दिनहुँ ६ प्रतिशतका दरले आइसीयू र भेन्टिलेटरका बिरामी बढ्दै, कहाँ कति खाली छन्?

हेल्थपोस्ट नेपाल

 

कोरोना संक्रमणको तेस्रो लहर सुरु हुने आँकलनसँगै अस्पतालमा भर्ना हुने बिरामीको संख्या पनि बढ्दै जान थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक केलाउने हो भने आइसीयूमा भर्ना हुने बिरामीको संख्या दिनहुँ ६ प्रतिशतका दरले बढ्न थालेको छ।

आइतबारको तथ्याङक अनुसार देशभर आईसीयूमा भर्ना हुनेको संख्या पाँच दिनमा १० प्रतिशतले बढेर ८०२ जना पुगेको छ।

त्यस्तै, भेन्टिलेटरमा भर्ना हुनेको दर एक हप्तामा १४ प्रतिशतले बढेको देखिन्छ भने एक दिनमा ६ प्रतिशतले बढेको पाइएको छ।

सातै प्रदेशको तथ्याङक अनुसार साउन २० गते ७१४ कोरोना संक्रमित आईसीयूमा उपचाररत थिए भने साउन २१ मा ७१३, २२ गते ७३२ र २३ गते ७४६ जना भर्ना भएका थिए।

त्यस्तै, भेन्टिलेटरमा उपचार गराउनुपर्ने मानिसहरुको संख्या पनि बढ्दो रहेको पाइएको छ।

साउन २० गते १५६ जना भेन्टिलेटरमा उपचाररत थिए भने २१ र २२ गते १५८÷१५८, २३ गते १६९ र २४ गतेसम्ममा १८१ पुगेको थियो।

उपत्यकामा पनि कोरोना संक्रमितले अस्पतालहरु भरिन थालेका छन्। अस्पतालमा रहेको भेन्टिलेटर र आईसियुहरुमा बिरामी यही अनुपातमा बढ्ने हो भने अबको पाँच दिनमा सबै आईसीयू र भेन्टिलेटरका बिरामी बढ्ने सम्भावना देखिन्छ।

उपत्यकाभित्र सरकारले तोकेका कोभिड अस्पतालहरुमा जम्मा ३११ आईसीयू शय्या छन् जसमा २१५ वटा भरिभराउ छ। भेन्टिलेटरको हकमा १३९ क्षमता छ भने ६९ शय्या भरिइसकेका छन्।

साउन २० गते उपत्यकामा १९१ आईसीयूमा, ८२५ एचडियुमा र ६२ जना भेन्टिलेटरमा उपचाररत थिए भने त्यो संख्या बढ्दै साउन २१ मा आइसीयूमा १८८, ८२५ जना भेन्टिलेटर र ६२ जना आइसीयूमा भर्ना भएका थिए।

दोस्रो लहरमा जस्तै कोरोना संक्रमित दैनिक ८ हजारभन्दा बढी देखिन थाले बाँकी रहेका आइसीयूहरुले थेग्न सक्दैनन्।

त्यसैगरी अस्पतालहरुमा शय्या अभाव उपचार गराउने ठाउँ तथा अस्पताल अभाव पनि देखिन सक्दछ।

कहाँ कहाँ बाँकी छन् आइसीयू र भेन्टिलेटर

शसस्त्र प्रहरी बल अस्पतालमा ४ आईसीयू र एक भेन्टिलेटर बाँकी छन्। वीरेन्द्र अस्पताल छाउनीमा एक आईसीयू बेडमात्र बाँकी छ भने एउटा पनि भेन्टिलेटर बाँकी छैन।

त्यस्तै, वीर अस्पतालमा ११ आईसीयू र दुई भेन्टिलेटर बाँकी छ।

नेपाल प्रहरी अस्पतालमा ९ आईसीयू, २ भेन्टिलेटर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आईसीयू १०, भेन्टिलेटर ५, त्रिवि शिक्षण अस्पतालमा १४ आईसीयू, १० भेन्टिलेटर, पाटन अस्पताललाई ५ आईसीयू र १२ भेन्टिलेटर बाँकी छन्।

निजामति कर्मचारी अस्पतालमा दुई आईसीयू र ५ भेन्टिलेटर, भक्तपुर अस्पतालमा ३ आईसीयू र दुइ भेन्टिलेटर बाँकी छन्।

त्यस्तै काभ्रे तथा अन्य ठाउँहरुबाट उपचारका लागि आउने धुलिखेल अस्पतालमा २४ र भेन्टिलेटर ४ वटा मात्र बाँकी रहेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *