कीर्तिपुरको डेरामा डाक्टरी सपना फुलाउने जनकपुरिया ‘आसिक’

हेल्थपोस्ट नेपाल
पलङभरि छरिएका लुगा अनि थुप्रिएका किताव पन्छाउँदै बस्ने बेला उनले आफ्ना दाईलाई भने- दे विल सेन्ड अ कार…।

शनिबार बिहान कीर्तिपुरको ‘राराहिल’ नजिकै तीन तले घरको ‘विद्यार्थी’ डेरामा उनी ‘विश्व निकेतन’को कलेज ड्रेसमा थिए। शुक्रबार साँझ ‘डाक्टरी’ पढ्न चाहने करिब ११ हजार विद्यार्थीलाई उछिन्दै उनी पहिलो भए। रिजल्ट उनी आफू आँखाले हेर्न पाएका थिएनन्, मोबाइल अनवरत बजिरह्यो।

अघिल्लो दिनदेखि नै पत्रकारहरूलाई जवाफ दिँदादिँदा उनको मोबाइल नै सुस्ताएको थिएन। बधाई अनि शुभकामना सन्देशहरूको हुल उत्तिकै थियो।

हेल्थपोस्ट  टिम उनको डेरामा पुग्दा उनलाई एउटा टेलिभिजनले आइतबार बिहानका लागि स्टुडियोमै निम्तो गरेको थियो र त्यसका लागि टेलिभिजनले आफ्नै गाडी पठाउने भएको थियो। फोनमा कुराकानी सकेर उनले आफूलाई लिन कार आउँदै गरेको सन्देश आफ्ना दाइलाई सुनाए।

अग्ला-अग्ला खुट्टा भएका दुईवटा खाट त्यो साँघुरो एककोठे डेरामा कोचिएका थिए। अटेस-मटेस किताब र कापीहरूले भरिएको कोठाको अर्को कुनामा उनका एकजना दाई खाना पकाउँदै थिए। अघिल्लो दिन ल्याएको मिठाइको पोकामा केही डल्ला लड्डु बाँकी थियो।

सरकारी सान-आसिक झा।

शुक्रबार नतिजा प्रकाशित भएपछि हतार-हतार उनी इन्टरनेटमा हेर्दै थिए। सर्भर ह्याङ भइरह्यो। कसैले उनलाई फोन गरेरै थाहा दियो- टपर नै भएछस् त…!

आफ्नै आँखाले रिजल्ट त उनले धेरैपछि मात्रै देख्न पाए।

जनकपुर-४ विश्वकर्मा चोकमा जन्मिएका आसिक ले त्यहीँको एउटा सरकारी स्कुल श्री मावि जनकपुरधामबाट एसइई पास गरे। नजिता ३.७ जिपिए थियो।

प्लस टु पढ्नका लागि उनी काठमाडौं आए। उनका दाजु अघिल्लो वर्ष नै काठमाडौं आइसकेका थिए। सेन्ट जेभिएर कलेजमा उनले प्रवेश परीक्षा दिए। सजिलै पास गरे। त्यो कलेजले धेरै पैसा माग्यो।

एसइई दिएपछि उनको सपना थियो- काठमाडौं गएर ‘ए लेभल’ पढ्ने। सेन्ट जेभिएरमा नाम त निस्कियो तर त्यसका लागि ३ लाखभन्दा बढी लाग्ने भयो। प्लस टु मात्रै पढ्दा पनि करिब २ लाखजति लाग्थ्यो। त्यसमा पनि कम्तीमा ५ लाख खर्च गर्नसक्छु भन्ने अभिभावकको ‘कमिटमेन्ट।’

उनका बुवा पवननारायण झा एउटा सरकारी स्कुलमा अस्थायी शिक्षक थिए। सरकारले अस्थायी शिक्षक हटाउँदा उनको जागिर गयो। अहिले बुवा बेरोजगार छन्। आमा विशुद्ध गृहणी।

जनकपुरबाट प्लस टु पढ्न काठमाडौं आउँदा आसिकसँग अरू केही थिएन, शिवाय जागिर खोसिएका बाबु र आमाको ‘शुभाषिश’।

‘ए-लेभल’ पढ्ने सपना आसिक ले त्यही सेन्ट जेभिएरको रिसेप्सनमा बिसाइदिए। त्यसपछि काम लाग्यो उही सरकारी। सरकारी क्याम्पस खोज्दै उनी त्रिपुरेश्वरको विश्व निकेतन पुगे। एक कक्षा देखि नै सरकारी स्कुल पढेका आसिकका लागि त्यही विश्वनिकेतन ‘ए-लेभल’ मात्रै होइन, ‘सबकुछ’ भइदियो।

३.७३ जिपिए लिएर विश्वनिकेतनबाट प्लस टु गरेका उनले अहिले चिकित्सा शिक्षाशास्त्र अध्ययन संस्थानले लिएको प्रवेश परीक्षामा करिब ११ हजार विद्यार्थीलाई पछि पारिदिए। काठमाडौं आएर प्लस टु पढ्दै गरेको एउटा जनकपुरिया ठिटो त्यसपछि रातारात चर्चित भयो।

एकछिन अघिसम्म काठमाडौंले एउटा ‘जाबो’ आसिक झालाई किन पनि चिन्थ्यो र कसले पो मतलव गर्थ्यो र? त्यसपछि त उनलाई काठमाडौंमात्रै होइन सारा विश्वभरि खोजी भयो। देश-विदेशका सारा नेपालीले उनलाई पछ्याउन थाल्यो। क्षणभरमै आसिकका कहानी लेखिए।

‘सरकारी पनि कम छैनन्’ त्यसका दरिलो साक्षी बनेका आसिक भन्छन्, ‘सरकारी भनेको सरकारी नै हो। तर, ठाउँले पनि फरक पार्दोरहेछ।’

जस्तो कि आसिक तुलना गर्छन्- जनकपुर र काठमाडौं। ‘हो ठाउँ भनेको त यही नै हो। त्यो २ नम्बर प्रदेश हो। भनेपछि तपाईं पत्रकारहरूले आफैं बुझ्नुहुन्छ। नत्र म किन काठमाडौं आउँथे र!’

स्कुल नभएका होइनन्, शिक्षक नभएको होइन, विद्यार्थी पनि नभएका होइनन् तर पढाइ भने छैन। जनकपुरमात्रै होइन, देशभरकै सरकारी शिक्षाको गुणस्तर त्यस्तै हो। तर, काठमाडौंमात्रै होइन देशका धेरै ठाउँमा केही ‘विश्वनिकेतनहरू’ छन् जसले थुप्रै आसिकहरू जन्माएका पनि छन्।

‘सबै कुरा स्कुल वा टिचरमात्रै भनेर पनि हुँदैन’ आसिक भन्छन्, ‘त्यो त विद्यार्थीमा पनि भर पर्छ, कसरी पढ्ने भनेर।’

त्यसैले आसिकका नजरमा सरकारी स्कुल र त्यहाँ पढेका विद्यार्थी हेपिएका मात्रै छैनन्, सरकारी सान भएर पनि निस्केका छन्।

कसरी पढ्ने? – आसिक आइडिया

२ सय पूर्णाङ्कको त्यो परीक्षामा आसिक ले त सोचेका थिए- २ सयमा २ सय नै हान्दिन्छु। तर, परीक्षा दिइसकेर डेरामा पुगेपछि उनी घोत्लिए। केही प्रश्नहरूको जवाफमा ‘कन्फ्युजन’ थियो। ती सब कटाएर पनि उनले त्यस्तै आंकलन गरेका थिए। नभन्दै उनले २ सय पूर्णाङ्कमा १८६ अंक ल्याए।

‘किताबका सारा ठेली त कहाँ पढ्न सकिन्छ र?’ बजिरहेको मोबाइल आफ्ना दाइलाई थमाइदिँदै उनले भने – कन्टेन्टमा फोकस हुने हो। त्यसको थिममा जाने हो। अक्षर-अक्षर पढेर साध्य लाग्दैन।

प्लस टु सकेर उनी त्यही आइओएमको परीक्षाका लागि तयारी गर्न थाले। केही समय एउटा निजी इन्स्टिच्युट(नेम) मा पढे। त्यहाँ पनि हरेक परीक्षामा ‘टप’ नै भए। त्यसैले नेममा उनको पढाइ लगभग ‘फ्रि’जस्तै भए।

‘टेस्ट एक्जामहरू भइरहन्थ्यो। सबैमा मैले नै टप्थें’ पुलंकित हुँदै आसिक भन्छन्, ‘नगद पुरस्कार पनि हुन्थ्यो। त्यसले कापी-कलम किन्न पुग्थ्यो। पुस्तकहरू पनि फ्रिमै पाएँ।’

उनले केही युट्युब च्यानलहरूबाट पनि धेरै कुरा सिके। जस्तो कि इन्डियाबाट सञ्चालन हुने ‘फिजिक्सवाला’, ‘बायो मेन्टर्स’ जस्ता युट्युब च्यानलहरूमा त्यसका लागि नि:शुल्क आइडिया र सामग्रीहरू पाइन्छन्। त्यहाँबाट पनि उनले धेरै कुरा सिके।

‘प्रविधिको जमाना छ। किताबका ठेलीमात्रै पढेर कहाँ हुन्छ?’, उनी भन्छन्, ‘त्यसमा पनि अहिले त झन् प्रविधि नभइ नहुने भयो। मैले पनि नेममा पढ्दा पढ्दा लकडाउन भइदियो। अनि क्लास नै बन्द भइदियो। त्यसपछि पढ्ने भनेकै अनलाइन त हो नि!’

डाक्टर सपना

आफू ‘टप’ भएको खबर सबैभन्दा पहिला उनले आफ्नो आमालाई सुनाए। सायद खुसीका आँशु पनि भरिए होलान्। केही बेर त आमा बोल्नै सकिनन्। अनि भनिन् – बधाई छ। राम्रोसँग डाक्टर बन्नु। त्यसपछि बुवालाई पनि त्यो खबर सुनाए। बुवा पनि खुब खुसी भए। त्यो बेलासम्म उनका दाजुले डेरामा एक पोका मिठाइ ल्याइसकेका थिए। डेरामा बसेका तीनजना दाजुभाइले खुसियाली साटे।

उनका दाइ पनि आयुर्वेदमा डाक्टरी पढ्दैछन्। आइओएमबाटै बिएएमएस (ब्याचलर्स अफ मेडिसिन एन्ड सर्जरी) मा नाम निकालेका उनी कीर्तिपुर कलेजमै पढ्छन्। त्यसैले आशिक पनि दाइकै डेरामा छन्। उनकै अर्का दाइ पनि त्यही कोठामा बस्छन्।

सेतो गन्जी र हाप पाइन्ट। घाँटीमा ठूला-ठूला रुद्राक्ष माला भिरेका उनका दाजु अम्बेश पनि दंग छन्। एउटा साँघुरो डेरामा उकुसमुकुस एउटा सपनाले अब गन्तव्यको बाटो समातेको छ।

आसिकका बुवा आफैं शिक्षक थिए। आमा पनि एसएलसीसम्म पढेकी। उनी सानैदेखि पत्रपत्रिकामा रुची राख्थे। समाचारहरू हेर्थे र सुन्थे। अनि पढ्थे।

स्कुले जीवनमा उनले ‘डाक्टरका लापरबाहीले बिरामीको मृत्यु’ भन्ने हेडलाइनहरू धेरै पढे। धेरै सुने। धेरै देखे-जनकपुरमा अस्पतालहरू फोडिएका, डाक्टर कुटिएका। र, त्यहीबेला उनमा सपनाहरू सल्बलाउन थालेका थिए-अब भविष्यमा डाक्टरै बन्ने हो। उनलाई लाग्थ्यो र अहिले पनि लाग्छ-कसैको ज्यान बचाउने डाक्टरहरू लापरबाही गरेर कसैको ज्यान लिनै सक्दैनन्।

जब कुनै सपनाले पछ्याउन थाल्छ अनि जीवनको गति पनि कहाँ थामिन्छ र!

डाक्टर बन्नका लागि ४०-५० लाख लाग्छ भन्ने थाहा थियो। तर पनि हिम्मत थियो- छात्रवृत्तिमै नाम निकाल्छु। लक्ष्य चुम्नका लागि त सपना देख्नैपर्छ।

आसिकले अब आइओएमकै शिक्षण अस्पताल महाराजगन्जमै पढ्नेछन्।

‘सबैको रोजाइ त्यही नै हुन्छ। मेरो सपना पनि त्यही नै हो। अब त्यो ४०-४५ लाख त तिर्न पर्दैन। तर, अरू खर्च त लाग्छ नै। होस्टेल नपाए केही वर्ष त आफ्नै खर्चमा बसेर पढ्नुपर्छ। त्यो त जसोतसो म्यानेज गर्नैपर्ला। अहिले पनि घरबाट आएको खर्च खाजा नै नखाएर चलाइरहेका छौं’, उनले भने।

भात बसाएको प्रेसर कुकरमा सिठ्ठी लाग्यो। कराईमा पाकिरहेको करेलाको तरकारी चलाउँदै उनका दाइले भने, ‘बाटो त भेटियो। तर, अब झन् कठिन छ। अझ धेरै मेहनत त गर्नै बाँकी छ।’

र, १८ वर्षे आसिक अबको ४ वर्षपछि २२ वर्षे डा. आसिक झा भएर निस्किने छ।

 



One thought on “कीर्तिपुरको डेरामा डाक्टरी सपना फुलाउने जनकपुरिया ‘आसिक’

Leave a Reply

Your email address will not be published. Required fields are marked *