खोप केन्द्रमा ७७ वर्षीय राईको त्यो पाँच घण्टाको छटपटी…

हेल्थपोस्ट नेपाल

 

कोभिड-१९ दोस्रो लहर जिल्लामा फैलनुअघि नै ज्येष्ठ नागरिकहरु तथा अत्यावश्यक सेवाका व्यक्तिहरुलाई कोभिसिल्ड खोप दिन थालिएको थियो। दोस्रो डोज नआए पनि १३ हजारभन्दा बढीले कोभिसिल्ड खोप लगाए। त्यसपछि आउन थाल्यो भेरोसेल। अहिलेसम्म तीनपटक भेरोसेल खोप लगाउने अभियान चलिसक्यो। यस क्रममा वृद्धवृद्धा नागरिकदेखि कर्मचारी, जनप्रतिनिधिलगायतले यो खोप पाए। तर, कतिपयले खोप लगाउन वास्ता गरेनन्। कसैले अफवाहका पछि लागेर खोप लगाउन मानेनन्। कतिपयले खोप लगाउन पाउने कुराको जानकारी नै पाएनन्।

कोभिड-१९ को पहिलो लहरले पाँचथरको ग्रामीण जनजीवनमा ठूलो प्रभाव पारेन। गाउँमा निकै न्यून संक्रमित हुनाले जनजीवन सहज र नियमित गतिमै अगाडि बढ्यो। दोस्रो लहरको प्रभाव भने निकै गहिरो भयो। ३ हजार ३०० भन्दा बढी जिल्लावासी दोस्रो लहरबाट संक्रमित भइसक्दा गाउँबस्तीहरुको धारणा बदलिएको छ। गाउँभरि मान्छेहरु बिरामी पर्ने, सामान्य औषधिसमेत नपाइने र कोभिड-१९ संक्रमणको महामारीले आतंकको स्वरूप लिएपछि मानिसहरु थोरै भए पनि सचेत हुनतर्फ लागे।

दोस्रो लहरले ल्याएको आतंकले आम मानिसमा कोभिड-१९ विरुद्धको खोप लगाउनै पर्ने रहेछ भन्ने सन्देश दियो। त्यही कारण खोप केन्द्रहरुमा मानिसहरुको भीड लाग्न थाल्यो। गत शनिबारदेखि मंगलबारसम्म चलाइएको भेरोसेल खोप अभियानमा ठूलै भीडभाड देखियो तर, यही भीडभित्र बेथितिसँग मौन आन्दोलन गर्दै गर्दा भेटिए ७७ वर्षीय रामकुमार राई। धेरै टाढा त होइन, फिदिम नगरपालिका–१ दुमाका रामकुमारले ‘खोप लगाए कोरोना लागिहाले पनि धेरै गाह्रो पर्दैन’ भन्ने सुनेका रहेछन्।

सोमबार दिउँसो करिब २ बजे स्वास्थ्य कार्यालय पाँचथरमा खोप लगाउँदै गरेको स्थान छेउ अन्य ज्येष्ठ नागरिकसँग उनी भेटिए। बिहान ११ बजेतिर खोप केन्द्र आएर नागरिकताको प्रमाणपत्र बुझाएका राईले समयमै खोप पाइएला र लगाउँला भन्ने सोचेका रहेछन् तर पालो नआएपछि कतै पालो आइहाल्ला कि भनेर ८७ वर्षीय छिमेकी श्रीभक्त राईसँगै उनी कहिले खोप लगाएको ठाउँ पुगे त कहिले खोप कार्ड वितरण भइरहेको स्वास्थ्य कार्यालयको ढोकाअघि।

‘अघि ११–१२ बजेतिर आएको थिएँ। नागरिकता पनि बुझाएको छु। पानी पर्न आँटिसक्यो। हाम्रो पालो आउँदैन रे?’, यहाँ आउनुभएको कति समय भो भन्ने प्रश्नमाथि प्रतिप्रश्न गर्दै राईले भने, ‘अहिले आउँदै गरेको मान्छेहरु सुई हानेर गइसके। हाम्रो पालो किन आएन? बुझिदिनुस् न।’

पानी झर्नै आँटे जसरी आकाशमा बादल मडारिइरहेको थियो। स्वास्थ्य कार्यालय परिसरमा ठेलमठेल गर्दै मानिसहरु खोप लगाउने अवसर खोजिरहेका थिए तर, डाँडाको घामजस्तो उमेरका राईलाई पानीबाट जोगिएर कसरी सुरक्षितरूपमा घर पुग्नु भन्ने चिन्ता थियो। पानी परिरहने, घर जाने बाटोमा छेउभित्ता खसिरहने डरले राईको मन घरैमा पुगिसकेको थियो। उनी घरी घर हिँडिहाल्न खोजेर स्वास्थ्य कार्यालयको गेटमा पुग्थे त घरी भीडको पछिल्तिर आएर नाम आइहाल्ला कि भनेर सुन्थे तर, ११ बजेदेखि ३:४५ बजेसम्म बस्दासमेत उनको पालो आएन।

हुन त उनको पालो आओस् पनि कसरी? उनको नाम कागजमा टिपेर सुटुक्क भित्र पुर्‍याई खोप कार्डमा नाम लेखेर बाहिर ल्याइदिने कोही थिएन। उनले चिनेको न ठूलो मान्छे थियो, न ठूलाहरुले उनलाई नै चिन्थे। चाउरी परे पनि उज्यालो अनुहार भएको, कपाल ढाकेर ढाका टोपी लगाएको, मुख छोपेर मास्क लगाएको, दौरा सुरुवाल र इस्टकोट लगाएको, एक हातमा पाइप र बाँस जोडेर बनाएको लौरो टेकेको, अर्को हातले छाता च्यापेको, प्लाष्टिकको जुत्ता लगाएको खोपको एक असली हकदारलाई चिन्न न त्यहाँ जनप्रतिनिधि थिए, न कर्मचारी। गर्मी र भीडले निस्सासिएर ड्युटी गरिरहेका प्रहरीले त्यस्तो ख्याल गर्न सक्ने अवस्था थिएन। अरूलाई त कसरी आफन्त, घरपरिवार, पार्टी र गुटका मान्छेलाई खोप दिने भन्ने चिन्ता थियो।

सुरुमा बूढापाकाले खोप पाउने हो भन्ने सुनेका उनी सबै आशा मरेपछि ‘नागरिकता फिर्ता पाइयो भने घर लाग्छु’ भन्दै स्वास्थ्य कार्यालयको ढोकाअघि भुईंमा बसे। उनीसँगै थिए, श्रीभक्त राई, श्रीभक्तकी श्रीमती, फिदिम-४ का पदमबहादुर चौहानलगायत आठ-दशजना ज्येष्ठ नागरिक।

स्वास्थ्य कार्यालयभित्र खोपको प्रपञ्च गरिरहेका स्वास्थ्यकर्मीहरु, कर्मचारीहरु तथा खोपको प्रबन्धका लागि बसेकाहरुले खोप सकियो भन्ने सन्देश बाहिर पठाए। त्यही बेला ढोकामा ज्येष्ठ नागरिकहरु ‘सानो मुख’ गरेर बसिरहेका थिए। उनीहरु न अरू जस्तो उफ्रिन र जोरजबरजस्ती गर्न सक्थे, न त पहुँचवालासम्म पुग्न नै। ‘निरीह’ ज्येष्ठ नागरिकहरुसँग मौन आन्दोलन गर्नुको विकल्प थिएन।

खोप सकियो भन्ने सुनेपछि रामकुमार राईसहितका ज्येष्ठ नागरिकहरु नागरिकताको प्रमाणपत्र फिर्ता खोज्दै थिए। यत्तिकैमा फिदिमका युवाहरुको समूहले आपत्ति जनायो। ‘घण्टौंदेखि ढोकामा बसेका बा-आमालाई कसरी खोप दिँदैनौ हेरौँ त!’, बाहिर आवाज उठ्यो। पहुँचका आधारमा खोप वितरण गर्नेहरुका पसिना अब भने छुटे। रामकुमार, श्रीभक्त, पदमबहादुरसहितका ज्येष्ठ नागरिकहरुलाई खोप दिइयो। अब त ज्येष्ठ नागरिकहरुले न पालो पर्खनु पर्यो, न लाइन नै लाग्नु पर्यो।

‘बाबु अन्तिममै भए पनि सुई लगाउन पाएँ’, खोप लगाएपछि रामकुमारले भने, ‘पानी झर्न लाग्यो। हामी चाहीँ लाग्यौँ है।’

‘सरकारले ५५ वर्ष माथिका सबै नागरिकलाई भेरोसेलको खोप उपलब्ध गराउने निर्णय गरेअनुसार रामकुमार राईसहितका ज्येष्ठ नागरिकहरुले सहजै खोप पाउनुपर्ने हो तर, जिल्लाको सदरमुकाम भएको वडाकै एक वृद्धले पाँच घण्टा कुरेपछि अरूले आवाज उठाइदिँदा बल्लतल्ल खोप पाउँछन् भने दूरदराजका सामान्य नागरिकहरुले कसरी सहजै खोप पाउलान्? उनीहरुलाई कसले सही सन्देश पुर्याइदेला? अरू विशेष प्रकारका स्वास्थ्य सेवाहरुको पहुँचमा यस्ता ज्येष्ठ नागरिकहरु कहिले पुग्लान्?, खोप कुरिरहेकाहरुका प्रश्न थिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *