मिमी: भाडामा बेचिने एउटा ‘कोख’को कथा

हेल्थपोस्ट नेपाल
बलिउडका सुपरस्टार रनवीर सिंहका ‘डाइहार्ट फ्यान’ हुन्, २५ वर्षीया ‘मिमी’ (कृती सनोन)।‘हिरोइन’ बनेर मुम्बईमा राज गर्ने सपनामा उडिरहेकी राजस्थानकी चुलबुले मिमी त्यसका लागि होटेलहरूमा नाचेर पैसाको जोहो गरिरहेकी हुन्छिन्।राजस्थानको एउटा मध्यम परिवार। परम्परागत संगीत सिकाउने उनका पिता। त्यसैबाट घरगृहस्थी धानिरहेकी उनकी आमा। ‘हिरोइन’ सपनाले गिजोल्ने उनको चञ्चल मनबाहेक अरू त मिमी जीवन खुसी नै छ।

मिमीको सपना पिरोल्ने एउटामात्रै कुरा हो पैसा। एउटा मध्यमवर्गीय परिवारसँग एकैपटक दश-बीस लाखको जोहो कहाँ र!

मुम्बईबाट तारन्तार खबर आइरहन्छ, सुरुमा मोडलिङ गर्नुपर्छ। त्यसका लागि फोटो खिच्नुपर्छ जसका लागि पाँच लाख रुपैयाँ लाग्छ। अनि फेरि भिडियो खिच्नुपर्ने हुन्छ, त्यसका लागि फेरि १० लाख लाग्छ।

पैसा कमाउने धुनमा आफूलाई ‘बेसुर’ नचाईरहेकी मिमीको जीवनमा एकदिन एकजना ट्याक्सी ड्राइभर ठोक्किन आइपुग्छन्।

ती ड्राइभर हुन्, भानु (कलाकार पंकज त्रिपाठी)।

एक वर्षदेखि आफ्ना लागि बच्चा हुर्काइदिने आमाको कोख (सरोगेट मदर) खोजीरहेका एउटा अमेरिकी जोडीलाई ट्याक्सीमा घुमाउँदै गर्दा भानु पनि पैसामा लोभिन्छन् र एक जना ‘फिट एन्ड फाइन’ केटीको खोजीमा जुट्छन्। एउटा होटेलमा नाच्दै गरेकी मिमीलाई देखेपछि त्यो अमेरिकी जोडीले उनलाई नै रोज्छन्।

भानुले मिमीलाई धेरै पछ्याउँछन्। सबै कुरा बुझाएपछि प्रस्ताव आउँछ २० लाखको। कुरा नौ महिनाको थियो। काम त नौ महिनासम्म बच्चा कोखमा राखिदिने अनि जन्मेपछि ती अमेरिकी जोडीलाई बच्चा दिने। २० लाख रुपैयाँ पाउने।

कोखमा बच्चा राख्ने एउटा कुरा थियो, मुम्बई छिरेर हिरोइन बन्नका लागि नाचेर ‘पाई-पाई’ पैसा जोगाइरहेकी मिमीका लागि एकैपटक २० लाख!

उनी राजी हुन्छिन्। त्यसका लागि उनी घरबाहिर बस्नुपर्ने हुन्छ। घरमा बा-आमालाई ठूला ठूला सपना देखाएर सुटिङका लागि नौ महिना मुम्बई जानुपर्ने भो भनेर उनी आफ्नो एकजना मुस्लिम साथी समाको घरमा बस्छिन्।

दिन बित्न कतिबेर। हरेक दिन मिमीको पेट बढिरहेको हुन्छ। बच्चा हुर्किरहेको हुन्छ। त्यो जोडीले मिमीलाई बच्चाको ख्याल गर्नका लागि किस्ता किस्तामा पैसा दिइरहेको हुन्छ। त्यसैबाट मिमीले घरमा पनि पैसा पठाइरहेकी हुन्छिन्।

उनको हेरचाहका लागि ट्याक्सी ड्राइभर भानु पनि साथै हुन्छन्।

लक्ष्मण उटेकरले बनाएको यो फिल्म खासगरी एउटा ‘सरोगेट’ आमाले समाज र परिवारसँग गर्नुपरेको संघर्षलाई निकै मार्मिक ढंगले देखाइएको छ।

केही समयअघि भारत त्यसका लागि ट्रान्जिट नै थियो। तर कैयौ विदेशी पैसा नदिएर बच्चा नलिई भाग्ने गरेपछि त्यसले जटिल समस्या निम्त्याउन थाल्यो।

अघिल्लो साता नेटफ्लिक्सले रिलिज गरेको यो फिल्मले अहिले विश्वभर वाहवाही बटुलिरहेको छ।

ती अमेरिकी जोडीका अनुसार उनीहरुलाई पहिले नै उनका साथीले भारतमा सरोगेसी गर्न पाउने तर अधिकांश महिलाहरु स्वस्थ नभएका कारण बच्चा खेर जाने गरेको बताएका हुन्छन्।

त्यसैले पनि फिल्मको शुरुवातमा देखाए वमोजिम साडी लगाएका झुत्रेझात्रे, कालो वर्ण र पातला महिलाहरु –जुन भारतको अधिकांश गृहिणीहरुलाई प्रतिनिधित्व जनाउँछ– त्यस्ता महिलाहरु, अमेरिकी जोडीको नजरमा कुपोषण लागेका तथा स्वस्थ नरहेको बताइन्छ।

ती जोडीको होटल बसाईको क्रममा रमाइलोका लागि बोलाइएका टोलीमा मिमी–अग्लो, गोरो, स्वास्थ पात्रमाथि उनीहरुको आँखा पर्छ। उनीजस्तै युवतीको खोजीमा रहेको भन्दै उनीहरुका ड्राइभर भानु (पंकज त्रिपाठी)लाई आग्रह गर्दछन्।

सरोगेट आमा खोजिदिए वापत पाँच लाख पाउने लोभमा उनी मिमीको पछि लाग्छन्। मिमीको हिरोइन बन्ने चाहना भएको थाहा पाएपछि उनले पैसाको लोभ देखाउँछन्। सोही पैसाले आफ्नो करिअर पूरा हुने सम्भव देखेपछि मिमी राजी हुन्छिन्।

मिमी राजी भएपछि चिकित्सककोमा गएर उनको कोखमा आइभिएफको माध्यमबाट भ्रुण राखिन्छ।

इन्भिट्रो फर्टिलाइजेसन (आइभिएफ) मा महिलामा रहेको अण्डा र पुरुषको शुक्राणुलाई ल्याबमा राखेर बाहिरै बच्चामा विकास गरिन्छ र त्यसलाई पछि महिलाको कोखमा राखिन्छ।

मिमी गर्भवति बन्छिन्। केही महिनापछि नियमित जाँच गराउन जाँदा बच्चामा डाउनसिन्ड्रोम भएको पत्ता लाग्दछ। बच्चा सुस्त मनस्थितिको भएको थाहा पाउनेबित्तिकै ती जोडी त्यहाँबाट फरार हुन्छ।

फरार भएको थाहा पाएपछि चिकित्सकले पनि मिमीलाई गर्भपतन गर्न सल्लाह दिन्छिन्, तर यसो गर्न आफ्नो मन नमानेपछि उनले बच्चालाई जन्म दिन्छिन्।

फिल्ममा पात्रहरुले गरेको अभिनय तथा विषयप्रतिको संवेदनशीलतालाई गहन रुपमा प्रस्तुत गरिएको नदेखिए पनि सरोगेसी र यसको समस्याबारे उठान गर्नु नै भारतको स्वास्थ्य समस्यामा टिप्पणी गर्नु हो।

हजारौं महिलाहरु आर्थिक मारले गाँजिएका कारण सट्टा आमा बन्न तयार हुने यथार्थलाई तोडेर सामान्यकरण गर्दै करिअर पूरा गर्न आमा बनेको फिल्ममा प्रस्तुत गरिएको छ।

मिमीले करिअर छोडेर अरुको सन्तानलाई स्वीकार्नु प्रशंसनीय छ, तर दर्शकलाई यो अनुभूति भने कृतिको अभिनयबाट महसुस गराउन सकेन।

सन् २०१५ अघिसम्म भारत विश्वभरिका पर्यटकहरुको सरोगेसी सेन्टर बनेको थियो। हजारौं महिलाहरु वाध्यताका कारण विदेशी नागरिकको बच्चाको सरोगेट आमा बन्दै आएका छन्।

तर बच्चाहरुमा अपाङगता भएका तथा विभिन्न समस्या देखिएपछि अभिभावकत्व लिनुको सट्टा नजन्मिदैमा भाग्ने क्रियाकलाप शुरु हुन थालेपछि कडा कानुन ल्याइयो।

२०१५ मा विदेशी आमाबुबाहरुलाई भारतमा सरोगेसी गर्न रोक लगाइयो भने व्यावसायिक सरोगेसीमा रोक लगाइएको छ।

भारतीय नागरिकहरुका लागि भने विवाह भएको पाँच वर्ष भएपछि मात्र सरोगेट गर्न अनुमति दिइएको छ।

नेपाल सन्दर्भ

यो फिल्मी कथा भारतमा मात्र नभई नेपालमा पनि मिल्दोजुल्दो रहेको छ। भारतले पर्यटकहरुकालागि सरोगेसी रोक लगाएपछि नेपालमा पनि यो व्यवसाय फस्टाउन थालेको छ।

खुला सिमाना भएका कारण भारत तथा बंगलादेशबाट विदेशी महिला तथा विदेशी नागरिकहरु आई नेपालमा सरोगेसी गर्ने लहर नै चलेकाे थियो।

२०७१ असोज २ मा मन्त्रिपरिषद्ले विदेशी नागरिकलाई सरोगेसी सेवा प्रदान गर्नेसम्बन्धी कार्यविधि बनाउने निर्णय गरेर त्यसअघि चल्दै आएको यो व्यवसायलाई वैधता दिएको थियो ।

त्यसपछि गुपचुप व्यवसाय गरिरहेकाहरू खुला रूपमा देखापरे भने धेरै नयाँ सरोगेसी सेवाप्रदायक संस्थाहरु खुल्न थाले ।

तर सर्वोच्च अदालतले ८ भदौ ०७१ मा उक्त कार्यविधि कार्यान्वयनमा रोक लगायो।

सर्वोच्चको अन्तरिम आदेशपछि स्वास्थ्य मन्त्रालयले आमाको कोख भाडामा लिई बच्चा जन्माउने सेवालाई गैरकानुनी भन्दै सञ्चालन गर्न गराउन नपाइने सूचना जारी गर्‍यो।

योसंगै मन्त्रालयले भाडाका आमाहरूलाई चिकित्सकीय सेवा प्रदान गरिरहेका अस्पताललाई पनि पत्राचार गरेर सरोगेसी नगर्न नगराउन निर्देशन दिएको थियो।

तर प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश गोबिन्द कुमार उपाध्यायको संयुक्त इजलासले व्यावसायिक सरोगेसी सेवालाई नियन्त्रण गर्न र सन्तान सुःख प्राप्त गर्न असमर्थ तथा असक्षम भएका स्वदेशी निःसन्तान दम्पतिको हकमा सामाजिक चाहनाअनुरूप परोपकारी सट्टा आमा (अल्ट्रिस्टिक सरोगेसी) सम्बन्धी सेवा कानून बनाएर सञ्चालन तथा नियमन गर्न सरोगेसीसम्बन्धी कानूनको निर्माण गर्न आदेश दिइएको थियो।

तर पाँच वर्ष बितिसक्दा पनि सर्वाेच्च अदालतको आदेशलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म पनि पालना गरेको गरेको छैन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता  तथा बाल राेग विशेषज्ञ डा. कृष्ण पौडेलका अनुसार सरोगेसीसम्बन्धी कुनै पनि कानून बनिसकेको छैन।

‘हालसम्म सट्टाआमासम्बन्धी कुनै पनि कानून निर्माण भएको छैन। न त यसको खाका नै तयार परिएको छ,’ उनले भने।

सरोगेसी गरी सन्तान जन्माउन पाउने अधिकार मौलिक अधिकार नभएको भनिए पनि निसन्तान आमाबुबाका लागि यसको विकल्प हुनुपर्ने चिकित्सकहरु बताउछन्।

नेपालमा अझै पनि गैरकानुनी रुपमा सरोगेसी भइरहेको छ, तर कानून बन्न नसक्दा यसको नियमन गर्न नसकिएको बताउँछिन् वरिष्ठ आयुर्वेद स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. सरिता श्रेष्ठ।

नेपालमा विलाशिलताका लागि नभई आवश्यकता अनुरुप २० प्रतिशत मानिसहरुले सरोगेसी गरिरहेको अनुमान गरिएको श्रेष्ठले बताइन्।
त्यस्तै, २५ प्रतिशत महिलाहरू सरोगेट आमा भएको अनुमान गरिएको छ।

भारतमा जस्तै व्यवसायिक सरोगेसी नेपालमा मौलाइरहे पनि नेपाली महिलाहरु यसमा कमै मात्र संलग्नता हुने गरेको उनले बताइन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *