नेपालमा ‘खतराको घण्टी’ बजाउँदै कोरोना

हेल्थपोस्ट नेपाल
आज अगस्त १० अर्थात साउन २६ गते मंगलबार। आजसम्म संसारभरी कोरोना संक्रमितको संख्या २० करोड ४० लाख ८९ हजार २५२ पुगेको छ। विश्व जनसंख्याको अनुपातमा हेर्ने हो भने यो संख्या ३ प्रतिशत पनि छैन। यो लेख्दै गर्दा विश्वको जनसंख्या ७ अर्ब ८८ करोड ५१ लाख ५४ हजार ३०३ पुगेको छ।

कोरोना संक्रमणको प्रभावकारिताको कुरा गर्ने हो भने उपरोक्त समयसम्म विश्वभरी ४३ लाख १५ हजार ४५५ जनाको मृत्यु भएको छ। कुल संक्रमित मध्ये कोरोनाको मृत्युदर गणना गर्ने हो भने २.१२ प्रतिशत हुन आउँछ।

कुल संक्रमित मध्ये १८ करोड ३२ लाख ७३ हजार २४९ जना संक्रमणमुक्त भएका छन्। यो भनेको कोरोना संक्रमण लागेर निको हुनेको प्रतिशत ८९.८ प्रतिशत हुन आउँछ।

यसै क्रममा गणना गर्ने हो भने उपरोक्त समयमा संसारभरी १ करोड ६५ लाख ५४८ सक्रिय संक्रमित रहेका छन्। यसमध्ये १ करोड ६४ लाख १ हजार ४६० अर्थात् ९९.३९ प्रतिशतमा संक्रमण ‘माइल्ड’ अवस्थामा र ९९ हजार ८८ जनामा अर्थात् ०.६० प्रतिशतमा संक्रमण क्रिटिकल अथवा गम्भीर रहेको छ।

पोहोरको यसै समयमा कोरोनाको मृत्युदर ४ प्रतिशतसम्म रहेको थियो जुन अहिले २ प्रतिशतको हाराहारीमा कायम रहेको छ। मृत्युदर २ प्रतिशत कायम भएको देखिए पनि अहिले रहेका कुल सक्रिय संक्रमित १ करोड ६५ लाख ५४८ मध्ये जम्मा ९९ हजार ८८ जनामा संक्रमण गम्भीर अवस्थामा रहेको छ। अर्थात, कुल संक्रमित मध्ये ०.६ प्रतिशतमा मात्रै संक्रमण जोखिम अवस्थाको रहेको छ भन्न सकिन्छ। कोरोनाको मृत्युदर जुन अहिले पनि २ प्रतिशत कायम छ, आउने समयमा यो कम हुँदै जानेछ।

नेपालका सन्दर्भमा अहिलेसम्म ७ लाख १७ हजार ४८६ जनामा संक्रमण देखिएको छ। नेपालमा मृतक संख्या १० हजार ११५ रहेको छ। नेपालमा कोरोनाको मृत्युदर १.४० प्रतिशत रहेको छ। ६ लाख ६३ हजार ६६३ संक्रमित निको भैसकेका छन्। नेपालमा संक्रमण लागेर निको हुनेको प्रतिशत ९३.५३ रहेको छ।

नेपालमा अहिले ३६ हजार २८८ सक्रिय संक्रमित रहेका छन्। अहिलेसम्म भएका कुल संक्रमित मध्ये सक्रिय संक्रमितको प्रतिशत ५.०५ रहेको छ। पछिल्लो जानकारीअनुसार ३६ हजार २८८ जना सक्रिय संक्रमित मध्ये ८०२ जनाको आइसियु र १८१ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ। अन्यको अवस्था सामान्य छ।

नेपालमा अहिले कुल सक्रिय संक्रमित मध्ये ९८३ जना अर्थात २.७० प्रतिशत संक्रमितको अवस्था गम्भीर रहेको छ। नेपालमा सक्रिय संक्रमित मध्ये गम्भीर संक्रमितको प्रतिशत २ भन्दा बढी हुनु अवश्य पनि चिन्ताजनक छ। जहाँ विश्वमा यो प्रतिशत ०.६ मात्रै छ। नेपालमा यो २ प्रतिशतभन्दा पनि बढी हुनु राम्रो संकेत होइन।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिले १८२ देशमा कोरोनाको अल्फा भेरियन्ट, १३५ देशमा डेल्टा भेरियन्ट, १३२ देशमा बिटा भेरियन्ट र ८१ देशमा गामा भेरियन्टको प्रकोप जारी छ। नेपालका सन्दर्भमा भने यहाँ डेल्टा भेरियन्टका साथै डेल्टा प्लस भेरियन्टको प्रकोप रहेको पुष्टि भैसकेको छ। भारत र नेपालमा डेल्टा प्लस भेरियन्टले नै तेस्रो लहर ल्याउने सम्भावना रहेको छ।

नेपालले गरेको जिनोम सिव्क्वेन्सिंग अनुसार देशमा डेल्टा प्लस भेरियन्टका ६ वटा केस प्रमाणित भैसकेका छन्। अहिले नेपालमा प्रत्येक दिन ३ हजारभन्दा बढी संक्रमित थपिने क्रम जारी छ। २०-२२ जिल्ला खतराको निशान (जिल्लामा ५०० संक्रमित हुनु) भन्दा माथि छन्। नेपालमा आइसियु बेड र भेन्टिलेटर पर्याप्त मात्रामा छैनन्। अहिले नै यिनको अभाव देखा पर्न थालेको छ।

कोरोना संक्रमणसँग डराउनु आवश्यक छैन तर, यसको अर्थ जथाभावी गर्दै हिँड्ने पनि होइन। सुरक्षाका मानक र उपाय अवलम्बन गरेर सुरक्षित रहनुहोस्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *