सरकारको एकल प्रयासले कोरोना महामारी नियन्त्रण हुँदैन : देउवा

हेल्थपोस्ट नेपाल

 

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीलाई परास्त गर्ने एकमात्रै अस्त्र भनेको खोप भएको बताएका छन्। भिडियो सन्देश जारी गर्दै देउवाले अहिले विभिन्न उमेर समूहलाई खोप लगाउने कार्य जारी रहेको भन्दै महामारी नियन्त्रणको अस्त्र खोप भएको उल्लेख गरे।

प्रधानमन्त्री देउवाले सबै नेपालीले महामारीको सामना गरिरहेको भन्दै नेपालमा तेस्रो लहर सुरु हुने संकेत आइरहँदा स्वास्थ्य मापदण्डहरु सबैले पालना गर्नुपर्ने बताए।सरकारको एकल प्रयासले कोरोना नियन्त्रण नहुने भन्दै देउवाले यसमा सबैले मिलेर साथ दिनुपर्ने बताए।

‘तपाईं, हामी सबै महामारीको सामाना गरिरहेका छौं। छिट्टै तेस्रो लहर सुरु हुने संकेत देखापरिरहेको छ। सरकारको एकल प्रयासले मात्र महामारी नियन्त्रण हुँदैन। तपाईं-हामी सबै मिलेर मात्र यलसलाई पार लगाउन सकिन्छ। त्यसैले म तपाईंहरुसँग आग्रह गर्छु, अत्यन्त आवश्यक परेको बेलामात्र बाहिर निस्कनुस्। नाक र मुख राम्रोसँग छोपिने गरी मास्क लगाउनुस्। भौतिक दूरी कायम गर्नुस् र बेलाबेलामा साबुनपानीले हात धुनुस्।’, देउवाले भनेका छन्।

प्रधानमन्त्री देउवाले सम्पूर्ण राजनीतिक दल तथा संघसंस्था र निजी क्षेत्रलाई भीडभाड हुने कार्यक्रम नगर्न अनुरोध गरेका छन्। ‘मलाई पूर्ण विश्वास छ सबैको साझा प्रयासले महामारी परास्त गर्न हामी सफल हुनेछौं’, देउवाले भने।



Leave a Reply

Your email address will not be published. Required fields are marked *