नशालु पदार्थको सेवनले शिशुमा निम्त्याउला है यस्ता खतरा…

हेल्थपोस्ट नेपाल

आमाको दूध नवजात शिशुलाई निकै महत्वपूर्ण हुन्छ। शिशुको स्वास्थ्य राम्रो हुनु-नहुनुमा आमाले खाने पौष्टिक खानेकुरा तथा आमाको आनीबानीसँग पनि सम्बन्धित हुन्छ।

आमाको सानो गलत बानीले पनि शिशुको शरीरिकदेखि मानसिक स्वास्थ्यमा गहिरो असर पर्छ।

हालसालै चिल्ड्रेन्स हस्पिटल कोलोराडो, अमेरिकाले सार्वजनिक गरेको अध्ययनमा गाँजा खाने महिलाहरुले बच्चालाई जन्म दिँदा उनको दूधमा साइकोएक्टिभ तत्व देखिने बताएको छ।

गर्भवती भएको समयमा र बच्चालाई दूध चुसाउने आमाहरुले गाँजा वा कुनै नशालु पदार्थहरु सेवन गर्दा दूधमा ६ हप्तासम्म साइकोएक्टिभ तत्व ‘त्रेटाहाइड्रोक्यानाविनोल (टिएचसी)’ रहन्छ।

उक्त तत्व दूधमा कति समयसम्म रहन्छ भन्ने महिलाले कति र कहिले गाँजा सेवन गरेकी हुन् भन्नेमा भर पर्ने अध्ययनले देखाएको छ।

अध्ययनका अनुसार, टिएचसीले शिशुको दिमागको विकासमा असर गर्दछ। बालबालिकालाई यसबाट जोगाउन गर्भवती तथा दूध खुवाइरहेकी महिलाले गाँजा नखानु नै उत्तम हुन्छ।

गाँजा खाने महिलाबाट जन्मेका बच्चाहरुमा भविष्यमा पनि लामो असर रहिरहन्छ। जस्तो, छिटो रिसाउने वा आवेगमा आउने, पढाईमा कमजोर हुने, एउटै कुरामा बढी ध्यान दिने, आँखाको समस्या आउन सक्छ।

त्यस्तै, २०१८ मा गरिएको एक अध्ययनअनुसार दूध खुवाइरहेकी महिलाले धुम्रपान गर्दा स्तनपानमा नकरात्मक असर पर्ने कुरा उल्लेख छ।

धुम्रपान गर्ने आमाहरुको दूध कम हुँदै जान्छ भने दूधमा भिटामिन र फ्याटको कमी हुन थाल्दछ।

इन्टरनेशनल ब्रेस्टफिडिङ जर्नलमा प्रकाशित, ‘इज म्यार्टनल सिगरेट अर वाटर पाइप युज एसोसिएटेड विथ स्टपिङ ब्रेस्टफिडिङ?’ मा प्रकाशित अध्ययनमा कतिपय महिलाहरुको दूध सुक्दै जाने पनि देखिएको छ।

धुम्रपानका कारण भ्रुण तथा शिशुहरुको तौल कम हुने तथा समयअगावै जन्मिने हुन्छन्। त्यस्तै, स्तनपान गराएका महिलाको दूधमा हुने एन्टिअक्सिडेन्ट–शरीरको सेललाई बचाउने तत्व जसलाई फ्रि र्याडिकल्सहरु (प्रिक्यान्सर, मुटुरोग, स्ट्रोक तथा बुढो हुँदै जाँदा लाग्ने रोगहरु) ले खराब गर्दै जान्छ, कम गर्दै लान्छ।

धुम्रपानले रोगसँग लड्ने क्षमता इम्युनलाई पनि परिवर्तन गरिदिन्छ। यसले सानो उमेरमा मात्र होइन युवा अवस्थामा पनि असर गर्छ। रक्तश्राव बढाउने, मुटुको समस्या, मोटोपन बढाउने खतरा हुन्छ।

नेपाल डेमोग्राफिक हेल्थ सर्भे (एनडिएचएस) २०१६ को तथ्यांकअनुसार धुम्रपान गर्ने महिलाहरु २० प्रतिशत रहेका छन्। जसमा एक प्रतिशत १५ देखि ४९ उमेर समूह र १९ प्रतिशत ४५ देखि माथिल्लो उमेर समूहका छन्।

स्टाटिस्टा रिसर्च डिपार्टमेन्टको तथ्याङ्क, २०१६ अनुसार ९.५ प्रतिशत महिलाले धुम्रपान गर्ने गरेका छन्।

सन् २०१० अनुसार यो संख्या १५.२ प्रतिशत रहेको थियो। हरेक वर्ष यो संख्या घट्दै गएको पछिल्लो तथ्याङ्कले देखाएको छ। सन् २०११ मा १४.१ प्रतिशत, २०१२ मा १३ प्रतिशत, २०१३ मा ११.९ प्रतिशत, २०१४ मा ११.२ प्रतिशत र २०१५ मा १०.३ प्रतिशत महिलाले धुम्रपान गर्ने गरेका तथ्याङ्कमा उल्लेख छ।

स्तनपान गराउन महिलाहरुले चुरोट खाँदा आमालाई जस्तो रोग लाग्छ बालबालिकालाई पनि त्यही लाग्ने जोखिम हुन्छ।

उनीहरुकाअघि धुम्रपान गर्दा स्वासप्रस्वासको रोग लाग्ने, शिशुको दिमाग राम्रोसँग विकास नहुने, बच्चा सानो जन्मिनेजस्ता समस्या देखा पर्नसक्ने बताउँछिन् स्त्रीरोग विशेषज्ञ डाक्टर गीता गुरुङ।

‘हाल महिलाहरु गर्भवती हुँदा मादक पदार्थ तथा धुम्रपान सेवन कम गर्ने गरेका छन्।

उनीहरु आफैं पनि सजग भएका छन्’, उनले भनिन्,‘खाँदै नखाने त छैनन्। तर, बच्चालाई असर गर्छ भन्ने थाहा पाउने गर्भवती तथा स्तनपान गराइरहेका आमाले छोड्ने गरेका छन्।’

एनडिएचएसको तथ्याङ्कअनुसार अशिक्षित महिलाहरुको तुलनामा शिक्षित महिलाले गर्भावस्था र स्तनपान गराउँदा धुम्रपान कम गर्ने देखिन्छ।

१३ प्रतिशत अशिक्षित र १ प्रतिशत शिक्षित महिलाले मात्र धुम्रपान गर्ने गरेको तथ्याङ्कले देखाएको छ। पोषणविद् अरुना उप्रेतीकाअनुसार स्तनपान तथा गर्भवतीले मात्र नभई परिवार योजना गरिरहेका महिलाहरुले तीन महिना अघिदेखि नै केही पनि सेवन गर्नु हुँदैन।

‘महिलाले जे खान्छ त्यही पौष्टिक तत्व नै दूध बनेर आउँछ। मादक पदार्थ सेवन गर्दा दूधसँगै बच्चाले पनि त्यो सेवन गर्दछ। त्यसैले हाम्रो परम्पराअनुसार बच्चा जन्मिएपछि आमालाई पोसिलो खानेकुरा, ज्वानो, दूध, मासुजस्ता खानेकुरा खुवाउने चलन छ। जुन एकदमै राम्रो हो।’, उनले भनिन्।

विशेषगरी चुरोट तथा मादक पदार्थ सेवन गर्ने महिला, चुलोमा बसेर खाना पकाउने, इँट्टा भट्टामा काम गर्ने महिलाको बच्चाहरुको स्वास्थ्यमा निकै समस्या देखिन्छ। धुवाँधुलोले शिशुको स्वास्थ्यमा नराम्रो असर गर्छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *