काेराेना संक्रमण- संख्यामा नअल्झिऔं, आगामी दिन अझै कष्टपूर्ण हुनेछन्
बिहीबार प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिमा स्वास्थ्य मन्त्रालय अन्तर्गतको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डाक्टर गुणराज लोहनीले दिनलाई रात बनाउने काम गरेका छन्।
डा. लोहनी प्रमुख रहेको महाशाखाले आगामी ५ महिनाभित्र अर्थात् आउदो मंसिरसम्ममा देशमा देखा पर्नसक्ने सम्भावित कोरोना संक्रमितको संख्या प्रक्षेपित गर्नुभएको छ। उहाँका अनुसार मंसिरसम्ममा १ लाख ९३ हजार ८५६ कोरोना संक्रमित थपिने सम्भावना छ। महाशाखाका अनुसार चल्दै गरेको साउन महिनामा ५३ हजार ३०७ संक्रमित, भाद्रमा ४५ हजार ३२६, असोजमा ३८ हजार ५९७, कार्तिकमा ३१ हजार ४४ र मंसिरमा २५ हजार १८३ कोरोना संक्रमित थपिने छन्।
भारतका तात्कालिन प्रधानमन्त्री इन्दिरा गान्धीले लगाएको इमर्जेन्सी ताका बनेको ‘शोले’ फिल्म आफ्ना डायलागका लागि निकै चर्चित भएको थियो। ‘कितने आदमी थें?, तेरा क्या होगा कालिया? बसन्ती इन कुत्तो के सामने मत नाचना’, आदिआदि। अचेल मलाई यसै फिल्मको एउटा अर्को डायलग सम्झना आइरहन्छ, ‘ठाकुर ने गब्बर से लड्ने के लिए हिजड़ो की फौज बनाई है।’ खैर स्मृति त हो, तपाईंलाई केही कुराको स्मृति आउँछ होला, मलाई केही अन्य कुराको। स्मृति, रुचि, अनुभव र आ-आफ्नो मनस्थितिअनुसार तल-माथि भैरहने कुरा हो।
माथि कुनै पंक्तिमा डाक्टर गुणराज लोहनीमाथि दिनलाई रात बनाउने आक्षेप आक्रोशमा होइन जानीजानी लाएको हुँ। अब यस आक्षेपलाई पुष्टि गर्ने दायित्व निर्वाह गरौं। यसका लागि अलिकति विगतको यात्रा गर्नुपर्ने हुन्छ। धैर्य राख्नु होला।
स्वास्थ्य मन्त्रालयले प्रत्येक दिन देशमा देखा परेका नयाँ कोरोना संक्रमितको तथ्यांक सार्वजनिक गर्छ। विगत २१ दिनको अर्थात चलिरहेको साउन महिनाको तथ्यांक नजर गरौं-
१ गते देखिएका कोरोना संक्रमित संख्या —- २,९३६
२ गते देखिएका कोरोना संक्रमित संख्या —- १,८७५
३ गते देखिएका कोरोना संक्रमित संख्या —- १,८०१
४ गते देखिएका कोरोना संक्रमित संख्या —- २,४४५
५ गते देखिएका कोरोना संक्रमित संख्या —- ३,१०८
६ गते देखिएका कोरोना संक्रमित संख्या —- २,८३८
७ गते देखिएका कोरोना संक्रमित संख्या —- २,७१४
८ गते देखिएका कोरोना संक्रमित संख्या —- २,९७७
९ गते देखिएका कोरोना संक्रमित संख्या —- ३,११४
१० गते देखिएका कोरोना संक्रमित संख्या —- २,२३७
११ गते देखिएका कोरोना संक्रमित संख्या —- ३,४२१
१२ गते देखिएका कोरोना संक्रमित संख्या —- ३,८९९
१३ गते देखिएका कोरोना संक्रमित संख्या —- ३,८४०
१४ गते देखिएका कोरोना संक्रमित संख्या —- ३,६६५
१५ गते देखिएका कोरोना संक्रमित संख्या —- ३,६११
१६ गते देखिएका कोरोना संक्रमित संख्या —- ३,१०६
१७ गते देखिएका कोरोना संक्रमित संख्या —- २,५६८
१८ गते देखिएका कोरोना संक्रमित संख्या —- ३,१२५
१९ गते देखिएका कोरोना संक्रमित संख्या —- ३,३८३
२० गते देखिएका कोरोना संक्रमित संख्या —- ४,१०४
२१ गते देखिएका कोरोना संक्रमित संख्या —- ३,९३८
२१ गतेसम्म देखिएका कूल कोरोना संक्रमितको संख्या — ६४,७०५
कुनै पाठक अथवा डाक्टर गुणराज लोहनीलाई उपरोक्त तथ्यांकमा कुनै सन्देह वा दुविधा भए स्वास्थ्य मन्त्रालयले जारी गर्ने दैनिक बुलेटिनबाट रुजू गर्न सकिन्छ।
डाक्टर लोहनी प्रमुख रहेको महाशाखाले चलिरहेको साउन महिनामा ५३,३०७ जना कोरोना संक्रमित देखिने प्रक्षेपण गरेको छ। उनले यसो भनिरहँदा देशमा साउन महिनाको २१ गतेसम्म ६४,७०५ संक्रमित आइसकेका थिए। साउन ३२ दिनको महिना हो। यस महिनाका अझै १२ दिन बाँकी छन्। देशमा नयाँ कोरोना संक्रमित देखिने संख्या ४ हजार नाघिसकेको छ। यसै अनुपातले १२ दिनमा थप ४८ हजार नयाँ संक्रमित थपिने लक्षण जगजाहेर छ।
डाक्टर लोहनी, अहिले नेपालमा कोरोना संक्रमण डेल्टा कर्भ उन्मुख छ। ४-५ दिनसम्म ४०००-४५०० को अनुपातमा देखिने नयाँ कोरोना संक्रमित एकैपटक ६ हजारको अनुपातमा पुग्छ। साउन महिनाका बाँकी रहेका १२ दिनमा नै थप ६०-६२ हजार नयाँ संक्रमित थपिने झण्डै स्पष्ट नै छ। तपाईंको अध्ययनले साउन महिनामा जम्मा ५३ हजार ३०७ संक्रमित आउने देखाएको छ। महोदय, तपाईंले प्रवचन गरिरहँदा नै देशमा तपाईंले प्रस्तुत गरेको तथ्यांकभन्दा बढी (६४,७०५) संक्रमित आइसकेका थिए। एकपटक थाहा पाउँ न हजुर, कहाँको कालो पदार्थ सेवनले यस्तो सटिक गणित र तथ्यांक जम्मा हुन्छ?
नेपालका तथाकथित स्वयम्भु कर्णधार र प्रिय पाठकगण, आफ्नो छेउछाउमा रहेको कुनै वस्तुले मस्तिष्कमा प्रहार गरेर सजग-सचेत बनी कुनै किसिमको भय, डर नमानी अथवा विचलित नभई पढ्नुस। चलिरहेको साउन महिनामा २१ गतेसम्म ६४,७०५ जना संक्रमित देखिएका छन्। बाँकी रहेका यस महिनाका १२ दिनमा थप ६०-६२ हजार संक्रमित देखिने छन्।
अंग्रेजी महिनामा साउन २१ गते अगस्त २०२१ को ५ तारिख हो। भारत र नेपालमा अहिले पनि कोरोना भाइरसको दोस्रो लहरकै (डेल्टा भेरिएन्ट) प्रभाव छ। भाइरसको तेस्रो लहरले दस्तक मात्रै दिएको छ। अझै यसको प्रभाव व्यापक भैसकेको छैन। तेस्रो लहर आफ्नो यौवनमा पुग्न पुगनपुग एक महिना लाग्छ। तेस्रो लहरको कारक डेल्टा प्लस भेरियन्ट हुन गइरहेको छ। यसको संक्रमण प्रसार दर डेल्टा भेरियन्टभन्दा उच्च एवं भ्याक्सिनकाविरुद्ध प्रभावकारी रहेको छ। डेल्टा प्लसकाविरुद्ध प्रायः सबै भ्याक्सिनको इफिकेसी ६०-६५ प्रतिशत कम हुने रिपोर्ट प्रकाशित भैसकेका छन्।
डाक्टर लोहनीको अध्ययनले आगामी ५ महिना (मंसिरसम्म) मा १ लाख ९३ हजार ८५६ नयाँ कोरोना संक्रमित थपिने प्रक्षेपण गरेको छ, जुन नितान्त बाहियात छ। चलिरहेको साउन महिनाबारे प्रस्तुत गरिएको कपोलकल्पित तथ्यांकले नै उहाँको अध्ययन/अनुसन्धानलाई धोतीटोपी लाइदिइसकेको छ। कोरोनाको तेस्रो लहरका लागि भाद्र र असोज महिना (अक्टुबर १५-२० सम्म) अति जोखिमयुक्त रहेका छन्। साउन २१ गते देशमा कुल सक्रिय संक्रमित संख्या ३४ हजार ४२२ रहेको छ। भाद्र महिनामा सक्रिय संक्रमित संख्या १ लाखभित्र रहन सक्यो भने यसलाई ठूलो उपलब्धी नै मान्नु पर्ने हुन्छ। असोज महिनाको हालत पनि भाद्र महिना झैं नै रहने छ।
भाद्र र असोज दुवै महिनामा डेढ-डेढ लाख नयाँ संक्रमित आउन सक्ने सम्भावनालाई मध्यनजर गरी नेपाल सरकारले आफ्नो पूर्वतयारी गर्नु बुद्धिमत्ता हुनेछ। डेल्टा भाइरसको संक्रमण प्रसार दर यदि प्रारम्भिक अनुमान अनुसार (कथं कदाचित) रहने हो भने सुन्दा अप्रिय लागे पनि यसले पहिलो र दोस्रो लहरमा देखिएका कूल संक्रमित (साउन २१ गते सम्म) ७ लाख ७३ हजार ८६० मा अभूतपूर्व वृद्धि गर्यो भने कुनै अचम्म हुने छैन।
नेपालमा साउन २१ गतेसम्म कोरोना संक्रमणका कारण कूल मृतक संख्या ९ हजार ९९४ पुगेको छ। बैशाख १ गतेदेखि दोस्रो लहरको प्रभाव मान्ने हो भने गत वर्ष चैत ३१ गतेसम्म नेपालमा कूल मृतक संख्या ३ हजार ५८ रहेको थियो। यस हिसाबले दोस्रो लहरमा नेपालमा मृतक संख्या (बैशाख १ देखि यता साउन २१ सम्ममा जम्मा ११४ दिनमा) ६ हजार ९३६ हुन आउँछ। आफ्नो व्यक्तिगत प्रयोजनका लागि म १० हजारसम्मको मृतक संख्यालाई दोस्रो लहरको प्रकोप ठान्छु। यस संख्या पछि हुने मृत्युलाई तेस्रो लहरको प्रकोप ठान्छु।
अब त देशमा ६२-६३ लाख जनालाई भ्याक्सिन प्राप्त भैसकेको छ। के हामी तेस्रो लहरबाट हुने मानवीय क्षतिलाई दोस्रो लहरको संख्या भन्दा घटाउन सक्छौं? कोरोनाको भ्याक्सिनका साथै नेपाल सरकारको अस्मिता जोडिएको छ यो प्रश्नसँग। निश्चय पनि सरकारले समय रहँदै सबै किसिमका पूर्वतयारी सक्ने हो भने हामी तेस्रो लहरको सामना सजिलै गर्न सक्छौं। तर, दुःखका साथ भन्नु पर्छ सरकारको ध्यान यसतिर गएको छैन।
सबै पाठकवर्ग, मित्रवर्गसँग विनम्र अनुरोध छ, आगामी दुई महिना सचेत रहनुस्, सजग रहनुस्। कोरोना संक्रमण हुन नदिने सबै उपाय पूर्ण तदारुकताकासाथ पालन गर्नुस्।
स्वास्थ्य मन्त्रालयको प्रक्षेपण : साउनदेखि कोरोना संक्रमण घट्छ, मसिंरसम्म १० हजार गम्भीर