पहिलो मात्रा कोभिसिल्ड लगाएकाहरुलाई आजदेखि एस्ट्राजेनेकाको खोप दिइँदै
पहिलो मात्रा कोभिसिल्ड खोप लगाएकाहरुलाई आजदेखि एस्ट्राजेनेकाको खोप दिइँदै छ। भुटान र जापानबाट ल्याइएको एस्ट्राजेनेका खोप लगाउने अभियान आजदेखि सुरु भएको हो।
प्रदेश १ र २ बाहेक पाँचवटा प्रदेशमा आजदेखि खोप अभियान सुरु भएको हो। कोभिसिल्ड लगाएका १३ लाख ६८ हजार बढीले लामो समयदेखि दोस्रो डोज पाएका छैनन्। भारतले खोप नदिँदा उनीहरुले दोस्रो डोज पाएका थिएनन्। कोभिसिल्ड र एस्ट्राजेनेका एउटै कम्पोजिसनबाट बनेकोले यो खोप दिन लागिएको हो।
स्वास्थ्य कार्यलय काठमाडौंले आज र भोलि खोप दिइने जनाएको छ। खोप लगाउन जाँदा पहिलो मात्रा खोप लगाएको खोप कार्ड अनिवार्य रूपमा लैजानुपर्ने छ। त्यसका साथै विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहितको नम्बर चाहिने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।
भुटानबाट २ लाख ३० हजार तथा जापानबाट १६ लाख मध्ये ८ लाख डोज एस्ट्राजेनेकाको खोप नेपाल आइसकेको छ।
अहिलेसम्म एक करोड मात्रा खोप नेपाल आइपुगेको छ। यसमध्ये ६० लाख मात्रा खोप खरिद गरिएको छ। चीनबाट ४० लाख भेरोसेल र भारतबाट २० लाख कोभिसिल्ड खोप खरिद गरिएको हो। भारतबाट खरिद गरिएकोमध्ये १० लाख मात्रा खोप अझैसम्म आपूर्ति भएको छैन। यसैगरी भारतबाट अनुदानमा ११ लाख कोभिसिल्ड र चीनबाट १८ लाख मात्रा भेरोसेल खोप अनुदानमा प्राप्त भएको छ। यस्तै कोभ्याक्स अन्तर्गत ३ लाख ४८ हजार कोभिसिल्ड र अमेरिकाबाट १५ लाख ३४ हजार जोनसन एण्ड जोनसन खोप अनुदानमा प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।