जापानले दिएको एस्ट्राजेनेका खोपको पहिलो खेप नेपाल आइपुग्यो
जापानले नेपाललाई दिने भनिएको १६ लाख डोज एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ। कतार एयरवेजको विमानबाट आज बिहान पाँच लाख १३ हजार डोज खोप नेपाल आइपुगेको हो।
पहिलो चरणमा ल्याउने भनिएको ८ लाख मध्ये बाँकी खोप आइतबार आउने छ। त्यसपछि बाँकी रहेको ८ लाख पनि छिट्टै ल्याइने स्वास्थ्य मन्त्रालयले जनाएको छ तर, मिति भने सार्वजनिक भइसकेको छैन। मन्त्रालयले बाँकी खोप पनि यही महिनाभित्र आइपुग्ने जनाएको छ।
काठमाडौं आइपुगेको खोप नेपालका लागि जापानी राजदूत किकुताले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरेका थिए।
शुक्रबार पनि भुटानबाट २ लाख ३० हजार डोज खोप नेपाल ल्याइएको थियो। भुटानले विभिन्न मुलुकबाट ल्याएको खोप आफ्ना नागरिकलाई लगाइसकेपछि बाँकी रहेको नेपाललाई दिएको हो।
कोभिसिल्ड खोपको दोस्रो डोजको पर्खाइमा रहेका नागरिकलाई सोमबारदेखि एस्ट्राजेनेकाको खोप दिइँदै छ। सोमबारदेखि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई खोप लगाइनेछ। प्रदेश-१ र प्रदेश-२ मा केही दिन ढिला हुने भए पनि यसै महिनाभित्र सुरु गरिने मन्त्रालयले जनाएको छ।