महामारीका समयमा चिकित्सकले पुर्याएको सेवाको राष्ट्रपतिबाट प्रशंसा

हेल्थपोस्ट नेपाल

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीविरुद्धको खोप सबै नेपालीले क्रमशः पाउने विश्वास लिएकी छिन्।

भण्डारीलले एकातिर सबै नेपालीले खोप पाउन नसकेको अवस्थामा नयाँ भेरियान्टसमेत देखापरिरहेको भन्दै क्रमशः सबैले खोप पाएर महामारी नियन्त्रण हुने विश्वास व्यक्त गरिन्।

नेपाल चिकित्सक संघले राष्ट्रपति कार्यालयमा आयोजना गरेको उमन इन मेडिसिन नेपाल कार्यक्रममा संवोधन गर्दै उनले महामारीका समयमा चिकित्सक महिलासहित, आम चिकित्सक, स्वास्थ्यकर्मीलगायतले अग्रमोर्चामा रहेको पुर्याएको सेवाको सरहना गरिन्।

भण्डारीले संघका तर्फबाट सम्मान गरेकी थिइन्।

सम्मानीत चिकित्सकमा डा.दिव्या श्री मल्ल, डा. रिता थापा, डा. सरस्वती पाध्ये, डा. सुधा शर्मा, डा.किरण रेग्मी, डा.राधा शाह, डा.आशा सिँह, डा. कुशुम थापा, डा.सगिंता भण्डारी, डा. दिव्या सि‌ह शाह, डा. चन्दा कार्की, डा. सानु माया दली, डा.अचला वैध, डा. तारा मानन्धर, डा.सुधा अग्रवाल छन्।

उनले नेपालको सामाजिक र सास्कृतिक परिवेशमा निकै कम महिलामात्रै व्यवस्थापन तहमा पुगेको र ती मध्ये पनि चिकित्सक जस्तो सम्मानीत पेशामा पुग्नु निकै खुसी र सफलताको विषय भएको बताइन्।
संविधानले स्वास्थ्यलाई मौलिक हकको रुपमा स्थापित गरेको भन्दै त्यसको सार्थक कार्यान्वयनका लागि सेवामा सबैको पहुँच विस्तार र सर्वसुलभ स्वास्थ्य सेवामा जोड दिइन्। ‘अग्रज र बरिष्ठ चिकित्सक महिलाले देखाएको मार्गलाई नयाँ पुस्ताले अपनाउँन सकेमा यो अभियान सफल हुन्छ’ भण्डारीले भनिन्।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले नेपाली चिकित्सक महिलाले नेपाल र विश्वका चिकित्सा शिक्षा, स्वास्थ्य सेवासहित, अनुसन्धानको क्षेत्रमा समेत उल्लेखनीय योगदान पुर्याएको भन्दै त्यसको उच्च प्रशंसा गरे।

सम्मानीत चिकित्सकका तर्फबाट संघकी पूर्व अध्यक्ष एवं पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्माले अहिलेको सन्दर्भमा आम नागरिकमा खोपको सुनिश्चिततासहित प्राप्त खोपको सही ढंगले वितरण आम चिकित्सकको प्रमुख चासोको विषय भएको बताइन् ।

डा. शर्माले गर्भवती महिलालाई सरकारले कोरोनाविरुद्धको खोपमा प्राथमिकता दिनुपर्नेसमेत बताइन्। सुरक्षित मातृत्व र मातृ स्वास्थ्यमा धनी र गरिब वर्गकाम महिलाको पहुँचमा ठूलो खाँडल रहेको भन्दै समान पहुँचका लागि राज्यले ध्यान दिनुपर्नेमा जोडदिइन्। त्यसैगरी चिकित्सक र स्वास्थ्यकर्मीविना स्वास्थ्य सेवाको कल्पना समेत गर्न नसकिने भन्दै डा. शर्माले चिकित्सा शिक्षामा सबैको पहुँच र चिकित्सक स्वास्थ्यकर्मीको भौतिक सुरक्षा चासोको विषय भएको बताइन्।

सम्मानका लागि गठित छनौट समितिका तर्फबाट पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीले यति धेरै चिकित्सक महिलाबाट पहिलो चरणमा १५ जना छान्नु निकै कठीन भएको बताए । उनले नेपाली चिकित्सा क्षेत्रकै अग्रणी महिलालाई सम्मानका लागि सिफारिस गर्न पाउँदा सिंगो नेपाली चिकित्सा जगतले गौरव महसुस गरिरहेको बताए।

संघले राष्ट्रिय एवं अन्तराष्ट्रिय चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाका क्षेत्रमा अतुलनिय योगदान पु¥याई रहनु भएका नेपाली महिला चिकित्सकहरुको सम्मानको परम्परा स्थापित गर्ने प्रयोजनार्थ परिकल्पना गरेको डा. कार्कीले जानकारी दिए।

संघले मूलतः भावी पुस्ताका लागि एउटा सार्वजनिक फोरमको स्थापना गरेर नयाँ पुस्ताका चिकित्सकहरुका लागि तालिम, सेमिनार तथा वर्कसप मार्फत सम्मानित चिकित्सकहरुको अनुभव, ज्ञान र मार्गनिर्देशलाई व्यवहारमा परिणत गर्ने उद्देश्य राखिएको छ।

संघले क्यालेन्डर इभेन्टका रुपमा स्थापित गरी प्रत्येक बर्ष एवम् प्रकारको कार्यक्रमको आयोजना गर्ने प्रतिबद्धता जनाएको छ। त्यसका लागि संघका केन्द्रीय सदस्य प्रा.डा. नन्दा कुमारी गुरुङको संयोजकत्व, डा. अनुपमा कार्की, डा. सन्ध्या चापागाईंलगायतका चिकित्सक सदस्य रहेको उपसमिति घोषणा गरेको छ।

 

नेपालका १५ बरिष्ठ चिकित्सक महिला, जसले यस्तो सेवावापत सम्मानीत भए



Leave a Reply

Your email address will not be published.