बिहीबारदेखि देशभर मनसुन थप सक्रिय हुने, अधिकांश ठाउँमा भारी वर्षाको सम्भावना

हेल्थपोस्ट नेपाल

जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मनसुन थप सक्रिय हुने बताएको छ। मनसुन न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक आउने र सो प्रणालीका कारण देशभरी मनसुन सक्रिय हुने विभागले जनाएको छ।

मनसुन सक्रिय हुँदा बिहीबारदेखि केही दिन देशका अधिकांश ठाउँमा भारी वर्षा हुनसक्ने अनुमान विभागको छ।

बिहिबारदेखि प्रदेश १, प्रदेश २, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा शुक्रबार र शनिबार प्रदेश १, प्रदेश २, बागमती ,गण्डकी र लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रहसमेत गरेको छ।

यसैबीच, आज देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रहेको र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

देशभरका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही प्रदेश १, लुम्बिनी प्रदेश र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको पनि महाशाखाले जनाएको छ। तसर्थ नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु पनि उसले आग्रह गरेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *