कोरोनाको तेस्रो लहरको संकेत, देशभर १८१ भेन्टिलेटर सहित ८ सय भन्दा बढी आइसियूमा भर्ना

हेल्थपोस्ट नेपाल

 

निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस संक्रमणको ग्राफ पनि उकालो लागको छ। पछिल्ला हप्ताको तथ्यांक हेर्दा संक्रमणदर उकालो लागेको देखाउँछ।

सरकारले निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै लगेसँगै संक्रमणको दर पनि बढ्दै गएको पाइएको हो। निषेधाज्ञा खुलेसँगै भीडभाड तथा जनस्वास्थ्यमा मापदण्ड लागू नगर्नेजस्ता कारणले संक्रमणको दर बढेको जनस्वास्थ्य विज्ञ बताउँछन्।

बढ्न थाल्यो आइसियूमा भर्ना हुने संख्या

काठमाडौं उपत्यकाका अस्पतालमा आइसियु र भेन्टिलेटरमा भर्ना हुने बिरामीको संख्या पनि बढ्दै जान थालेको छ।

आइतबार मन्त्रालयको जारी गरेको तथ्यांक अनुसार देशभरका विभिन्न अस्पतालमा १८१ भेन्टिलेटर सहित ८०२ जना आइसियूमा उपचार भइरहेको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा कोरोना संक्रमणका कारण गम्भीर बिरामी भएर उपचार गर्न आउने बिरामीको संख्या बढ्दै गएको छ।

केही दिनयता कोरोनाका बिरामीको संख्या बिस्तारै फेरी उकालो लाग्न थालेको अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले बताए।

‘निषेधाज्ञा खुकुलो हुनु अगाडि अस्पतालको आईसियुमा बिरामी घट्दै गइरहेको थियो। आधाभन्दा बढी आइसियू खाली भइसकेका थिए,’ उनले भने, ‘ पछिल्लो केही दिन यता पुन गम्भीर संक्रमित भर्ना हुने संख्या बढेको छ।’

केही दिनको अन्तरालमा आइसियू भरिभराउ भएको उनले बताए।

‘अहिले सबै बेडहरू भरिएका छन्। पछिल्ला केही दिनको बिरामाीको चाप लागि छिट्टै नै तेस्रो लहर आउने देखिन्छ,’ डा. बाँस्तोलाले भने।

पछिल्लो विवरण अनुसार बागमती प्रदेशमा सबैभन्दा बढीसंक्रमितको उपचार भइरहेको छ।

मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार बागमतीमा १०४ भेन्टिलेटर र ५१९ को आइसियूमा उपचार भइरहेको छ।

त्यसैगरी, प्रदेश १ मा ५२ भेन्टिलेटर र १४१ आइसियूमा , गण्डकीमा २ भेन्टिलेटर सहित ६५ आइसियूमा, लुम्बिनीमा १७ भेन्टिलेटर सहित ६० जनाको आइसियूमा उपचार भइरहेको छ।

त्यसैगरी, सुदुरपश्चिमा ५ भेन्टिलेटर सहित ८ जनाको आइसियू, कर्णालीमा १ भेन्टिलेटर सहित ६ आइसियू र प्रदेश २ मा ३ जनाको आइसियूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

आइतबार मात्रै १२ हजारको हाराहारीमा कोरोनाको नुमना परीक्षण हुँदा २ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही समयमा ५० जनाले ज्यान गुमाएका छन्।

१६ जिल्लामा ५०० भन्दा बढी

अहिले ५०० भन्दा बढी संक्रमित भएका जिल्ला १६ वटा रहेका छन्। जसमा मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, काभ्रे, मकानपुर, चितवन, कास्की, नवलपरासी (पूर्व), बाग्लुङ, गोरखा, रुपन्देही र सुर्खेत छन्। यसैगरी २०० भन्दा बढी संक्रमित हुने जिल्ला २० पुगेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *