहिने खोपमो मात्र विकास तथा उत्पादन गर्ने उद्योग छन भने मानिसहरुका लागि चाहिने खोपको उत्पादन गर्ने एउटा पनि उद्योग छैन,’ क्षेत्री भन्छन्।

नेपालमा पहिले देखि भेटनरी खोपहरु उत्पादन हुँदै आएका छन, त्यसैले पनि कोरोना भाइरस विरुद्धको खोप उत्पादन गर्न नसक्ने भन्ने नै हुँदैन।

तर, खोप उत्पादन गर्नका लागि ठूला ठूला प्रविधि तथा धेरै लगानी भएका कारण यसको लागत उठाउन निक्कै गाहे हुने क्षेत्रीले बताए।

‘लगानी गरे अनुसार व्यवसायिक रुपमा पनि अघि बढाउनुपर्ने हुन्छ। तर हाम्रो देशमा उत्पादन गरेको खोप हामीलाई बढि हुने र विदेशमा निर्यात गर्न सकेको खण्डमा मात्रा यसको लाभदायी हुन्छ,’ क्षत्रीले भने।

ठूलो संख्यामा खोप बजारमा पठाउन सके मात्र उत्पादन गर्न सकिन्छ तर यहाँ यसको फाइदा नहुने भएका कारण खोप उत्पादकहरु नभएको उनले बताए।

कोरोना विरुद्धको खोप धेरैलाई आवश्यकता भएको कारणले केही कम्पनीहरुले इच्छा देखाएका हुन्।

देशमा कुनै पनि खोप उत्पादन नहुनुको पछाडि औषधी ऐन तथा नीतिहरुमा उद्धार प्रावधान नभएकाको कारण रहेको उनी बताउँछन्।

‘नेपालको औषधी नीति अनुसार हामीले फर्माकोपियामा उल्लेख भएको औषधीहरु मात्र उत्पादन तथा बिक्रि वितरण गर्न पाउँछौं। तर हाललाई चाहिने एन्टिभाइरल रेम्डिसिभर र खोपहरु फर्माकोपियामा उल्लेख भएका छैनन्। त्यसैले पनि हामीले चाहेर पनि खोप तथा कोभिडलाई चाहिने औषधी उत्पादन गर्न सकेका छैनौं,’ क्षेत्रीले भने।

सरकारले कोरोना संक्रमण भएका व्यक्तिहरुमा रेम्डिसिभरले काम गरेका कारण उत्पानका लागि फार्मा कम्पनीहरुलाई आपतकालीन अनुमति दिएको थियो।

तर कानुनी किचलो र लाइसन्स तथा दर्ताको लामो प्रकृया भएका कारण जुनै पनि औषधी उत्पादन हुन ढिलाई हुने तथा सबै कच्चा पदार्थ विदेशबाट ल्याउनुपर्ने भएका कारण उत्पादन गरेको औषधी भन्दा आयात गरेर ल्याएका भन्दा महँगो पर्न आउने गर्दछ।  महँगो भएकै कारण मानिसहरुले स्वदेशमा उत्पादित औषधी कमै किन्ने गरेको उनले बताए।

हाल नेपालमा ७० वटा औषधी उत्पादन उद्योगहरु रहेका छन् भने ४५ प्रतिशत औषधीहरु उत्पादन हुने गरेका छन्।  कोरोना खोपको औषधी पनि कानूनी प्रकृयामा ढिला भए उत्पादन गर्न १÷२ वर्ष कुर्नुपर्ने अवस्था आए स्वदेशमा उत्पादन हुन सम्भव नहुने उनी बताउँछन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *