कोरोना, खाेप र ‘डर’

हेल्थपोस्ट नेपाल

 

स्नातकोत्तर अध्ययनपश्चात प्राथमिक स्वास्थ्य केन्द्रमा समायोजन भएको हुनाले त्यहाँ काम गर्न गएको थिएँ। कोभिडको भ्याक्सिन कार्यक्रम राखिएको समय परेछ। आफू नयाँ भएको हुनाले त्यहाँको वातावरण बुझ्ने कोसिसमा थिएँ। स्नातकोत्तरको अध्ययनपश्चात प्राथमिक स्वास्थ्य केन्द्रमा काम गर्न बाध्य हुनु राज्यको लागि नै जनशक्ति सदुपयोग नहुनु हो। न आएका बिरामीलाई रोगको वास्तविक निदान गर्न सकिन्छ न त भर्ना गरेर उपचार गर्ने संयन्त्र नै हुन्छ।

भ्याक्सिन, जुकाको औषधी आदी रोग निवारण गर्ने कार्यका निम्ती भने उपयोगी हुन सक्ला। म कार्यरत स्वास्थ्य केन्द्रले पनि ठूलो भू–भागलाई सेवा दिनुपर्ने हुँदा भ्याक्सिन नपुगेर रोइलो हुने अनुमान गरेको थिएँ। तर, आशाभन्दा विपरीत हुन पुग्यो।

टन्टलापुर घाममा वडावडाका जनताहरुले भ्याक्सिनका लागि दर्ता गरेका छन्। लामबद्ध भएर भ्याक्सिनका लागि पालो कुर्दै छन्। एकआपसमा भलाकुसारी गर्दै छन्। भ्याक्सिनका बारेमा सुनेका सत्य–असत्य कुराहरु भनिरहेका छन्। चाइनिस भ्याक्सिन हो। डुप्लिकेत हुन्छ। कसलाई पता छ१ भ्याक्सिनले प्यारालैसिस गर्छ रे!

भ्याक्सिनको काम छैन। भ्याक्सिन एक्स्स्पेरिमेन्ट गरिरहेछन्, आदी मनगढन्ते कुराहरु चर्किँदै थिए। यसै पनि ३५० जनालाई लगाउन मिल्ने गरी आएको भ्याक्सिनले यति धेरै मानिसहरुलाई कसरी पुर्याउने होला भनेर चिन्तित थिएँ म। तर आश्चर्य, बल्लतल्ल ९० जना जति मात्रै पुगे। जनतामा खबर नपुगेर कार्यक्रम त असफल हुने भयो भनेर सबै महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई फोन गर्न थालियो। सबैको एउटै उत्तर, सर, सब डराइरहेछन्। जति बुझाउन खोज्दा पनि बुझ्दैनन्। एक त सेवाग्राही नै कम देखिए। त्यसमाथि लाइनमा एकअर्का बीचमा भएका मनगढन्ते कुराहरुले धेरैलाई भड्काउने काम गर्यो। त्यस्ता कुराहरु गर्ने व्यक्तिलाई बोलाएर सम्झाउन पनि खोजियो। सबैले जानेसुनेको महाराजगञ्ज टिचिङमा हुँदासम्म त मैले भनेका कुराहरु मान्छेले विश्वास गर्थे। यहाँ त मैले भनेका कुरामा विश्वास नै गरेनन्। ठाउँको प्रभावको पहिलो अनुभव भयो। व्यक्ति त उही नै हो, ठाउँ फरक भयो। जनतामा बसेको ठूलो ठाउँ र सानो ठाउँको छापको असर हो भनेर चित्त बुझाएँ। र, विश्वासको जरो पनि कम हुनु स्वभाविक नै हो।

भ्याक्सिन नि:शुल्क प्राप्त गर्न पाउनु नै भाग्य हो। नि:शुल्क प्राप्त भएको भ्याक्सिन हुँदा त लगाउने–नलगाउने जनमानसमा दुविधा छ भने शुल्क लिएर लगाउन पर्ने भए त उपस्थिती शून्यसरह नै हुन्थ्यो होला। हुन त शुल्क तिरेको सक्कली र नि:शुल्कको जिनिस नक्कली भन्ने आशंका पनि हुन सक्छ। कोभिडको उपलब्ध जुनसुकै भ्याक्सिन लगाउँदा नगण्य बेफाइदा होला। जस्तै : ज्वरो आउने, शरीर गलेजस्तो हुने, एलर्जी हुने, खोपेको ठाउँमा दुख्ने, सुन्निने। कसैलाई भ्याक्सिनको एलर्जी भएर सिकिस्त पारेको इतिहासमा रहेछ भने पनि विशेष निगरानीमा लगाउन सकिन्छ।

जो कोहीलाई पनि एलर्जी हुन सक्ने हुनाले र भएको खण्डमा उपचारका निम्ति औषधिहरु तथा चिकित्सकको विशेष निगरानी हुने हुँदा भ्याक्सिन लगाउनु नै बुद्धिमता हो। त्यसमाथि कोभिड भ्याक्सिनको प्रभाव भने निकै राम्रो रहेको विभिन्न अध्ययनले देखाएका छन्। भ्याक्सिन लगाएर हुने जोखिम नलगाउँदा हुने कोभिडको जोखिमभन्दा निकै कम रहेकोले भ्याक्सिन लगाउन विशेष जोड गर्नुपर्ने हुन्छ।

सुरुसुरुमा मानिसहरु खोप लगाउन निकै डर मान्ने गर्थे। विफरको खोप लगाउँदा मान्छेहरु भाग्ने गर्थे। हाम्रो देशमा धेरै वर्षको परिश्रम पश्चात खोप कार्यक्रमले राम्रो सफलता हासिल गरेको देखिन्छ। बच्चालाई खोप लगाउन पर्छ भन्ने चेतना विकास भैसकेको छ। यद्यपि, पूर्णखोप सम्भव नहुनुमा अशिक्षा, गरिबी, चेतानाको कमी र भौगोलिक विकटता नै रहेका छन्। समाजको शिक्षाको अवस्थाले चेतनाको स्तर झल्किने गर्छ। अशिक्षा र गरिबी स्वास्थ्यको पहुँच र चेतनासँग अन्तरसम्बन्ध राख्ने गर्छ।

स्वास्थ्य शाखाका कार्यहरु बुझेर योजना बनाउन स्वास्थ्यकै जानकार व्यक्तिलाई दिनु उत्तम हुन्छ। सबै कुरा बाटो खनेजस्तो हुँदैन। सधैं बाटो बनाउने र पिच गर्नमै स्थानीय निकायहरुको ध्यान गएकोले स्वास्थ्य सेवामा चौतर्फी फड्को मार्न नसकिने हुनसक्छ। स्थानीय तहका जनप्रतिनिधिहरुले कमसेकम कार्यरत चिकित्सकको कुरा सुनेर योजना बनाउने भए कति जाति हुन्थ्यो होला! विडम्बना, स्वास्थ्य क्षेत्रमा कार्यसम्पादनका लागि मन फूकाएर काम गर्ने वातावरणको कमी देखिन्छ। योग्यताअनुसार काम गर्न र यथोचित सुविधाहरु नपाउनुले तिक्तता जम्मा हुने गर्छ। जसले गर्दा चिकित्सकमा राष्ट्रबाट नै पलायनको मानसिकता बढ्दो छ। जसलाई अस्वभाविक मान्न पनि सकिन्न।

कोभिडको भ्याक्सिन लगाउन आनाकानी गर्नु बुद्धिमानी पटक्कै हैन। अब कोभिडको प्रकोप बढ्दै जाने अवश्यम्भावी छ। त्यसैले मास्क लगाउने, हात धुने, भ्याक्सिन लगाउने कामहरु अनिवार्य रुपमा गर्नुपर्छ। चिउँडोमा मास्क लगाउनु फेसन हुन सक्ला। तर, कोभिडबाट सुरक्षा हुन सक्दैन। भ्याक्सिन नलगाएर कोभिड हावा हो भन्न सकिएला। तर, कोभिड लागेर बाँच्न मुस्किल भएको अनुभव जानाजान यस्तो गर्न खोज्नु मुर्खता नै हो। भ्याक्सिनका सम्बन्धमा अफवाह फैलाउने कामले जनसहभागिता कम देखिन्छ। त्यस्ता कुराहरुको पुष्टि सामाजिक सञ्जालमा खोजेर भन्दा चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ। भ्याक्सिन लगाऔं, सचेत नागरिकको धर्म पालन गरौं।



Leave a Reply

Your email address will not be published. Required fields are marked *