डा. जागेश्वर गौतम भन्छन् – जब सम्म सरकारबाट सरुवा पत्र आउँदैन, यहीँ काम गर्छु
कोभिड –१९ युनिफाइड केन्द्रीय अस्पतालका (वीर) प्रमुख कार्यकारी अधिकृत डा. जागेश्वर गौतमलाई सरुवा गरेको भनिए पनि आज अस्पतालमा हाजिर भएर काम गरिहेका छन्।
सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले निर्णय गर्दै डा. गौतमलाई युनिफाइड अस्पतालबाट थापाथलीस्थित प्रसुती गृहमा सरुवा गरेको थिए।
तर, कुनै अहिलेसम्म सरूवाको पत्र नपाएको नआएका कारण युनिफाइड अस्पतालमा काम गरिरहेको डा. गौतमले बताए।
हाल स्वास्थ्य मन्त्रालयको पुर्ण जिम्मेवारी प्रधानमन्त्री शेर बहादुर देउवाले समालिरहेका छन्।
मन्त्री श्रेष्ठले परामर्श बिनाको सरूवा गरेको भन्दै देउवाले सो निर्णय कार्योवन्यन नगर्न निर्देशन दिइसकेको मन्त्रालयले स्रोतले जनाएको छ।
‘प्रधानमन्त्रीको निर्देशनले उहाँको सरूवा पत्र होल्ड भएको छ। मन्त्रालयले यस विषयमा छलफल गरिहेको छ,’ एक उच्च अधिकारीले भने।’
श्रेष्ठले युनिफाइड केन्द्रीय अस्पतालमा डा गौतमको ठाँउमा डा. रुद्र मरासिनी, मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखामा डा विवेकुमार लाल, सार्क क्षयरोग केन्द्रमा डा. रिता भण्डारी जोशीलाई जिम्मेवारी तोक्ने निर्णय गरेका थिए । डा. गौतमलाई भने प्रसुति गृह अस्पतालमा पठाइएको थियो।
डा गौतमले पनि सरुवा सम्वन्धी पत्र आफूले नपाएको भन्दै अस्पतालको काम गरेको बताए।
‘जिम्मेवारी हेरफेर भएको कुरा सञ्चारमाध्यमबाट सुनेको हुँ,’ डा. गौतमले हेल्थपोस्टसँग भने, ‘बाहिर–बाहिर गरिहेको बारेमा मलाई थाहा हुँदैन। पत्र हिजो पनि आएको थिएन, आज पनि आएको छैन। अब केही दिनमा थाहा होला।’
‘अहिले म आफ्नै कार्यकक्षमा बसेर काम गरिहेको छु। जब सम्म पत्र आउँदैन यहीँ नै बसेर काम गर्छु,’ उनले भने।
गत जेठ १० गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले डा.गौतमलाई अध्यादेशमार्फत कोभिड युनिफाइड केन्द्रीय अस्पतालको नेतृत्व दिएको थियो।
तर, वर्तमान सरकारले उक्त अध्यादेशलाई निरन्तरता दिन्छ वा कोभिड अस्पतालाई न्याम्सकै स्वमित्वमा ल्याउँछ भन्ने बिषय अलमलमा नै छ।